विराटनगर – मोरङमा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ। वर्षे धानबालीका लागी रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ। वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई ९ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिए।
डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो। मोरङ बाहेक अन्य जिल्लामा डिएपी २ हजार २६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३६९ बोरा मौज्दात रहेको राईले बताए।
गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा १ हजार ३३२ बोरा खपत भई अरु जिल्लामा ६ हजार २७० वितरण गरिएको थियो। हाल सो मल १० हजार ५५७ बोरा मौज्दात रहेको छ। (रासस)
प्रकाशित: ८ भाद्र २०७५ १०:३२ शुक्रबार