१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्राउन्डेड जहाज माघभित्र बनिसक्ने

काठमाडौं - राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका लागि सानाठूला गरेर नौवटा जहाज छन्। त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा। तर, यी १४ मध्ये ६ वटा जहाज भने ग्राउन्डेड छन्। अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिटे ‘बि७५७–२००’ सिरिजको बोइङ ग्राउन्डेड छ। यो बाहेक अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी भने सञ्चालनमा छन्।

अन्तर्राष्ट्रिय उडानको बोइङ र आन्तरिक उडानका सानाठूला पाँच थान जहाज भने लामो समयदेखि ग्राउन्डेड छन्। निगमका अनुसार गाउन्डेड बोइङ केही दिनमै मर्मत सकिने भए पनि अन्य जहाजको मर्मत गर्न अझै डेढ–दुई महिना लाग्न सक्छ। ‘ग्राउन्डेड ६ वटै जहाज मर्मतको काम भइरहेको छ,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालाले भने, ‘अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ भने मर्मतको अन्तिम चरणमा छन्।’ उनका अनुसार बोइङ मर्मतका लागि मलेसिया लगिएको छ। डेढ महिनाअघि लगिएको बोइङ मर्मत भएर सोमबार आउँदैछ।

आन्तरिक उडानका लागि निगमसँग दुर्गम क्षेत्रमा उडान गर्ने १९ सिटे दुइथान ‘डिएचसी ६–ट्विनअटर’ छन्। १७ सिटे चारथान ‘वाई१२–ई’ जहाज छन्। तर, यी सातमध्ये चार जहाज भने विमानस्थलमै ग्राउन्डेड छन्। त्यसैगरी सुगम क्षेत्रको आन्तरिक उडान गर्न ५८ सिटे दुईथान ‘एमए–६०’ छन्। तर, यी जहाजमध्ये पनि एउटा लामो सयमदेखि ग्राउन्डेड छ।

त्यसैगरी आन्तरिक उडानका पनि पाँचवटै जहाज मर्मतको क्रममा छन्। निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार सबै जहाज माघभित्र मर्मत गरिसक्नेगरी काम भएको छ। ‘आन्तरिक उडानका जहाज ग्राउन्डेड हुँदा धेरै ठाउँमा उडान गर्न सकेका छैनौं,’ उनले भने, ‘माघभित्र मर्मत सक्नेगरी सबै जहाजको धमधम मर्मत कार्य भइरहेको छ।’ उनका अनुसार कतिपय सामान बाहिरबाट मगाउनुपर्ने हुन्छ। कतिपय जहाज मर्मतका लागि विदेशबाट इन्जिनियर मगाउनुपर्ने हुन्छ। जसले गर्दा जहाज मर्मतमा समय लागेको हो।

‘म आएलगत्तै ग्राउन्डेड जहाजको मर्मत कार्य अगाडि बढाएको हुँ,’ असोजको अन्तिम साता निगमको कार्यकारी अध्यक्ष बनेर आएका खरेलले भने, ‘तर, काम गर्दागर्दै पनि प्राविधिक हिसाबले जहाज मर्मतमा समय लाग्यो।’ उनका अनुसार माघ महिनाभित्र सबै जहाजको मर्मत कार्य भइसक्नेछ। माघभित्रै सबै जहाज अप्रेसनमा ल्याउन नसके पनि उड्नका लागि तयारी अवस्थामा राखिनेछ। जहाजको मर्मतसम्भार सम्पन्न गरिएसँगै जहाज सञ्चालनको व्यवस्था मिलाइनेछ। ‘हामी सबै जहाजलाई अप्रेसनमा ल्याउने लक्ष्यमा छौं,’ उनले भने, ‘त्यसका लागि पनि निगमले तयारी थालिसकेको छ।’

निगमका सबै जहाज अप्रेसनमा आएपछि भने दुर्गम र सुगम दुवै क्षेत्रमा उडान थपिनेछ। अहिले उडान नभएका ठाउँमा पनि निगमका जहाज उडाइने खरेलको भनाइ छ। खरेल आएपछि निगमको ‘वाई१२–ई’ जहाजबाट दुर्गमका हुम्ला, जुम्ला लगायत विमानस्थलमा परीक्षण उडान पनि गरिएको थियो। प्राप्त जहाज नहुँदा ती विमानस्थलमा नियमित उडान हुन सकेको छैन। जहाज मर्मतपछि भने साना जहाजबाट सम्भव भएसम्म सबै दुर्गमका विमानस्थलमा नियमित उडान गर्ने निगमको योजना रहेको खरेलले बताए। ‘हामी दुर्गममा पनि सेवा दिन आतुर छौं,’ उनले भने, ‘जहाज मर्मतपछि दुर्गमका सबै क्षेत्रमा जहाज उडाउने प्रयास गर्नेछौं।’ उनका अनुसार निगमले भइरहेका जहाजबाट मात्रै नभएर नयाँ जहाज थपेर पनि सेवा दिने लक्ष्य बनाएको छ। दुर्गममा उडान गर्न निगमले नयाँ जहाज थप्ने समेत योजना गरिरहेको खरेलको भनाइ छ।

प्रकाशित: ८ पुस २०७५ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App