७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान

भरतपुरमा कुखुरापालक किसानले आयोजना गरेको चिक्स होलिडे घोषणा कार्यक्रममा उपस्थित। तस्बिर : सविता/नागरिक

चितवन – लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसानले राखेका छन्। किसानका माग सम्बोधन नभए पुस १ गतेदेखि ‘चिक्स होलिडे’ गर्ने नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।

संघले यसअघि गएको कात्तिक १८ गते लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने माग राखेर भरतपुरमा विरोध र्याली गरेको थियो। विरोध कार्यक्रमपछि पनि केही नहुँदा किसानले दोस्रो चरणमा ‘चिक्स होलिडे’ आयोजना गर्ने घोषणा गरेको उनले बताए। गुणस्तरहीन दाना, औषधि एवं चल्ला बिक्री वितरणमा रोक लगाउनुपर्ने, बिचौलियाको बिगबिगीलाई हटाउन नीति बनाइनुपर्ने, दाना, चल्ला, औषधिको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गरिनुपर्ने लगायत माग संघले राखेको छ।

बिचौलियालाई मात्र प्रोत्साहन भएको पेसाका समस्या राज्यले नसुने चरणबद्ध आन्दोलनमा किसान आएको उनी बताउँछन्। अहिले देशका ६४ जिल्लाका किसानले ब्रोइलर कुखुरापालन गरेका छन्। अहिले प्रतिकिलो उत्पादन लागत एक सय ७५ रुपैयाँ पर्छ। कुखुराको तौल औसतमा दुईदेखि साढे दुई किलोसम्म हुन्छ। किसानले एक किलोमा ४० रुपैयाँसम्म घाटा खाइरहेका छन्। किसानको खोरबाट उठाउँदा एक सय ४० र घरमा पुर्याउँदा एक सय ८० रुपैयाँ किलोमा बेच्ने गर्छन्।

८० रुपैयाँमा चल्ला किनेका किसान घाटा खाएर एक सय ४० रुपैयाँभन्दा कममा कुखुरा बेच्न बाध्य भन्दै चिक्स होलिडेको घोषणा गरिएको उनी बताउँछन्। अहिले एक सय ३० देखि एक सय ४० रुपैयाँ किलोमा कुखुरा बेच्न किसान बाध्य रहेको उनले बताए। संघका पूर्वअध्यक्ष प्रकाशबाबु खनाल आफ्नै पुँजी लगानी गरेर स्वरोजगार भई आत्मनिर्भर बन्न अपनाएको पेसाबाट विस्थापित हुने अवस्थामा किसान पुगेको बताउँछन्।

लागत मूल्य नघटाई आम्दानी गर्ने पेसामा कुखुरापालक किसानलाई सहयोग नमिलेको उनले बताए। ‘यो पेसा बिचौलियाको हातमा परेको छ,’ उनी भन्छन्, ‘राज्यबाट किसानलाई सहयोग हुने क्रियाकलपा हुन सकेन।’ किसानलाई ह्याचरी, दाना, सप्लायर्स र औषधि व्यवसायीबाटै सहयोग नमिलेको उनी बताउँछन्। घाटामा जाँदा किसानले ऋणको भारी बोकेर पेसा छाड्नुपर्ने अवस्था आएको छ। किसानले एक सय ४० रुपैयाँ किलोमा बेचेको कुखुरा उपभोक्ताले तीन सय रुपैयाँ किलोमा उपभोग गर्नुपर्ने बजारको अनुगमन गरिनुपर्ने उनको भनाइ छ। 

संघको जिल्ला कार्यसमिति बाराका अध्यक्ष गोविन्द पौडेल कुखुरापालनको क्षेत्रमा बिचौलिया धनी हुने र गरिखाने किसान अभाव र अफ्ठ्यारोमा रहेको बताउँछन्। मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम घोषणा गरिए पनि कुखुरापालक किसानका लागि राज्यको तर्फबाट केही नभएको उनको भनाइ छ। खुला सीमाका कारण भारतबाट अवैध रुपमा आयात हुने कुखुराजन्य उत्पादनले किसानलाई घाटा बनाउने काम भएको उनले बताए।

‘तालिम, सेमिनार, उपकरण र जनशक्ति उत्पादनका लागि राज्यबाट केही भएको छैन,’ उनी भन्छन्, ‘किसानले कतिमा बेच्ने, उपभोक्ताले कतिमा किन्ने, बिचौलियाले मार्जिन कति लिने भन्ने सबैमा मनपरी छ।’ चल्ला, दाना दिने र उत्पादन उठाउनेलाई फाइदा हुने किसानमारा पेसा बनिसकेको उनी बताउँछन्। कुखुरापालनसँग जोडिएका ठूला व्यवसायीले नै यस्तै काम गरिआएको समेत उनको आरोप छ।

किसानलाई दिने चल्ला र दानाको गुणस्तरमा पनि समस्या रहेकाले यसबारे अध्ययन गरिनुपर्ने केन्द्रीय अध्यक्ष पौडेल बताउँछन्। किसानलाई दक्ष प्राविधिकको सुविधा दिएर पनि सरकारले सहयोग गर्नुपर्ने किसान बताउँछन्। मूल्य कम हुनुुको प्रमुख कारण मूल्य निर्धारण गर्ने निकाय नहुनु सप्लायर्सहरुले मूल्य तोकेर उत्पादन उठाउने गर्नु रहेको उनले बताए। ‘काठमाडौंमा रहेका ठूला कोल्ड स्टोरले एक पटकमा लाखौं कुखुरा स्टोर गरेर राख्ने गर्छन्,’ उनी भन्छन्, ‘कोल्ड स्टोर खाली हुँदा कुखुरा उठाउन मूल्य घटाउँछन्। कम मूल्यमा कुखुरा उठाएर कोल्ड स्टोरमा राख्ने र बढी मूल्यमा बिक्री गर्ने खेल हुने गरेको छ।’

ठूला कोलस्टोरलाई निगरानी गर्नुपर्ने उनले बताए। किसानको पनि सहभागिता रहने गरी मूल्य निर्धारण संयन्त्र बनाएर किसानले भोग्दै आएको समस्या समाधान गर्नुपर्ने उनी बताउँछन्। जाडो सिजन भनेको मासु खपत हुने समय हो। यो सिजनमा दैनिक नौ लाख ५० हजार किलोसम्म कुखुराको मासु खपत हुन्छ। अरु समयमा आठ लाख ५० हजार किलोसम्म मासु खपत हुने गरेको छ। ‘चिक्स होलिडे’ गर्दा करिब डेढ महिनापछि बजारमा कुखुराको मासुको अभाव हुने उनले बताए।

प्रकाशित: २६ मंसिर २०७५ ०४:४९ बुधबार

चिक्स_होलिडे कुखुरा किसान लागत_मूल्य