१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

भेरी–बबईमा प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ।तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत– नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्बर ६) देखि टिबिएम प्रयोग गरिएको थियो।

‘सोमबार राति १२ बजेसम्म टिबिएमले चार किलोमिटर सुरुङ पूरा गरेको छ,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रुक्मांगद खनालले भने, ‘लक्ष्यअनुसार काम भइराखेकाले तोकिएकै समयमा सुरुङ निर्माणको काम सम्पन्न हुन्छ ।’ करिब एक महिनाको जडानपछि मेसिनले ६ नोभेम्बरदेखि सुरुङ खन्न थालेको थियो । अवरोधबिनै लक्ष्यअनुसार मेसिनले सुरुङ खनिरहेकाले आयोजना पक्ष उत्साही छ।

आयोजनाले सन् २०२० को मार्चसम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे लक्षित समयमै काम सम्पन्न गर्छाैं,’ सिडिई खनालले भने, ‘टिबिएम जडान, परीक्षण र अहिलेसम्मको कामबाट हामी उत्साही छौं।’आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले गरिरहेको छ ।

भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि  भेरीगंगा–१ को हात्तीखालमा खसालेर विद्युत् उत्पादनका साथै सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो । भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्र १२ किलोमिटर सुरुङ खन्ने काम अहिले भइरहेको छ । आयोजना सम्पन्न भएपछि ४८ मेगावाट विद्युत्् उत्पादन हुनुका साथै प्रदेश ५ का दुई जिल्ला बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ।

नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङद्वारा सुरुङ खन्ने प्रचलन थियो । टिबिएम नेपालमा पहिलोपटक भेरी–बबई आयोजनाका लागि प्रयोग गरिएको हो । आयोजनाले टिबिएममार्फत दैनिक १८ घन्टा काम गरिरहेको छ ।संवेदनशील भूगोलका कारण ड्रिलिङ र ब्लास्टिङबाट सुरुङ खन्न सम्भव नदेखिएपछि सिँचाइ विभागले टिबिएम खरिद गर्ने निर्णय गरेको थियो ।

अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो । टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झन्डै पाँच सय नेपाली कामदार खटिएका छन् । सुरुङको लम्बाइ र चौडाइ ५.६ मिटर छ । टिबिएमले सुरुङ खनेसँगै पछाडिबाट सेगमेन्ट राख्ने काम पनि भइरहेको छ । अहिले दैनिक ८० सेग्मेन्ट प्रयोग भइरहेको छ । टिबिएमले सुरुङ खन्दा जम्मा भएको माटो बाहिर ल्याउन मोनो रेल प्रयोग गरिएको छ।

१२ किलोमिटर सुरुङका लागि ३६ हजार सेगमेन्ट आवश्यक पर्छ । ‘टिबिएममार्फत सुरुङ खन्ने काम र सेगमेन्ट उत्पादन गर्ने काम सँगसँगै अघि बढाइरहेका छौं,’ उनले भने, ‘सेगमेन्टका कारण सुरुङ खन्न रोकिने अवस्था छैन ।’ सुरुङ निर्माणपछि भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाइने छ । पानी आपूर्तिका दृष्टिकोणले भेरी नदीलाई प्राविधिकले उपयुक्त मान्दै आएका छन् । सिँचाइ मन्त्रालयले सात वर्षअघि नै भेरी–बबई आयोजना सुरु गर्ने प्रयास गरे पनि सुरुङ खन्ने उपाय फेला नपर्दा आयोजना निर्माणमा ढिलाइ भएको थियो।

आयोजनामा तालाबन्दी
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा मंगलबार स्थानीय र मजदुरले तालाबन्दी गरेका छन् ।

स्थानीयले सडक, विद्युत्, सिँचाइ, खानेपानीलगायत माग राखेका छन् । आयोजनामा कार्यरत कामदारले आफूहरुमाथि विभेद गरेको आरोप लगाएका छन् ।‘आयोजनाले विभिन्न बहाना बनाएर नेपाली कामदारलाई निकाल्नेलगायत काम गरेकाले तालाबन्दी गर्नुपरेको हो,’ मजदुर युनियनका अध्यक्ष प्रेम महताराले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म तालाबन्दीलाई निरन्तरता दिन्छौं ।’स्थानीयले प्रभावित क्षेत्रमा विकासका आधारभूत आवश्यकता आयोजनाले पूरा नगरेको आरोप लगाएका छन् ।

‘आयोजनाले आश्वासन मात्रै दियो, हाम्रा माग पूरा गर्नेतर्फ ध्यान दिएन,’ स्थानीय सरोकार समूहका अध्यक्ष नविन सारुले भने, ‘बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ उनले आयोजना प्रभावित क्षेत्र हात्तीखाल, गेरुवानीमा शुद्ध खानेपानी, लिफ्ट सिँचाइ, कुलो मर्मत, पिकनिक स्पटलगायत काम आयोजनाले नगरेको बताए । ‘पहिले प्रतिबद्धता जनाएका काम पनि आयोजनाले नगरेपछि तालाबन्दी गर्नुपरेको हो,’ उनले भने, ‘अझै हाम्रा माग सुनुवाइ नभए कामै ठप्प पार्छौं।’

भेरी–बबई डाइभर्सन आयोजनाका प्रकाश पुडासैनीले स्थानीयको मागअनुसार काम भइरहेको बताए । उनले हात्तीखालका स्थानीयले विभिन्न मितिमा २४ वटा माग राखेकोमा १० वटा सम्बोधन भइसकेको बताए।

‘बाँकी १४ मध्ये १० वटा माग कार्यान्वयनको चरणमा छन्, चारवटा अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको हो,’ उनले भने, ‘फेरि के कारणले तालाबन्दी भयो हामी अन्योलमा छौं ।’ उनले गेरुवानीका स्थानीयले राखेका १९ मध्ये तीनवटा माग सम्बोधन भएको र १० वटा कार्यान्वयनको चरणमा रहेको बताए ।‘स्थानीयकै मागअनुसार घरघरमा इनार खन्नेदेखि सिँचाइका लागि लिफ्ट प्रविधिको प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘सबै माग एकैपटक सम्बोधन गर्न सम्भव पनि छैन ।’

 

 

प्रकाशित: २० वैशाख २०७५ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App