२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

उत्पादनमा अर्को कीर्तिमान

उदयपुर सिमेन्ट उद्योगको प्लान्ट। तस्बिर : महेश्वर

जलजले (उदयपुर)- पछिल्लो दुई वर्षयता लगातार सुधार हुँदै आएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)ले उत्पादनमा अर्को कीर्तिमान स्थापित गरेको छ। दक्षिण एसियाकै गुणस्तरीय प्रमाणित गैंडा सिमेन्ट उत्पादक उसिउलिले दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्दै आएकामा स्थापनाको २६ वर्षपछि २४ घण्टामा आठ सय ३५ मेट्रिक टन उत्पादन गरेको छ। 

उद्योगले यसअघि सात सय ७० मेट्रिक टन अर्थात क्षमताको ९६ प्रतिशत उत्पादन गरेको कीर्तिमान २४ दिनपछि तोडेर एक सय पाँच प्रतिशत उत्पादन गरेको उद्योगका उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले बताए। यसअघि मंसिर २ गते ९६.२६ प्रतिशत अर्थात सात सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको थियो। त्यसबेलै पूर्ण क्षमताको उत्पादन गर्न सक्ने भए पनि दुई घण्टा विद्युत् अवरोध भएकाले कम उत्पादन भएको कर्णले बताए। 

कर्णका अनुसार दैनिक आठ सय मेट्रिक टन क्षमताको उद्योगले गत मंगलबार आठ सय ३५ मेट्रिक टन र बुधबार आठ सय पाँच मेट्रिक टन उत्पादन गरेको छ। स्तरोन्नति मर्मतका क्रममा विद्युत् अवरोध नभए क्षमताभन्दा एक सय १५ प्रतिशतसम्म बढी सिमेन्ट उत्पादन गर्नसक्ने मर्मत गर्ने प्राविधिकहरुले आँकलन गरेका थिए। स्थापनाको करिब साढे दुई दशकपछि पूर्ण क्षमताभन्दा बढी सिमेन्ट उत्पादन गरेर मुलुकभरका अन्य सरकारी उद्योगको तुलनामा उसिउलिले नयाँ इतिहास रचेकामा मजदुरदेखि व्यवस्थापन पक्षसम्म खुसी भएका छन्। 

एकै दिन आठ सय ३५ मेट्रिक टन, विद्युत् सुचारु भइरहे नौ सय टन पु-याउन सकिने

दुई महिनाअघि स्तरोन्नतिसहितको पूर्ण मर्मतपछि उद्योगले उत्पादनमा गति लिएको थियो। गत असोजमा सम्पूर्ण मेसिनरी पार्टहरुको स्तरोन्नतिसहितको मर्मत गरिएपछि उद्योग यति सक्षम भएको हो। दैनिक तीन–चार पटक विद्युत् आपूर्ति बन्द हुने गर्दा २४ घण्टै मेसिन उपकरण चल्न नसकेर पनि उत्पादन कम हुने गरेको पाइएको छ। 

उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले अढाई दककको इतिहासमा उद्योगले नयाँ कीर्तिमान कायम राख्न सफल भएकामा खुसी व्यक्त गरे। २६ वर्षअघिका उपकरणहरुको पूर्ण मर्मत गर्दै स्तरोन्नति गरेको तथा पछिल्लो समय विद्युत् आपूर्ति निरन्तर गर्दा उद्योगले इतिहास कायम गर्न सफल भएको नउको बुझाइ छ। ‘एक त विद्युत् निरन्तर सुचारु नहुने अर्कोतिर सडिसकेका मेसिन उपकरण थिए,’ पौडेलले भने, ‘अहिले सबै उपकरण पूर्ण मर्मत गरिएको छ, विद्युत् पनि एकाध घण्टा मात्र अवरोध हुन्छ। २४ घण्टै विद्युत् सुचारु हुँदा क्षमताभन्दा एक सय पाँच प्रतिशत बढी उत्पादन भयो।’ 

यसअघि पनि क्षमता अनुसार उत्पादन गर्ने प्रयास धेरै पटक गरिए पनि बिग्रेका उपकरण र विद्युत् अवरोधले सम्भव नभएको जिएम पौडेलले बताए। ‘अहिले विद्युत् अवरोध नभएकाले यति उत्पादन दिएको हो, यस्तै सुचारु निरन्तर रहे नौ सय मेट्रिक टनसम्म उत्पादन गर्न सक्छौं,’ उनले दाबी गरे, ‘मुख्य अवरोध भनेको पुराना उपकरण र लोडसेडिङ हो, स्तरोन्नति मर्मतपछि पुराना उपकरण वर्ष दिनसम्मका लागि मर्मत भएका छन्, अब विद्युत् सुचारु मात्र भए दैनिक नौ सय मेट्रिक टन उत्पादन सहजै हुन्छ।’

जापान सरकारको सहयोगमा स्थापित उद्योगले गत २०४९ मंसिरदेखि व्यावसायिक उत्पादन थालेको थियो। व्यावसायिक उत्पादन सुरु गरिएसँगै नेपाल सरकारलाई हस्तान्तरण गरेको उद्योगमा राजनीतिकरण र मजदुर कर्मचारीबीचको आपसी विवादले २० वर्षसम्म उद्योग धरासायी बन्न पुगेको थियो। चार वर्षअघि महाप्रबन्धक नियुक्ति पाएका पौडेलले उद्योगलाई सुधार्दै अहिले नयाँ रेडर्क कायम गराउन सफल भएका हुन्। 
‘पहिले उद्योग धरासायी भइसकेको थियो, पौडेल सर जिएम भएर आएपछि तंग्रिन थाल्यो,’ उत्पादन महाशाखा प्रमुख कर्णले भने, ‘यति ठूलो परिमाणमा सिमेन्ट उत्पादन हुन्छ भन्ने हामी कसैले कल्पना गरेका थिएनौं तर, गरेपछि हुने रहेछ।’ विद्युत् नियमित हुने हो भने उत्पादन क्षमता अझै बढ्ने उनले बताए। गत असोजमा पहिलो पटक पूर्ण मर्मत कार्य भएपछि प्रतिदिन एक सय मेट्रिक टनसम्म उत्पादन बढ्ने प्राविधिकको मूल्यांकन खेर नगएको उद्योगले जनाएको छ। 

उद्योग व्यवस्थापन समितिका अध्यक्ष अंक्रुर खड्काले पछिल्लो समय मजदुर, कर्मचारी, जिएम र व्यवस्थापन पक्ष सबै मिलेका कारण उद्योग फस्टाएको बताए। उनका अनुसार विगतमा जस्तो उद्योगलाई राजनीतिक दलबाट अछुत राखेर काम गर्न सकेका कारण उद्योग नाफामा जान थालेको हो। सरकारले राजनीतिक नियुक्तिभन्दा पनि कुशल, अनुभवि र क्षमतावान मान्छेलाई नेतृत्व सुम्पेको खण्डमा धरासायी भइसकेको उद्योग पनि व्यवस्थित हुने रहेछ भन्ने प्रमाण उसिउलि रहेको अध्यक्ष खड्काले बताए। 

प्रकाशित: २८ मंसिर २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App