२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी

बागलुङ- बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी विजयी भएका छन्। शनिबार सम्पन्न मतदानको मत गणना अनुसार विपक्षी दयाराम पौडेललाई ७५ मतान्तरले पछि पार्दै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। आ—आफ्नो प्यानल सहित चुनावी मैदानमा झरेका राजभण्डारीले ५९४ र पौडेले ५१९ मत पाएका छन्। कुल एक हजार एक सय ३३ मत खसेको मध्ये २० मत बदर भएको छ। उद्योग वाणिज्य संघ बागलुङको नेतृत्व हत्याउनका लागि व्यवसायी नेताहरु राजनीतिक आस्था अनुसार दुई खेमामा विभाजित भएका थिए।

नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट नेतृत्व गर्दै राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीकोको समर्थनमा राजभण्डारी र नेकपाको निकट व्यवसायीको तर्फबाट पौडेल उम्मेदवार भएका हुन्। महिला सदस्यमा राजभण्डारी प्यानलबाट ६०५ मतका साथ सीतादेवी कँडेल र पौडेल प्यानलबाट ५८० मत सहित सर्मिला खड्का विजयी भए। उद्योग सदस्यतर्फ ५८१ मत ल्याएर राजभण्डारी प्यानलका राजनकुमार शाक्य र ५६२ मत सहित पौडेल प्यानलका हेमबहादुर खत्री विजयी भएका छन्।

१४ जना खुला सदस्यमा ११ जना राजभण्डारी प्यानल र पौडेल पक्षका ३ जना निर्वाचित भएका छन्। दिपक हमाल (७२८), उमाकान्त शर्मा ‘बाबु’ (६९५), श्रीजय श्रेष्ठ (६०८) शशिकपुर श्रेष्ठ (६०२), नरेश कँडेल (५९४), निलेश राजभण्डारी (५८५), विदेशकुमार श्रेष्ठ (५८२) मत सहित राजभण्डारी प्यानलबाट विजयी भएका छन् । राजभण्डारी प्यानलबाट विजयी हुनेहरुमा नविनकुमार श्रेष्ठ (५६९), गणेशराज लम्साल (५६२), थानेश्वर सुवेदी (५६२), ईन्द्रमणि पौडेल (५३०) मत सहित विजयी भए।

पौडेल प्यानलबाट अर्जुन चोखाल (५८०), राजु खड्का (५७५) र रामराज गुरुङ (५३१) मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता भूमिश्वर गौतमले जानकारी दिए। उद्योग वाणिज्य संघको पदाधिकारी भने निर्वाचित समितिको बैठकले छान्नेछ। वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचि र उपकोषाध्यक्ष पद कार्यसमिति बैठकबाट निर्णय गर्ने चलन छ। अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै युवराज राजभण्डारीले सबैसंगको सहकार्यमा व्यवसायीको हितमा काम गर्ने बताए।

प्रकाशित: २३ मंसिर २०७५ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App