१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खोज्न थालियो लुक्ला उडानको विकल्प

काठमाडौं - पर्यटकीय सिजनको बेला सबैभन्दा बढी आन्तरिक उडान लुक्ला (तेन्जिङ हिलारी) विमानस्थलमा हुन्छ । एकपटकमा तीनवटा विमान कम्पनीका नौ जहाजले उडान भर्छन् । तर, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग एउटा मात्रै भएकाले घन्टौं होल्ड गरेर उडान गर्नुपर्ने बाध्यता छ।

एकातिर एयर ट्राफिक जामले समयमा उडान हुँदैन, अर्कोतिर मौसमी खराबीले लुक्लाको उडान रद्द भइरहन्छ । लुक्ला उडानको टिकट तीन महिनअघिबाट बुकिङ हुन्छ । बुकिङ अनुसार एक चरणमात्रै उडान भएन भने सगरमाथा क्षेत्र जाने पर्यटक बिचल्लीमा पर्छन्।

व्यवसायीका अनुसार लुक्लामा ढिलाइ र मौसमको कारणले उडानै नहुने समस्या बारम्बार हुन्छ । जसले गर्दा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक समस्यामा पर्छन् । तालिका अनुसार उडान नहुँदा कतिपय पर्यटकले त भ्रमण रद्द पनि गर्दै आएका व्यवसायी बताउँछन्।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाएर २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेको छ । नेपाल आउने अधिकांश पर्यटकको रोजाइ सगरमाथा क्षेत्र पर्छ । तर, सगरमाथा प्रवेशद्वार लुक्ला पुग्ने एकमात्रै विकल्प काठमाडौं–लुक्ला हवाई उडान भरपर्दो छैन। यसै कारणले गर्दा लुक्लाको लागि सरकार र व्यवसायी दुवै पक्षबाट विकल्प खोज्न थालिएको छ।

विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार लुक्ला उडानको विकल्पमा रामेछाप–लुक्ला उडान हुन सक्ने सम्भावना औंल्याइएको छ । ‘हामीले रामेछाप–लुक्ला उडानको लागि रामेछापको एयरपोर्ट पनि सोही अनुसार तयार गरेका छौं,’ उनले भने, ‘लुक्लाको लागि कार्गो उडान पनि रामेछापबाटै हुने गरेको छ।’

उनका अनुसार लुक्लाको उडान काठमाडौं बाहिरबाट गर्दा काठमाडौंमा हुने एअर ट्राफिक जाम पनि घट्नेछ । लुक्ला उडान गर्ने जहाजले पनि ट्राफिक जाममा नपरी फटाफट उडान गर्न पाउनेछन् । ‘लुक्लामा एक लटमा नौवटा सना जहाजले उडान गर्छन्,’ उनले भने, ‘त्यसले आन्तारिक उडानमा मात्रै होइन, बाह्य उडानमा पनि ट्राफिक जाम हुने गर्छ ।’ उनका अनुसार लुक्ला उड्ने जहाज पनि होल्डमा बस्नुपर्ने हुन्छ । जसले गर्दा उडान ‘डिले’ (ढिलो) हुने र तालिकाअनुसार उडान नहुने भइरहन्छ।

लुक्लामा विशेषगरी विहान मौसम सफा रहन्छ । १० बजेपछि मौसम बिग्रन र हावा चल्न थाल्छ, जसले गर्दा आन्तरिक उडान प्रभावित हुन्छ । कतिपय अवस्थामा त मौसम बिग्रँदा लुक्लामा हप्तौंसम्म उडानै हुदैन । मौसम बिग्रिएको बेला कुनै विकल्प नभए पनि मौसम खुलेको अवस्थामा काठमाडौंको ट्राफिक जाममा बसेर एक चरण उडान गर्दा काठमाडौं बाहिरबाट भने तीन चरणसम्म उडान गर्न सक्ने अनुमान व्यवसायीको छ।

सोही अनुसार व्यवसायी पनि केही दिनअघि रामेछापको एयरपोर्ट भ्रमणमा गएका थिए । रामेछाप पुगेका एक व्यवसायीका अनुसार रामेछापमा काठमाडौंबाट पर्यटक लगेर राख्न होटलको व्यवस्था नभएकाले अन्य विकल्प हेर्नुपर्छ । ती व्यवसायीका अनुसार ओखलढुंगाको रुम्जाटार वा सोलुखुम्बुकै फाप्लुबाट उडान गर्दा राम्रो हुन्छ । रुम्जाटार र फाप्लुमा भने पर्यटकको लागि व्यवस्थित होटल छन् । ती ठाउँबाट उडान गर्दा त्यहाँसम्म गाडीमा र त्यसपछि जहाजमा लुक्ला पुग्नुपर्छ । गाडीमा जान सबैभन्दा नजिक रामेछाप हुन्छ।

‘लुक्ला उडानको लागि विकल्प नखोजी हुँदै हुँदैन,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष सिएन पाण्डेले भने, ‘सबैभन्दा राम्रो विकल्प भनेको रामेछाप हो । रामेछाप नभएको खण्डमा विराटनगरबाट पनि लुक्ला उडान गर्न सकिन्छ ।’ उनका अनुसार रामेछापबाट उडान भएको खण्डमा काठमाडौंबाट गाडीमा रामेछापसम्म जाने, विराटनगरबाट लुक्ला उडान भएको खण्डमा ठूलो जहाजमार्फत विराटनगरसम्म र त्यहाँबाट सानो जहाज लुक्ला ओसार्नुपर्छ।

हवाई कम्पनी समेत लुक्ला उडान काठमाडौंबाहिरबाट गर्न तयार छन् । घन्टौं होल्डमा राख्नुपर्ने तथा उडान डिले भएर तालिका अनुसार उडाउन नसक्ने कारणले हवाई व्यवसायी आजित छन् । ‘काठमाडौंबाहिरबाट उडान गर्न हामी तयार छौं,’ वायुसेवा सञ्चालक संघ नेपालका महासचिव तथा प्रवक्ता घनश्याम आचार्यले भने, ‘ट्राभल एजेन्सीले पर्यटक पु-याउँछन् भने हामी काठमाडौंबाहिर जुन ठाउँबाट भए पनि लुक्ला उडानको लागि तयार छौं।’

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक ट्राफिक जाम बढेपछि वायुसेवा कम्पनीहरुले यसअघिबाटै लुक्ला उडान काठमाडौंबाहिरबाट गरौं भनेर सरकारलाई सुझाउँदै आएका छन् । कम्पनीले एक जहाज बराबर पाँच उडानसम्मको बुकिङ गर्छन् । ट्राफिक जामले गर्दा बुकिङ अनुसार उडान गर्न नसक्दा समस्या भईरहेको सीता एयरका महाप्रबन्धक समेत रहेको संघका प्रवक्ता आचार्यको भनाइ छ।

वायुसेवा कम्पनीले मात्रै नभएर ट्राभल एजेन्सीले समेत सरकारलाई विकल्प खोज्न अनुरोध गर्दै आएको नाट्टाका अध्यक्ष पाण्डेले बताए । ‘उडान डिले तथा नहुने कारणले गर्दा कतिपय पर्यटक भ्रमणै नगरी फर्किने अवस्था छ,’ पाण्डेले भने, ‘काठमाडौंबाहिरबाट गर्दा फटाफट उडान गर्न सकिन्छ । त्यसको लागि हामी तयार छौं ।’ उनका अनुसार यसो गर्दा ट्राभल एजेन्सीलाई प्याकेज थपिन्छ, व्यवसायी झनै खुसी हुन्छन् । पर्यटक पनि अर्को ठाउँ घुम्न पाउने भएपछि खुसी हुने उनको अनुमान छ । सबै हिसाबले राम्रै रहेकाले लुक्ला उडान काठमाडौं बाहिरको ठाउँबाट गर्नुको विकल्प नभएको दाबी उनको छ।

विमानस्थल कार्यालयका महाप्रबन्धक क्षेत्रीका अनुसार लुक्ला उडान गर्ने साना जहाजलाई बाहिर पठाउन सके काठमाडौं विमानस्थलमा धेरै हदसम्म ट्राफिक जाम घट्छ । सरकार, व्यवसायी सबैको आवाज एउटै रहँदा अब कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल थालिसकेको क्षेत्रीले बताए । सरकार काठमाडौंबाहिरबाट लुक्ला उडानको विकल्पबारे चाँडै निष्र्कषमा पुग्ने क्षेत्रीको भनाइ छ । सबै उडान काठमाडौंबाहिरैबाट वा केही उडान मात्रै काठमाडौं बाहिरबाट गर्ने भन्ने विषयमा चाँडै टुंगो लाग्ने विमानस्थल कार्यालयले जनाएको छ।

अहिले लुक्लामा तारा, समिट र सीता एयरका साना १७ सिट क्षमताका नौ जहाजले उडान गर्दै आएका छन् । नेपाल वायुसेवा निगमले पनि शनिबारबाट हप्तामा तीनवटा उडान गर्न थालेको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App