१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर घाटामा सरकारलार्इ गाली नगराैं

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गरेर कमाएको नाफा सरकारलाई नदिने, नोक्सान भयो भने त्यही सरकारलाई धारेहात लगाउने बानी बदल्न आग्रह गरेका छन्।नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको दुईदिने धितोपत्र बजार प्रदर्शनीको उद्घाटन सत्रमा उनले सेयरमा घाटा खाँदा सरकारलाई धारेहात नलगाउन आग्रह गरेका हुन।

सेयर बजारमा लगानी गर्नेले नाफा–नोक्सान सहन सक्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए । ‘नाफा भयो भने आफू खाने, घाटा भयो भने हामी (सरकार) तिर धारे हात नलगाउनु होला,’ उनले भने, ‘हामीले बिगार्ने काम कहिल्यै गर्दैनौं ।’ सरकारको काम धितोपत्रको स्वस्थ, व्यवस्थित र पारदर्शी विकास गर्ने भएको पनि अर्थमन्त्री खतिवडाले प्रस्ट पारे।

सरकारको काम लगानीको वातावरण बनाइदिने मात्र भएको पनि उनले बताए । ‘बजारलाई स्वस्थ र स्थिर ढंगले अघि बढाउन सघाउने हो । कतिमा सेयर किन्ने, कतिमा बेच्ने भन्ने कुरा तपाईंहरुकै हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘लगानी गर्ने बेला मलाई सोधेर गर्नुभएको थियो र ? अनि नाफा कमाउँदा पनि मलाई त बाँड्नु हुन्न र बाँड्ने कुरा पनि भएन् । घाटा भएको दिन चाहिँ मतिर किन फर्कनु ? यस्तो दोहोरो मापदण्डका कुरा नगर्नुहोला ।’

सेयर बजारबाट नाफा र घाटा दुवै सम्भावना भएको पनि उनले बताए । ‘धेरै नाफा लिन चाहनेले धेरै जोखिम मोल्न पनि तयार हुनुपर्छ,’ उनले भने, ‘नाफा धेरै खोज्नेले घाटा सहन पनि तयार हुनुपर्छ । नाफा पनि आफैं खाने हो, जोखिम पनि आफैं बेहोर्ने हो ।’अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्दा हुने फाइदा र बेफाइदाबारे प्रस्ट पार्दै भने, ‘मेरो एकजना साथीले जागिर छाडेपछि सञ्चय कोषबाट सबै पैसा झिकेर सेयरमा लगानी गर्नुभएछ, मसँग आएर म त डुबेँ भन्नुभयो । मैले उत्तर दिएँ, मैले पनि जागिर छाडेको हुँ, मैले पैसा बैंकमा राखेको छु र म सुरक्षित छु । मलाई थोरै मुनाफाले पुग्ने भएकाले मैले सेयर बजारमा लगानी गरिन । मेरो साथीले सेयर बजारमा भोलि नै दोब्बर हुने ठानेर जोखिम लिनुभयो ।’

अर्थमन्त्री खतिवडाले हल्लाको भरमा सेयर बजारमा लगानी नगर्न पनि सुझाए । ‘भेडालाई अघि राख्नुस् । डोरीले बाँधेर उफ्रन लगाउनुस् । त्यसपछि डोरी झिक्नुस, तर अरु सबै भेडा धमाधम उफ्रन थाल्नेछन् । अघिल्लो भेडाले जे गरेको थियो बाँकी सबैले त्यही गर्छन् ।

डोरी छैन भन्ने ख्यालै गर्दैनन्,’ उनले भने, ‘यो मनोविज्ञानबाट सेयरमा लगानी नगर्नुस् । डोरी छ कि छैन भनेर लगानीकर्ता आफैंले हेर्नुस्, अर्काको डोरीका भरमा उफ्रेर लगानी गर्न थाल्नुभयो भने बजार कस्तो होला ? तपाईंको लगानी के होला ?’ सेयर बजार जोखिमको व्यवसाय भएको पनि अर्थमन्त्री खतिवडाले बताए।नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सेयर बजार जुवा घर नभएको बताए । ‘जुवा घरको मान्यताले सेयरमा लगानी नगर्नुस्,’ उनले भने, ‘कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुस्।’

प्रकाशित: २७ वैशाख २०७५ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App