६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मल पाउनै मुस्किल

विराटनगर - मकै लगायत हिउँदे बाली लगाउने सिजन सुरू भइसके पनि मोरङका किसानले मल पाउन सकेका छैनन्। स्थानीय सहकारीले मल नदिएपछि विराटनगरस्थित कृषि सामग्री कम्पनीमै मल माग्न पुगेका मोरङ धनपालथान–१ का किसान त्यहा“बाट निराश भएर फर्कनुपरेको छ।

अगौटे धान भित्र्याइसकेका किसान मकैका लागि मलको जोहो गर्न यतिबेला व्यस्त छन् । तर पर्याप्त मल नपाउँदा आफूहरू समस्यामा परेको धनपालथान–१ का किसान बलदेव साहले बताए । साहले भने, ‘मल माग्न स्थानीय सहकारीदेखि कृषि सामग्री कम्पनीसम्म पुगिसकें तर आवश्यकता अनुसार मल पाइएन।’  

तत्कालै चार बोरा मल आवश्यक परे पनि डेढ बोराभन्दा बढी नपाएको साहले बताए । उनका अनुसार रासायनिक मल प्रयोग नगरे मकै खेती फस्टाउँदैन । धनपालथान–१ कै किसान गयानन्द मण्डल पनि मल नपाएर चिन्तित छन् । गत वर्ष  प्रतिकटुठा १० मनसम्म मकै फलाएका मण्डलले यो वर्ष उक्त बाली थप विस्तार गर्ने योजना बनाएका थिए । पर्याप्त मल नपाउ“दा अन्योल भएको उनले बताए । ‘मकै बाली लगाउने सिजन आइसक्यो, मलको जोहो गर्न मुस्किल भएको छ,’ उनले भने।

केही वर्षअघिसम्म उखु खेती गर्दै आएका धनपालथान–१ का किसान उखु मिलले पैसा नदिएपछि मकैतर्फ आकर्षित भएका थिए । किसानका अनुसार उखुमा जस्तो मकै बिक्री गर्न र पैसा लिन मुस्किल छैन । मकै किन्न व्यापारी घरमै आइपुग्छन् । मकैको मूल्य पनि राम्रो छ । मकै प्रतिक्विन्टल १८ सयदेखि दुई हजार रुपैयाँमा घरैबाट बिक्छ।

कृषिमा यान्त्रीकरणसँगै मकै खेती गर्न किसानलाई सहज बन्दै गएको छ । मकै खेतीमा पहिले जस्तो  झमेला नरहेको किसान अताउर अहमानले बताए । उनका अनुसार खेत जोत्नेदेखि बाली भित्र्याउनेसम्मका काममा कृषि यन्त्र उपलब्ध छन् । ‘धेरै जसो काम यन्त्रले नै गर्ने भएका कारण किसानलाई बाली लगाउन र भित्र्याउन सजिलो भएको छ,’ अहमानले भने  । तर रासायनिक मल र उन्नत जातको बीउ अभाव किसानका लागि टाउको दुखाइ बनेको छ।

केही वर्ष पहिलेसम्म मोरङका दक्षिणी भेगका किसान मल र बीउका लागि सीमावर्ती भारतमै निर्भर थिए । भारतबाट मल बीउ ल्याउन सहज थियो । नेपाल–भारत सीमामा सुरक्षाकर्मीले  कडाइ गरेका कारण आफूहरू भारतबाट मल, बीउ ल्याउन सक्ने अवस्थामा नरहेको किसान हरिलाल साहले बताए।

सीमावर्ती भारतबाट मल, बीउ ल्याउन नसक्ने र नेपालमा पर्याप्त नपाउने भएकाले आफूहरू मर्कामा परेको साह बताउँछन् । ‘सीमामा कडाइले भारतबाट मल, बीउ ल्याउन सम्भव छैन,’ उनले भने, ‘नेपालमा न त पर्याप्त मल पाइन्छ न उन्नत बीउ नै।’

उन्नत जातको बीउ र पर्याप्त मल उपलब्ध भए  नेपालबाट मकै निर्यात गर्न सकिने किसान बताउँछन्।

किसानका अनुसार अन्य नगदे बालीमा भन्दा बढी नाफा मकैमा छ । मकै लगाएको खेतमा धान उत्पादन पनि धेरै हुने गरेको किसानको अनुभव छ। मकै खेतीबाट गाई–बस्तुलाई घाँस पनि उपलब्ध हुन्छ । मकैको ढोड र खोया दाउरामा प्रयोग गर्न सकिने भएकाले यसबाट किसानलाई  चौतर्फी फाइदा छ । यस्तै मकै लगाएको खेतमा तीनवटा बाली सजिलै लगाउन  सकिन्छ।

यता कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले हिउँदे बालिका लागि मल आइसकेकाले विस्तारै सबै किसानले  पाउने दाबी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमका अनुसार हिउँदे बाली लगाउने सिजन सुरू भएसँगै सहकारीहरूलाई कार्यालयले मल वितरण गर्न थालिसकेको छ । हिउँदे बालीका लागि डिएपीको माग धेरै हुने गरेकाले हरेक सहकारीलाई ५० बोराका दरले डिएपी वितरण गरिरहेको र माग अनुसार युरिया वितरण गरिरहेको गौतमले बताए । ‘खरिद गरिएको मल आयातमा ढिलाइ हुँदा अभाव देखिए पनि तत्काललाई पुग्ने मल आइसकेको र केही आउने क्रममा रहेकाले हिउँदे बालीका लागि समस्या हुँदैन,’ गौतमले भने । कृषि सामग्री कम्पनीले किसानलाई सोझै नभई सहकारीमार्फत मल वितरण गर्दै आएको छ।    

कृषि सामग्री कम्पनीको गोदाममा मल आइपुगे पनि केही सहकारीहरूले नलगेका कारण कतै–कतै समस्या देखिएको गौतमले बताए । उनका अनुसार कम्पनीको विराटनगर गोदाममा अहिले तीन सय ८१ मेट्रिक टन युरिया र चार सय २२ टन  डिएपी मौज्दात छ।

पूर्वाञ्चलका सबै शाखा कार्यालयको गोदाममा गरी १६ सय ९७ मेट्रिक टन युरिया र १३ सय ८३ टन डिएपी मौज्दात छ । कम्पनीसँग पोटासको भने अभाव छ । क्षेत्रीय कार्यालयको गोदाममा पोटासको मौज्दात छैन । पूर्वाञ्चलका अन्य शाखाको गोदाममा सात टन मात्रै पोटास मौज्दात छ । मकै, आलु, तरकारी लगायत बालीमा  पोटास प्रयोग हुने गरेको छ।

सीमामा हुने अवैध आयातमा कडाइ र अभाव हुने डरले आवश्यकभन्दा बढी मौज्दात गर्ने प्रवृत्तिका कारण हिउँदे बाली लगाउने सिजन सुरू नहुँदै मलको माग उच्चदरले बढेको कम्पनीले जनाएको छ।

गौतमका अनुसार हरेक वर्ष किसानले बालीमा रासायनिक मलको मात्रा बढाउँदै लगेका कारण पनि माग उच्च देखिएको छ । नेपालमा वार्षिक सात लाख मेट्रिक टन मल आवश्यक पर्ने कृषि मन्त्रालयले प्रक्षेपण गरे पनि करिब तीन लाख मेट्रिक टन मात्रै आयात भइरहेको छ । मागभन्दा न्यून आयात र बढ्दो खपतले किसानले पर्याप्त मल नपाउने समस्या देखापरेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार पूर्वी नाकाबाट आर्थिक वर्ष ०७३/७४ मा ७४ करोड ३३ लाख सात हजार रुपैयाँको मल आयात भएको थियो। आर्थिक वर्ष ०७४/७५ मा अघिल्लो वर्षको तुलनामा मल आयात उच्च दरले बढेर १० अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App