१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषले प्रदेशका परियोजनामा लगानी गर्ने

काठमाडौं – नागरिक लगानी कोषले प्रदेश स्तरका परियोजनामा पनि लगानी गर्ने विषयमा अध्ययन सुरु गरेको छ।

राज्यले अवलम्बन गरेको नीतिलाई आत्मसात गर्दै कोषले लगानीको कार्यक्षेत्र बढाउनेतर्फ काम सुरु गरेको हो।

कर्मचारी सञ्चयकोष, बिमा संस्थान र अन्य बैंक तथा वित्तीय निकायको सहकार्यमा पूर्वाधार लगानी बैंक खडा गर्न सञ्चय कोष र राष्ट्रिय बिमा संस्थानसँग सहकार्य गर्ने तर्फ पनि कोषले काम अघि बढाएको विज्ञप्तिमार्फत जानकारी गारएको छ।

योगदानमा आधारित निजामती कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विद्यालयका शिक्षकको पेन्सनको व्यवस्था गर्न कोषले आफ्नै मातहत स्वतन्त्र रुपमा कार्य गर्ने निकाय गठन गरी योगदानमा आधारित पेन्सन योजना सञ्चालन र व्यवस्थापन एकाइ खडा गर्ने सोचलाई पनि कोषले आत्मसात गरेको जनाएको छ।

आर्थिक वर्ष ०७१/७२ मा कोषको नाफा १८ करोड ६१ लाख रुपैयाँ रहेकोमा आव ०७२/७३ मा २७.४३ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। आव २०७३/७४ मा कोषको नाफा २९ करोड ६२  लाख रुपैयाँ पुगेको विज्ञप्तिमा उल्लेख छ। कोषले सुरक्षित क्षेत्रमा मात्रै लगानी केन्द्रित गरेको कारण नाफा बढ्दै गएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए।

कोष कर्मचारीको मनोबल उच्च राख्न सञ्चालक समिति उत्साहित रुपमा अघि बढेका कारण कोषको नाफा र कारोबार बढेको दाबी गरिएको छ। कोषले नेपाली नागरिक, कर्मचारी, कामदार एवं संगठित संस्थाबाट विभिन्न ११ वटा योजना सञ्चालन गर्दै आएको छ। हाल कोषमा करिब ४८ हजार कार्यालय एवं एकाइ आबद्ध छन्। त्यस्ता कार्यालयका कर्मचारी एवं कामदार गरी करिब ६ लाखभन्दा बढी सेवाग्राही कोषमा सहभागी छन्। कोषको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । कोषमा नेपाल सरकारको १०, नेपाल राष्ट्र बैंकको १३, राष्ट्रिय बीमा संस्थानको २७, नेपाल स्टक एक्सचेन्जको १०, बैंक तथा वित्तीय संस्थाको २० र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व छ।

प्रकाशित: ३ भाद्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App