८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो त्रिसुली थ्री बीमा नबिलको अगुवाइमा लगानी

काठमाडौ – नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत् आयोजनाको लगानी जुटेको छ। 

नबिल बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) र नेपाल बैंकले आयोजनामा पाँच अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र बैंक तथा वित्तीय संस्थाहरुबीच सोमबार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्रवद्र्धक कम्पनीकातर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सहवित्तीयकरणको अगुवा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

आयोजनामा नबिलको दुई अर्ब, एचआइडिसिएलको एक अर्ब ५० करोड र नेपाल बैंकको एक अर्ब १० करोड रुपैयाँ ऋण लगानी रहने छ । बाँकी एक अर्ब १६ करोड रुपैयाँ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै ऋण लगानी गर्ने सहमति भएको छ । आयोजनाको अनुमानित लागत आठ अर्ब २२  करोड रुपैयाँ (निर्माण अवधिको ७८ करोड ब्याजसहित) छ। 

आयोजनाको अनुमानित लागतमध्ये ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट र ७० प्रतिशत ऋणबाट जुटाइएको हो । इक्विटीमार्फत आयोजनामा दुई अर्ब ४६ करोड रुपैयाँ लगानी हुने छ। 

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०–३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ। 

ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट नजिक रहेकाले आयोजना  विद्युत्को लोड व्यवस्थापन र प्रतिफलका दृष्टिकोणले आकर्षक रहेको बताए । उनले तोकिएकै समय र लागतमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए। 

आयोजनाको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले बताए। इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडलमा आयोजनाको निर्माण गर्न गत माघमै चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । नुवाकोट र रसुवामा निर्माण हुने माथिल्लो त्रिसूली ३ बी प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली थ्रि एको क्यास्केड आयोजना हो। 

आयोजनाबाट सुक्खायाममा ( मंसिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने १३ करोड ४९ लाख र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख गरी कुल २९ करोड २६ लाख युनिट ऊर्जा वार्षिक उत्पादन हुने छ।

 

प्रकाशित: ६ भाद्र २०७५ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App