१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोलकातामा रुचाइयो नेपाली सुन्तला

पाँचथर - भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारत, भुटान, म्यानमारका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा गयो। भारतका विभिन्न ठाँउबाट ल्याइएका सुन्तला नेपालका भन्दा तुलनात्मक रुपमा सस्ता पनि थिए। तर, सुन्तला किन्नेको घुइँचो नेपाली स्टलमै भयो।

रसिला, मिठा नेपाली सुन्तला भएको पारखीहरुको टिप्पणी थियो। नेपालका विभिन्न ठाउँबाट लगिएका सुन्तला फर्काएर ल्यानुपरेन। नेपाली सुन्तलाले प्रशंसा पाएपछि सहभागी किसान तथा अन्य सरोकारवाला खुसी हुनु स्वाभाविक हो। तर यो खुसी कसरी टिकाइराख्ने भन्ने चिन्तामा किसान छन्। विदेशमा रुचाइए पनि नेपालमा सुन्तलाका बगान मासिन थालेका छन्। भएका बगानमा रोग लाग्दा उत्पादनमा गिरावट आउँदै छ भने यसको उन्नत तरिकाले विस्तार हुन सकेको छैन। ‘यहाँ त प्रशंसा बटुलियो तर सुन्तला मासिने क्रम छ। रोगले सताउँदै छ। यस्तै हो भने आगामी दिनमा सुन्तालाको पहिचान नै गुम्ने अवस्था आउन सक्छ’, सुन्तलाका लागि चर्चित इलामको सलकपुरबाट कोलकातामा स्टल राख्न पुगेका किसान किरण तामाङले भने। यस्तै किसिमको चिन्ता नेपालबाट पुगेका अन्य सुन्तला व्यवसायीको पनि छ।

तामाङले भनेझै १ नम्बर प्रदेशमा विगतमा राम्रै सुन्तला हुने गरेकोमा अहिले घट्दै गएको छ। कतिपय ठाउँमा बगाननै मासिएको छ। सुन्तला खेती हुने प्रदेश १ का अधिकाश पहाडी जिल्लामा अहिले सुन्तला उत्पादन घटेको छ। भारतमा नेपाली सुन्तला रुचाइए पनि नेपाली बजारमा भारतकै सुन्तला देख्न पाइन्छ। सुन्तला खेती हुने पहाडी जिल्लामा पनि भारतीय सुन्तला आइपुग्छन्। नेपाली सिजन सकिएलगत्तै बजारमा भारतीय सुन्तलामात्र भेटिने अवस्था छ। प्रदेश १ मा कति क्षेत्रमा सुन्तला खेतीको तथ्यांक कृषि विकास निर्देशनालय १ नम्बर प्रदेशसँग छैन। नत जिल्लामा रहेका कृषि ज्ञान केन्द्रसँग छ।

तथ्यांक संकलन गर्ने काम थालिएको निर्देशक वेनु प्रसाईले जानकारी दिए। ‘नेपाली बजारमा भारतीय सुन्तला राम्रै गरी बिक्छन्। हाम्रो उत्पादन कम छ। भण्डार कक्ष पनि पर्याप्त छैन। रोगको समस्या छ। जलवायु परिवर्तनको असरले पनि उत्पादनमा गिरावट आएको हुन सक्छ’, उनले नागरिकसँग भने, ‘भएकै बगान व्यवस्थापन गर्न सकियो भने पनि उत्पादनमा केही सुधार हुन सक्छ।’

पाँचथरको फिदिम नगरपालिका–२ स्थित सम्दिन सुन्तलाका लागि चर्चित ठाँउ थियो। अहिले यहाँ सुन्ताला देख्न पाइँदैन। यहाँका किसान भीम ढुंगानाले एक दशकअघिसम्म डेढ लाख रुपैयाँ लिएर सुन्तलाको बगानै बेच्थे। अहिले उनको बगानै सखाप भएको छ। यस्तै समस्या सुन्तला खेती हुने प्रदेश १ का पाँचथर, इलाम, ताप्लेजुङ, तेह्थुम, धनकुटा, भोजपुरलगायतका जिल्लामा देखिएको छ।

प्रदेश १ अन्तगर्तको कृषि ज्ञान केन्द्रले काम सुरु गरेको छैन। स्थानीय तहमा रहेको कृषि शाखा पनि नाममात्रैको छ। बोट मर्ने, किरा लाग्ने, फल कममात्र फल्ने समस्या देखिएको ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का किसान नरेन्द्र बस्नेत बताउँछन्। औलतिर हुने सुन्तलाको उत्पादन अहिले लेकतिर हुन थालेको किसानको भनाइ छ।

भोजपुरका अगुवा किसान विष्णुप्रसाद अधिकारीका अनुसार यो वर्ष सुन्तला उत्पादनमा भारी कमी आयो। बोटमा एकदम पातलो र सानो आकारका सुन्तलामात्र फलेका छन्। ‘पहेंलो पानी परेकाले यस्तो भएको हुनसक्ने अनुमान छ। सरकारले हेरेको छैन’, अधिकारीले भने, ‘सुन्तला पकेट क्षेत्रमा नै यस प्रकारको समस्या देखिएको छ।’ प्रधानमन्त्री कृषि कार्यक्रमार्फत पनि सुन्तला किसानलाई सहयोग नभएको उनको गुनासो छ। रोग नियन्त्रण, नयाँ खेती विस्तार, अनुदानलगायत काम नहुँदा किसान निरास बन्दै गएको अधिकारीको भनाइ छ।

विगतमा सुन्तला हुने ठाउँमा उत्पानदन हुन छाडेको छ। व्यावसायिक रुपमा सुन्तला खेती विस्तार हुन सकेको छैन। सुन्तला किसानलाई विभिन्न किसिमका समस्याले च्याप्न थालेको पाँचथरको कुरुम्बाका किसान ईन्द्रमाया लावतीले बताइन्। अहिलेसम्म समस्यासँग जुधे पनि भोलिका दिनमा के हुने हो भन्ने समस्या रहेको उनले सुनाइन्। कुरुम्बाका चेतराज लावतीले केही वर्ष अघिसम्म वर्षेनि पाँच लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी लिन्थे। तर अहिले बोट नै मासिएको उनले बताए।                                                                     

प्रकाशित: १ पुस २०७५ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App