५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

काठमाडौं - दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्। दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४४ हजार खसीबोका भारतबाट ल्याउन लागिएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ।

दसैं, तिहारमा खपत हुने करिब ५५ हजार खसीबोका, भेडाच्याङ्ग्रामध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादनले धान्ने संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए । ५५ हजारमध्ये ११ हजार विभिन्न जिल्लामा उत्पादन भएका खसीबोका र भेडाच्यांग्रा बजारमा बिक्री हुन्छ । प्रतिगोटा १४ हजार रुपैयाँका दरले यो सिजनमा करिब ७७ करोड रुपैयाँको कारोबार हुन्छ। भारतबाट ल्याउने ४४ हजारलाई प्रतिगोटा १४ हजारका दरले हिसाब गर्दा करिब ६१ करोड ६० लाख रुपैयाँ हुन्छ।

बजारको माग अनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय परनिर्भरता रहेको संघले जनाएको छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ,’ संघका पाठकले भने।

सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैं–तिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रा पालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ।

दसैं–तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बका खसीबोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । स्वदेशी उत्पादनले १५–२० प्रतिशतमात्र थेग्ने संघले जनाएको छ । यो सिजनमा मात्र आधा अर्ब रुपैयाँभन्दा धेरै भारत जाने भएको छ।

भारतबाट मात्र नभएर चीनबाट केरुङ, मुस्ताङको कोरला नाका हुँदै भेडाच्यांग्रा ल्याउने क्रम सुरु भएको छ । हिमाली क्षेत्रमा भेडाच्यांग्रा पाल्ने किसानले चीनको सीमा क्षेत्रबाट किनेर ल्याई मिसाएर बेच्ने सम्बन्धित जिल्लाका किसान बताउँछन्।

चाडवाडमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याउँछन् । ‘८० प्रतिशत खसी–बोकाको मासु विदेशबाट ल्याएको प्रयोग गर्नुपर्नेछ,’ उनले भने, ‘यहाँ पर्याप्त उत्पादन नहुँदा यस्तो समस्या भएको हो।’

नेपाल खाद्य संस्थानले तीन करोड ४९ लाख रुपैयाँका भेडाच्यांग्रा खरिद गरेर ल्याउने भएको छ । उपभोक्तालाई सहुलियतमा मासु उपलब्ध गराउन दाङबाट पाँच सय, मकवानपुरबाट पाँच सय खसी र मुस्ताङबाट एक हजार भेडाच्यांग्रा ल्याउन लागिएको हो । भेडाच्यांग्रा खरिद प्रक्रिया सुरु गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ‘घटस्थापनाबाट बिक्री गर्ने योजना बनाएका छौं,’ सापकोटाले भने, ‘मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ।’

उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडाच्यांग्रा र खसी–बोका ल्याउन लागिएको संस्थानले जनाएको छ । माग बढ्ने भए पनि चाडवाडमा मासुको अभाव हुन नदिने व्यवसायीले बताएका छन् । दसैं–तिहारको लागि आवश्यक मासु व्यवस्थापन गर्न गाउँगाउँ पुगेर खसी–बोका संकलन गर्छन्।

चाडपर्वमा उपभोक्तालाई स्वस्थ्य मासु ख्वाउन पशु विभाग अन्तर्गतका पशु क्वारेन्टाइनले समेत निगरानी बढाउने जनाएको छ । मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले भारतबाट प्रवेश गर्ने सीमा क्षेत्रका क्वारेन्टाइनमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। मासु प्रयोजनको पशु जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाको पशु सेवा कार्यालयबाट स्वास्थ्य जाँच गरी प्रमाणपत्र लिनुपर्छ।

चाडबाडको बेलामा गुणस्तहीन मासु लगायत वस्तुको बिक्री वितरण रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन गरेर परिचालन गर्ने जनाएका छन्।

सरकारले अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजना अघि बढाएको छ । पशुको उत्पादन र उत्पादकत्व बढाउँदै पशुजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने योजना बनाएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७५ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App