८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्यभन्दा बढी राजस्व संकलन

रसुवा - रसुवागढी भन्सार कार्यालयले चार महिनादेखि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना लक्ष्य भेटाउन नसकेको कार्यालयले असोजयता लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो। बाढी र पहिरोको कारण साउन र भदौ महिनामा सामग्री नआएका कारण राजस्व संकलन प्रभावित भएको थियो। सरकारले नीति परिवर्तन गरेको, सामग्रीको मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माणका सामग्रीको आयात बढेकाले राजस्व पनि बढेको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।

‘चिनियाँ सहयोगमा विकास निर्माणका लागि आवश्यक सामग्री समेत यही नाका हुँदै भित्रिएको छ,’ उनले भने, ‘यसले पनि राजस्व संकलनमा टेवा दिएको छ।’ जलविद्युत् आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, ललितपुरमा रंगशाला निर्माण लगायत सामग्री आएको छ। सामग्री आयात बढेका कारण लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सकिएको उनले बताए। ‘वार्षिक लक्ष्यको ८०.१२ प्रतिशत राजस्व उठाइसकेका छौं,’ उनले भने, ‘यसले लक्ष्यको तुलनामा बढी राजस्व उठ्ने आसा छ।’

कार्यालयले चालु आर्थिक वर्षमा सात अर्ब ६२ लाख ६४ हजार उठाउने लक्ष्य राखेकामा पाँच अर्ब ६१ करोड ३६ लाख ३८ हजार राजस्व उठिसकेको छ। कार्यालयका अनुसार साउन महिनामा लक्ष्यको ५२ प्रतिशत, भदौमा ३१.६१ प्रतिशत, असोजमा दुई सय ८७.२२ प्रतिशत, कात्तिकमा ४४ प्रतिशत, मंसिरमा ६४ प्रतिशत र पुसमा ४४.१८ प्रतिशत बढी राजस्व संकलन भएको थियो। साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकामा २६ करोड चार लाख ७७ हजार, भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकामा २९ करोड १५ लाख ७९ हजार, असोजमा ६० करोड नौ लाख ३८ हजार लक्ष्य राखेकामा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार र कात्तिक महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य राखेकामा ८७ करोड दुई लाख ८६ हजार, मंसिरमा ६० करोड ४५ लाख ४५ हजार लक्ष्यमा ९९ करोड २७ लाख १० हजार र पुस महिनामा ६० करोड ४५ लाख ४५ हजार लक्ष्य रहेकामा ८७ करोड १६ लाख नौ हजार राजस्व उठेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायत वस्तु निकासी भइरहेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ४ माघ २०७५ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App