११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा तलमाथि गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत पैसा सर्वसाधारणको हुने भएकोले पनि तलमाथि गर्न नहुने उनको भनाइ थियो।

‘जनताको पैसा तलमाथि हुने अवस्था आए नियमनकारी निकाय हेरेर बस्दैन,’ मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको मर्जरपछि एकीकृत कारोबार थालनी गर्न आयोजित कार्यक्रममा गभर्नर नेपालले भने, ‘जनताको पैसा गलत ठाउँमा लगानी नगर्नुस् ।’

लगानी गरिसकेपछि प्रतिफल खोज्नु स्वाभाविक भए पनि नाफा कमाउने नाममा जथाभावी लगानी गर्नेलाई कारबाही गर्दै आएको र आगामी दिनमा पनि कारबाही गर्ने उनले प्रस्ट पारे ।‘लगानी गरिसकेपछि जसले पनि प्रतिफल हेर्छ, त्यो स्वाभाविक हो । तर बैंकिङ त्यस्तो क्षेत्र हो जहाँ अरु क्षेत्रमा जस्तो प्रतिफल हेर्ने होइन,’ उनले भने, ‘नाफा मात्रै कमाउने हो भने त किराना पसल खोल्ने, उद्योग खोल्ने, व्यापार गर्ने काम गर्नुस् ।’

गभर्नर नेपालले राष्ट्र बैंकले दिएको निर्देशन नमान्ने बैंकलाई कारबाही गर्ने दोहोर्याउँदै थपे, ‘धेरै बैंकरहरुले नसुनेको जस्तो पनि लागिरहेको छ । केही बैंकका मानिसहरु माथि पुग्नुभएछ । माथि पुगेर पनि केही हुनेवाला छैन । सेन्ट्रल बैंकले कारबाही गरेपछि ग¥यो ग¥यो । तपाईंहरु पनि त्यसरी कारबाही गर्नुपर्ने अवस्थामा नपुग्नुस् ।’बैंकहरुले जथाभावी लगानी गरेका कारण निक्षेपको भन्दा ऋण बढेको पनि गभर्नर नेपालले बताए । ‘१३ प्रतिशतले निक्षेप बढ्दा १८ प्रतिशतले कर्जा बढ्न पुग्यो,’ उनले भने, ‘सर्वसाधारण (पब्लिक) को पैसा सञ्चालनका लागि राष्ट्र बैंकले बैंकहरुलाई ८–१० प्रतिशत पैसा संस्थापक (प्रमोटर)को राखेर बाँकी पैसा बजारबाट उठाउनुस् भनेको हो । यसको अर्थ उठेको पैसा मेरै हो, मैले जे पनि गर्न पाउनुपर्छ भन्ने होइन ।’

बैंक सञ्चालकले व्यवस्थापनलाई जथाभावी लगानी गर्न दबाब दिँदै आएको चर्चामा गभर्नर नेपालले कडा निर्देशन दिँदै भने, ‘बैंंकका सञ्चालक समिति सदस्यहरुले व्यवस्थापनलाई दबाब नदिनु होला । फलानोलाई ऋण दिनू र मलाई यति नाफा चाहियो भनेर नभन्नुहोला, किनकि बैंकका सञ्चालकलाई कारबाही गर्ने अधिकार पनि हामीसँग छ। ’
उनले बैंक व्यवस्थापन र सञ्चालकलाई नाफा मात्र नहेर्न आग्रह गरे । ‘बैंकमा गरेको लगानी नाफाका लागि होइन, आर्थिक विकासमा सघाउन पनि हो,’ गभर्नर नेपालले भने, ‘बैंक तथा वित्तीय संस्था भनेका आर्थिक वृद्धिदरका आधार र महत्वपूर्ण औजार हुन् । यिनले गरेको लगानीले आयात प्रतिस्थापन, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गराउने प्रयोजनमा सघाउनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्तव्य भनेकै मुलुकको आर्थिक विकासमा सहयोग गर्नु हो ।’

गत वर्ष सात प्रतिशतभन्दा बढी अािर्थक वृद्धिदर हासिल भयो । यसपालि करिब ६ प्रतिशत वृद्धि हुँदैछ । आगामी आर्थिक वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा गरिएको पनि उनले बताए।‘अहिलेको स्थिति भनेको देशको अािर्थक विकासका लागि राम्रो समय हो । राजनीतिक स्थायित्व छ, एक वर्षपछि अर्काे प्रधानमन्त्री आउलान् भन्ने छैन । राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउँछ,’ उनले भने, ‘ विदेशी लगानी भारतमा भन्दा धेरै चीनमा किन गइरहेको छ ? किनभने त्यहाँ राजनीतिक स्थायित्व छ । भारत प्रजातान्त्रिक मुलुक भए पनि राजनीतिक र नीतिगत स्थायित्वको अभावमा त्यहाँ विदेशी लगानीकर्ताको खासै आकर्षण देखिएको छैन । नेपालमा पनि अब नीतिगत स्थायित्व आउँछ, जसले विकास र समृद्धिको यात्रा तय गर्न सघाउँछ ।’

गभर्नर नेपालले विगतमा विश्वमा आर्थिक संकट आउँदा सरकाले नै बचाउ गरेको प्रस्ट पारे । ‘सन् २००८ को संकट होस् वा १९८५ तिर स्केन्डेभियन मुलुकमा भएको होस् वा पूर्वी जर्मनीकै आर्थिक मन्दी किन नहोस् । निजी तथा सरकारी बैंकहरु अप्ठेरोमा पर्दा सरकारले नै उद्धार गरेर सञ्चालन गरेको थियो ।

किनकि त्यहाँ सर्वसाधारणको पैसा जम्मा गरिएको हुन्छ,’ उनले भने, ‘सर्वसाधारणको पैसा नडुबोस् भन्ने हाम्रो ध्येय हो । कतिपय ठाउँमा आएको पैसा सबै मेरै हो भनेर बाँडीचुँडी गरेको पनि देखियो । त्यस्ता व्यक्ति र संस्थालाई कारबाही भइरहेको छ । नियामक निकायले छाड्नेवाला छैन, हामी कारबाही गरेरै छाड्छौं।’गभर्नर नेपालले पैसा कमाउने उद्देश्यले बैंक नखोल्न पनि सुझाए । ‘बैंक खोल्न पैसा कमाउनु छ, अर्बपति, खर्बपति बन्नुछ भने व्यक्तिगत रुपमा आफ्नो व्यवसाय चलाएर कमाउनुस् । तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई जोखिममा नपुर्याउनुहोस्, बढी नाफा चाहिएको छ भने उनीहरु (बैंक सञ्चालक) ले आफ्नै व्यवसाय गरे हुन्छ।’

चुक्ता पुँजी बढाउने निर्णय गर्दा बैंक सञ्चालकहरु आत्तिएको, पसिना छाडेको स्मरण गर्दै उनले भने, ‘म ५० पटक त संसदिय समितिमा बयान दिन पुगें । आखिर सबैले पुँजी पु¥याएरै छाडे । आज बैंकहरुको फाउन्डेसन बलियो भएको छ । समस्यामै रहेका बैंकहरुले पनि पुँजी पु¥याएर सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् ।’
पुँजी वृद्धि गर्ने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनमा गएको उनले बताए । ‘एक सय ६० वटा संस्था मर्जर भएर ४१ वटा बनेका छन्,’ उनले भने, ‘नेटवर्थ पनि बढ्यो, पुँजीको क्षमता पनि बढ्यो र लगानीको क्षमता पनि बढेको छ ।’कमसल धितोमा कर्जा दिएर क्षणिक फाइदा नहेर्न पनि बैंकरलाई सुझाए । ‘यसले बैंकलाई दीर्घकालीन असर गर्छ,’ उनले भने, ‘संस्थापक (प्रमोटर)ले पनि अब मलाई धेरै नाफा चाहियो भन्ने होइन, हाम्रो पैसा कहाँ लगानी गरिएको छ ? भनेर प्रश्न गर्नुस्।’

उक्त अवसरमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीले मर्जरपछि मेगा ठूलो बैंक बनेको बताइन् । मेगा बैंकको चुक्ता पुँजी नौ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकको भविष्य उज्वल भएको भन्दै आगामी दिनमा अझै नयाँ उचाइमा पुग्ने बताए ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले ऋण लगानीमा बैंक सञ्चालकले कहीँ कतै स्वार्थ राख्न नहुने बताए । उनले कमचारी भर्ना स्वतन्त्र प्रतिस्पर्धाबाट गर्न पनि सुझाए।

प्रकाशित: ३१ वैशाख २०७५ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App