काठमाडौं - नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्। यसरी थुप्रिएका नोट व्यवस्थापनमा राष्ट्र बैंकलाई हम्मे परेको हो।
बैंक तथा वित्तीय संस्थाले साना दरका नोट प्रयोग गर्दा कर्मचारी धेरै लाग्ने र व्यवस्थापन गर्न पनि समस्या हुने भएपछि ठूला दरका प्रयोग गरेर साना सबै राष्ट्र बैंकमा पठाउने गरेका छन्। बैंक तथा वित्तीय संस्थाको यो अप्ठ्यारो काम अहिले राष्ट्र बैंकले गर्नुपरेको छ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सबैतिरबाट साना दरका नोट बढी आएकाले व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समस्या परेको बताए।
‘अहिले हामीलाई साना दरका नोट कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती छ,’ निरौलाले आइतबार नागरिकसँग भने, ‘बजारमा एकपटक गएका साना दरका नोट सर्वसाधारणलाई वितरण नगरी बैंक तथा वित्तीय संस्थाले पुनः राष्ट्र बैंकमा पठाएका कारण यस्तो समस्या आएको हो।’
राष्ट्र बैंकले ठाउँ अभावकै कारण नोटको आयु घट्दै गएको जनाएको छ । ‘दुई वर्षको आयु हुने नोट एक वर्षमै नष्ट हुने गरेका छन्,’ निरौलाले भने, ‘बैंक तथा वित्तीय संस्था र सरकारले सहयोग नगर्दा राष्ट्र बैंकलाई समस्या परेको हो ।’
अहिले राष्ट्र बैंकले ५, १०, २०, ५०, १००,५०० र १००० दरका नोट प्रचलनमा ल्याएको छ। तीमध्ये बैंक तथा वित्तीय संस्थाले १००० र ५०० दरका नोट बढी प्राथमिकता दिने गरेका छन्।
२०७२ साल वैशाखमा गएको भूकम्पले राष्ट्र बैंकको थापाथली भवनमा क्षति पु-याएपछि नोट राख्ने ठाउँ अभाव भएको हो। त्यसमा पनि ठूला दरका नोट बैंक तथा वित्तीय संस्थाले बढी प्रयोग गर्ने र साना दरका नोट राष्ट्र बैंकमा पठाउने क्रम बढेपछि नोट व्यवस्थापन गर्न चुनौती भएको राष्ट्र बैंकको भनाइ छ।
‘साना दरका नोट राष्ट्र बैंकमै पठाउँदा यो समस्या आएको हो,’ उनले भने, ‘गत वर्ष दसैंमा बाहिरिएका साना दरका नोट राष्ट्र बैंकमा आएका छन् भने ठूला दरका नोट मात्र बैंक तथा वित्तीय संस्थाले चलनमा ल्याएका छन्।’ सहकारीमार्फत ती साना दरका नोट विकास बैंक र वाणिज्य बैंक हुँदै केन्द्रीय बैंकमा आइपुग्छ।
राष्ट्र बैंकले नोट व्यवस्थापन गर्ने जिम्मेवारी थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभागलाई दिएको छ। तर, उसले भण्डारण गर्ने क्षमताभन्दा बढी अहिले साना दरका नोट बजारबाट आएपछि व्यवस्थापनमा समस्या भएको हो।
‘नोट राख्ने ठाउँ छैन,’ निरौलाले भने, ‘बजारबाट फर्केका पुराना नोट र विदेशमा छापेर ल्याइएका कागजी नोट काठको बाकसमा राख्नुपर्छ, त्यतिकै राख्न मिल्दैन, राख्यो भने ढुसी लाग्छ र चल्तीमा ल्याउन समस्या हुन्छ। त्यही भएर अहिले हामीसँग भएका नोट जोगाउन मुस्किल छ।’
२०७२ साल वैशाखको भूकम्पले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारसहित थापाथली र सुन्धारास्थित भवनमा क्षति पु-याएको थियो। भूकम्प गएको लामो समय हुँदसम्म पनि भवन निर्माण हुन सकेको छैन। यसले पनि समस्या बढेको हो।
नोट राख्ने ठाउँ अभाव भएपछि केन्द्रीय बैंकले नेपालगन्ज, भैरहवा, विराटनगरलगायतका ७ वटा कार्यालयमा पठाउने गरिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले बताए। ‘नयाँ नोटको हकमा जुन कम्पनीले छाप्छ त्यसै कम्पनीले काठको बाकस वा प्लास्टिकको बाकमा पठाउँछ,’ उनले भने, ‘तर, पुराना नोटको व्यवस्थापन भने राष्ट्र बैंक आफैंले गर्छ। भूकम्पले राष्ट्र बैंकका भवन भत्काएकाले पनि समस्या बढी भएको हो।’ तर, चलनचल्तीबाट फर्केका नोट भने दराज वा जस्ताको बाकसमा राख्ने गरिएको राष्ट्र बैंकको भनाइ छ।
प्रकाशित: १ आश्विन २०७५ ०१:१८ सोमबार