काठमाडौं - लामो समयदेखि ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट बाँचिरहेको नेपाल वायुसेवा निगम नयाँ दुई जहाज खरिदसँगै उच्च वित्तीय जोखिममा पुगेको छ।
अर्बौं रुपैयाँ कर्जा लिएर खरिद गरेका दुई वाइड बडी जहाजलाई निगम व्यवस्थापनले पूर्ण क्षमतामा उडाउन नसकेपछि निगम वित्तीय जोखिममा पुगेको हो। आगामी दिनमा पनि निगमले व्यावसायिक योजनाअनुसार ठूला जहाजलाई उडाउन नसके निगमले आफ्नो सम्पत्ति बेचेर मात्र वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था आउनेछ । अर्बौं रुपैयाँ ऋण लिएर किनेका जहाजलाई निगमले दैनिक १२ घन्टा पनि उडाउन सकेको छैन।
व्यवस्थापनले बिहीबार पत्रकार सम्मेलनमार्फत जारी गरेको निगमको श्वेतपत्रअनुसार एकातिर यसको मासिक आम्दानीले खर्च धान्न सकेको छैन भने अर्कोतिर कर्जाको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएपछि निगम वित्तीय जोखिममा पुगेको हो। यही अवस्थामा निगमलाई नगद प्रवाहको पनि समस्या भएको छ। निगमका एक उच्च अधिकारीका अनुसार निगमको अहिलेको समस्या भनेको ऋण काढेर किनेको जहाजले आवश्यक आम्दानी नगर्ने तर यसका लागि खर्च हुने अवस्था आएपछि निगम चर्को वित्तीय भारमा परेको हो।
श्वेतपत्रमा पनि जहाजको तिर्नुपर्ने कर्जा रकम ३२ अर्ब ८७ करोड रुपैयाँ पुगेको र निगमको कर्जा पुँजी अनुपात ३९.८२ रहेकाले निगम उच्च वित्तीय जोखिममा रहेको बताइएको छ।
श्वेतपत्रअनुसार वाइड बडी जहाज ए ३३० उडानअघि निगमको मासिक आम्दानी एक करोड २५ लाख रुपैयाँ थियो। ए ३३० जहाज उडाउन थालेपछि निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस्तै यो जहाज उडाउनुअघि निगमको स्थिर खर्च २३ करोड ९९ लाख रुपैयाँ भएकामा जहाज उडाउन सुरु गरेपछि यस्तो खर्च ५३ करोड २७ लाख रुपैयाँ पुगेको छ। श्वेतपत्रले वाइड बडी जहाज उडाउन सुरु गरेपछि खर्च मात्र बढेको होइन आम्दानी पनि बढेको देखाएको छ। तर त्यस्तो आम्दानी खर्चका रूपमा पर्याप्त छैन।
‘ठूलो ऋण गरेर ल्याएका जहाजलाई निगम व्यवस्थापनले त्यहीअनुसार उडाउन नसकेपछि वित्तीय घाटा दैनिक बढेको हो,’ निगमका ती अधिकारीले भने, ‘पूर्ण व्यावसायिक योजना बनाएर जहाज चाँडो नउडाए निगम कुनै पनि बेला आर्थिक रूपबाट समस्यामा पर्नेछ।’
निगमका अध्यक्ष मदन खरेलले पनि संस्थाको आर्थिक अवस्था धेरै स्वस्थकर नभएको भन्दै दैनिक कारोबारका लागि समेत नगद अभाव भएको बताए। ‘निगम अहिले विषम परिस्थितिमा छ,’ खरेलले भने, ‘हामीले व्यावसायिक योजना बनाएर सरकारसँग २० अर्ब रुपैयाँ माग गरेका छौं।’
उनका अनुसार अहिले ठूला जहाजको व्यापार ६० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन। यो पनि साना जहाज उडिरहेको गन्तव्यमा ठूला जहाज हालेर देखाइएको मात्र हो।
निगम अध्यक्ष खरेलले कर्जाको ब्याजसहित धेरै किस्ता तिर्नुपर्ने भएकाले निगमको तरलता अवस्थामा समस्या आएको बताए। उनले भने, ‘वित्तीय सूचकांकलाई निगम अनुकूल बनाउन सरकारसँग थप रकम माग गरिएको हो।’
निगमकले भदौ मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट गरी दीर्घकालीन कर्जाबापत करिब ३३ अर्ब रुपैयाँ लिएको छ। यसबाहेक अन्य वित्तीय संस्थाबाट लिएको गरी यसको दीर्घकालीन कर्जा ५७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यस्तै छोटो अवधिका रूपमा निगमले राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकबाट एक अर्ब ८० करोड रुपैयाँ कर्जा लिएको छ।
ठूलो कर्जामा डुबेको निगमले ब्याज मात्र वार्षिक तीन अर्ब ८४ करोड रुपैयाँभन्दा धेरै बुझाउनु पर्ने अवस्था छ। श्वेत पत्रअनुसार निगम २०७०–०७१ देखि नै सञ्चित नोक्सानमा देखिन्छ। गत वर्ष यसको सञ्चित नोक्सान दुई अर्ब ५१ करोड रुपैयाँ थियो । कर्जा मात्र होइन निगमसँग सम्पत्ति पनि ठूलै छ। गत भदौसम्म निगमसँग कुल सम्पत्ति ४८ अर्ब ९३ करोड रहेको बताइएको छ।
प्रकाशित: ३० कार्तिक २०७५ ०१:२५ शुक्रबार