१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यवस्थित बन्दै नारायणगढ बजार

फुटपाथ पसल हटाएपछि नारायणगढस्थित सहिद चोक । तस्बिर :सविता/नागरिक

चितवन - पूर्व–पश्चिम राजमार्गसँग जोडिएको नारायणगढ बजार व्यवस्थित बन्ने भएको छ । नारायणी नदीको छेउमा रहेको व्यस्त नारायणगढ व्यावसायिक हिसाबले प्रमुख बजार मानिन्छ । पार्किङ र फुटपाथ पसलले कुरुप बनेको नारायणगढ बजार अब व्यवस्थित बन्दैछ।

नारायणगढ बजारलाई अव्यवस्थित बनाएको पार्किङको समस्या, फुटपाथ पसल व्यवस्थापन र ढल निकासलाई गरेर बजार राम्रो र व्यवस्थित बनाउने काम थालिएको छ । नारायणगढलाई व्यवस्थित बनाउन भरतपुर महानगरपालिकाले जेठ २१ गतेदेखि बजार क्षेत्रमा मुख्य सडकको पाँच सय मिटर दायाँबायाँ ठेला वा फुटपाथमा व्यापार गर्न नपाउने नियम बनाएर लागू गरेको छ।

महानगरपालिकाले नारायणगढ र भरतपुर बजारको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीलाई हट्न १५ दिने सूचना जारी गरेर नियम लागू गरेको हो । नगरपालिकाले कडाइका साथ नियम कार्यान्वयन गरेपछि बजार क्षेत्रको फुटपाथमा हुने व्यापार बन्द भएको छ । यसअघि पनि वर्षौदेखि समय समयमा नारायणगढ र भरतपुरको प्रमुख बजार क्षेत्र रहेको फुटपाथ व्यवसायलाई हटाउने कार्य हुँदै आएको थियो ।

भरतपुर महानगर हुनुअघि र भएपछि पनि फुटपाथ हटाउन पटक–पटक मिति तोकिएको थियो । नगर प्रहरी लगाएर व्यवसायीलाई हटाउने गरेपनि केही समयमा व्यवसायीहरु फुटपाथमा आउने गरेका थिए । नगर प्रहरी जाँदा फुटपाथ पसल हट्ने र नगर प्रहरी फर्केपछि फेरी बस्ने हुँदै आएको थियो । धेरै वर्षको प्रयासपछि मात्र बजारमा हुने फुटपाथ व्यवसायलाई हटाउन सकिएको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरे बताउँछन्।

‘बजारमा फुटपाथ व्यापार हटाउनु ठूलो चुनौती बनेको थियो,’ उनले भने, ‘फुटपाथ व्यवसायीसँगको छलफलमा विकल्प दिएर समाधानको प्रयास गरिएको हो ।’ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई व्यवसाय गर्ने स्थानको व्यवस्था गर्न बालकुमारी कन्या माविको ६ कट्ठा जग्गा पाँच वर्षका लागि लिजमा लिएको छ । जहाँ एक सय ७० व्यवसायीले व्यापार गर्न थालेका छन् । फुटपाथबाट हटाइएका सबै व्यवसायीलाई व्यापार गर्ने स्थानको व्यवस्था गर्न सकिएको छैन ।

बजार क्षेत्र नजिक खाली स्थान पाउन नसक्दा सबैलाई समेट्न नसकिएको वरिष्ठ इन्जिनियर घिमिरेले बताए । फुटपाथबाट हटाइएका तीन सयभन्दा बढी व्यवसायीमध्ये बाँकीका लागि वैकल्पिक स्थानको खोजी गरिरहेको उनी बताउँछन् । बजार क्षेत्रको अर्को प्रमुख समस्याको रुपमा रहेको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न कैलाश पेट्रोल पम्प पछाडि र गणेश हल पछाडि दुई ठाउँमा साना सवारी साधन पार्किङ स्थल बनाइएको छ । तीन स्थानमा तीन सयभन्दा बढी सवारी साधान पार्क गर्ने सुविधा रहेको घिमिरेले जानकारी दिए।

फुटपाथको पसल र सडकमा गरिने साना सवारीसाधनको पार्किङ हटाएपनि अहिले फुटपाथमा मोटरसाइकल पार्किङ गर्ने क्रम बढेको छ । नारायणगढ बजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था धेरै रहेकाले पनि साना गाडी सडकमा पार्किङ गर्नबाट हटाइए पनि मोटरसाइकलको पार्किङले फुटपाथ अव्यवस्थित बनाएको वरिष्ठ इन्जिनियर घिमिरे बताउँछन् ।

बैंक, तथा वित्तिय संस्थालाई पार्किङको सुविधासहितका स्थानमा सर्न महानगरपालिकाले अनुरोधसहित पत्राचार गरेको उनले जानकारी दिए । मोटरसाइकल पार्किङ गर्नका लागि राजमार्गसँग जोडिएका भित्री सडकको एक किनारामा एक लाइन पार्किङ गर्ने गरिएको छ । त्यति स्थानमा मात्र पार्किङ गर्दा मोटरसाइकल नअटाउने गरेकाले निश्चित ठाउँमा मार्किङ गरेर मोटरसाइकल पार्किङ क्षेत्र बनाउन छलफल भइरहेको उनले बताए ।

महानगरपालिकाले फुटपाथमा राखिएका टायलहरु मिलाएर राख्ने र सुधार गरेर फुटपाथलाई व्यवस्थित गर्ने काम आउने आर्थिक वर्षमा गर्ने तयारीसमेत गरेको छ । वर्षात्को पानी निकास नहुँदा बजार क्षेत्रमा ढल प्रमुख समस्याको रुपमा रहेको पाइन्छ । ठूलो पानी पर्दा बाटोमा पानी जमेर ताल पर्छ ।

त्यसको समाधानका लागि ड्रेन सफा गर्न मिनी स्काभेटर किन्ने तयारी महानगरले गरेको छ । २८ लाख ५० हजार लागतमा किन्न लागिएको स्काभेटर असार महिनाभित्र महानगरमा आइपुग्ने वरिष्ठ इन्जिनियर घिमिरले जानकारी दिए । ढल सफा गर्ने कामदार सजिलै नपाउने भएकाले महानगरले स्काभेटर किन्न लागेको उनी बताउँछन्।


महानगरपालिकाको दोस्रो नगरसभाले बजार व्यवस्थित गर्न र सर्वसाधारणलाई बाटो काट्न सजिलो होस् भनेर आकाशे पुल बनाउने कार्यक्रमसमेत प्रस्तुत गरेको छ । सोही अनुसार नारायाणगढ बजारको लायन्स चोक, सहिद चोक र पुल्चोक तथा भरतपुर हाइटको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल चोकमध्ये तीन स्थानमा आकाशे पुल बनाइने छ । बजार क्षेत्र व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापन गर्न जिल्लाका सरकारी कार्यालय र निजी क्षेत्रसँग समन्वय गरिएको वरिष्ठ इन्जिनियर घिमिरेले बताए ।
 

प्रकाशित: २२ असार २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App