३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनएमबिको सहुलियत कर्जा सुरु

काठमाडौं – एनएमबि बैंकले नेपाल सरकारद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विपन्न वर्गका जनतालाई लक्ष्य गरी एनएमबि सहुलियतपूर्ण कर्जा सुरु गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। 

यो कर्जा लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायमा लक्षित रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत सात प्रकारका कर्जा बिनाधितो प्रदान गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ। ती कर्जा सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ। यसले विपन्न वर्गका जनताको उद्यमशीलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाखसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाँच लाखसम्म पाइने बैंकले जनाएको छ। त्यसैगरी, भूकम्प पीडितको निजी आवास निर्माण कर्जा तीन लाखसम्म र महिला उद्यमशीलता कर्जा १५ लाखसम्म पाइने बैंकले जनाएको छ। 

यी कर्जाका अतिरिक्त कृषि पेसामा संलग्न महिलालाई लक्ष्य गरी बैंकले बैंकिङ क्षेत्रमै नौलो अग्रणी महिला कृषि कर्जा पनि सुरु गरेको जनाएको छ। यस अन्तर्गत उत्पादन लागतमा आधारित रही १५ लाखसम्मको कर्जा महिला कृषकले पाउनेछन्। 

यसैगरी बैंकले निक्षेपकर्तालाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले एनएमबि सहारा बचत खाताअन्तर्गत विभिन्न १८ वटा गम्भीर रोग, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाखसम्मकोे बिमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले यस निक्षेप योजनामा सात प्रतिशत ब्याज उपलब्ध गराउनेछ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘एनएमबि बैंकले दिगो आर्थिक वृद्धि तथा मूल्य मान्यतामा आधारित बैंकिङ सेवा प्रदान गर्दै आएकोले, हरेक सेवा सुबिधा  उक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास छ। यसले अन्य बैंकभन्दा एनएमबि बैंकलाई फरक रुपमा प्रस्तुत गरेको छ।’ यी कर्जाले ग्राहकको दीर्घकालीन आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे। 

 

प्रकाशित: ३ पुस २०७५ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App