१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

इलाममा लगानी सम्मेलन

इलाम नगरपालिकास्थित इलाम बजारनजिकैको चियाबारी । तस्बिर : नागरिक

इलाम– आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकाले सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्ने भएको छ। स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो। 

आउँदो २५ गते आयोजना गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको नगरपालिकाले जनाएको छ। नगरपालिका प्रमुख महेश बस्नेतका अनुसार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, संघीय सरकार र प्रदेश सरकारका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरू लगायतको समेत सहभागिता रहने छ। लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ् कमर्स, नेपाल उद्योग परिसंघ, गैरआवसीय नेपालीको संस्था, होटल महासंघ, नेपाल पत्रकार महासंघलगायत संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन्। 

सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहने प्रमुख बस्नेतले बताए। ‘इलाम नगरपालिकामा लगानीका क्षेत्र पहिचान गर्दै देशभरका ठूला उद्योगीलाई नगरत्रि विभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्न लगानीकर्ताको सम्मेलन आयोजना गर्न लागिएको हो,’ प्रमुख बस्नेतले भने, ‘लगानीकर्ताले यहाँ गरेको लगानीले इलामबासीको जीवनस्तर उकास्दै नगरपालिकाको समृद्धिमा ठूलो भरथेग गर्ने आशा छ।’ 

लगानी सम्मेलन सम्पन्न गर्न नगर कार्यपालिकाको मूल समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ।  नगर उपप्रमुख सुशीला नेम्बाङको संयोजकत्वमा स्वागत, सत्कार तथा स्वागतद्वार निर्माण उपसमिति, वडाध्यक्ष नरेश श्रेष्ठको सयोजकत्वमा हल तथा स्वयंसेवक उपसमिति, वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन तथा संयोजन उपसमिति गठन गरिएको छ।

वडाध्यक्ष नुतनदेव दुलालको संयोजकत्वमा स्टल व्यवस्थापन, वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा अतिथि आवास तथा व्यवस्थापन, नगर साहित्य कला तथा संगीत प्रतिष्ठानको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन र प्रशासकीय अधिकृत रामकुमार शाहको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको नगरका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। सम्मेलनमा जिल्लाका स्थानीय तहका प्रमुखसहित विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुने आयोजक इलाम नगरपालिकाले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७५ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App