११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिबी निवारण कोषको १७ करोड जोखिममा

पाँचथर – गरिबी न्यूनीकण गर्ने नाममा सञ्चालित गरिबी निवारण कोषको कार्यक्रमार्फत समुदायमा आयआर्जनका लागि सस्तो व्याजमा ऋण प्रदान गर्ने गरी परिचालन भएको रकम जोखिममा परेको छ।

घुम्ती कोष  सञ्चालनका लागि समुदायमा रहेको रकम परिचालन हुन नसक्दा जोखिममा परेको हो । कोषको तथ्यांकअनुसार गत चैतसम्म साविकका २१ गाविस (हालका ३० वटा वडा) मा घुम्ती कोषको रुपमा १७ करोड १९ लाख १२ हजार नौ सय ६९ रुपैयाँ रहेको छ । कोषबाट प्राप्त १० करोड ७१ लाख २७ हजार तीन सय ४६, समुदायको स्वलगानी  दुई करोड १७ लाख एक हजार पाँच सय १६, व्याज तीन करोड १३ लाख २६ हजार चार सय ५९ र बचत एक करोड १७ लाख ५७ हजार ६ सय ४८ रुपैयाँ रहेको तथ्यांक छ। 

विगतमा साझेदार संस्थाको नाममा गैरसरकारी संस्थामार्फत सञ्चालित कार्यक्रम अहिले रोकिँदा जोखिममा परेको हो । स्थानीय तहलाई हस्तान्तरण गर्ने भनिए पनि कोषले अझै हस्तान्तरण गरेको छैन । सहुलियत व्याजमा ऋणको रुपमा समुदायमा परिचालन भएको रकममा अनियमितता हुने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।

घुम्ती कोष सञ्चालनका लागि समुदायस्तरमा विभिन्न सामुदायिक संस्था गठन भएका छन् । ती संस्था परिचालनका लागि गैससमार्फत कर्मचारी परिचालन भएको थियो । गत चैतदेखि घुम्ती कोष परिचालन हुन सकेको छैन । गरिबी निवारण कोषको यो कार्यक्रमको निरन्तरतामा अन्योल देखिएको छ । सामुदायिक संस्थाहरुले प्रदान गरेको ऋण उठाउन र पुनः परिचालन गर्न सकेका छैनन्। 

कोषका जिल्ला कार्य प्रबन्धक उत्तम खडकाले ६ महिना यता रकम परिचालन हुन नसकेको बताए । ‘अब कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योल छ । गाउँमा रहेको रकम परिचालन हुन सकेको छैन,’ उनले भने, ‘स्थानीय तहमा हस्तान्तरण हुने भन्ने कुरा छ, तर यसै हुन्छ भन्नसक्ने अवस्था छैन ।’ कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा विगतमा पनि आलोचना हुने गरेको थियो।

जिल्लामा गैरसरकारी संस्थाहरुले सामुदायिक संस्था स्थापना गर्ने, घुम्ती कोष परिचालन, ऋण लगानीका लागि सहयोग गर्थे । सामुदायिक संस्था परिचालनका लागि साविकका गाविसमा सामाजिक परिचालक राखिएको थियो । चैतयता यी सबै काम निस्क्रिय भएका छन् । यी काम नहुँदा गाउँमा रहेको ठूलो रकम जोखिममा पर्ने खतरा रहेको प्रबन्धक खडकाले स्वीकार गरे।

सुरुमा सात वटा गैससमार्फत कार्यक्रम सञ्चालन गरिएको थियो । पछि घटाएर चार संस्थामार्फत काम अघि बढाइएको थियो । तत्कालीन जिल्ला विकास समिति तथा समन्वय समितिमा रहेर काम गर्ने गरी कार्य प्रबन्धक तोकिएको थियो । पछिल्लो समयमा कार्यक्रम सञ्चालन हुन नसकेपछि लगेको ऋण तिरेका छैनन् । व्याज संकलन, बचत तथा नयाँ लगानीसमेत हुन सकेको छैन। 

सामुदायिक संस्थामा सिधै कोष कार्यक्रमले बीउ पुँजी उपलब्ध गराउँथ्यो । केही रकम समुदायले स्वलगानी, व्याज तथा बजेट परिचालन गर्ने गरेको थियो । जिल्लाका सबै स्थानीय तहका केही ठाँउमा यो कार्यक्रम परेको छ । तर स्थानीय तहले यति ठूलो रकम अलपत्र पार्दा पनि आफ्नो मतहत ल्याउने प्रयास गरेको छैन।

विश्व बैंकको सहयोगमा आठ वर्ष पहिलेबाट सञ्चालनमा आएको यो कार्यक्रम आगामी डिसेम्बरबाट सकिनेछ । समुदायमार्फत सञ्चालन गर्ने गरी कार्यक्रमको रणनीति बनाइएको थियो । जिल्लामा गठन भएका चार सय ४१ सामुदायिक संस्थामध्ये चार सयले घुम्ती कोषमार्फत पैसा पाएका थिए । स्थानीय तहले यसमा चासो नदेखाएको पाँचथर उद्योग वाणिज्य संघमार्फत कार्यक्रम संयोजक भएर काम गरेका भीम कार्कीले बताए।

कार्यक्रमले निरन्तरता नपाउँदा जोखिम बढेको उनले बताए । जनुसुकै माध्यमबाट भए पनि उक्त रकम परिचालन हुन अवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा ३० वडाका ११ हजार तीन सय ६३ घरधुरी सहभागी थिए । गरिबीको स्तर हेरी समूह विभाजन गरेर ऋण प्रवाह गर्ने व्यवस्था मिलाइएको थियो। 

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा आर्थिक वर्ष ०६१–६२ बाट यो कार्यक्रम सुरु भएको थियो । ६ जिल्लाबाट ५७ जिल्लामा पुगेको कार्यक्रम अहिले अलमलमा परेको हो । अन्य जिल्लामा पनि यस्तै समस्या रहेको सरोकारवालाले जानकारी दिएका छन्।

 

प्रकाशित: १३ भाद्र २०७५ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App