३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुर–खोटाङ जोड्ने फोक्सिन्टारमा बेलिब्रिज निर्माण हुँदै

फोक्सिन्टारमा बाढीले भत्काएको पक्की पुल

गएको वर्ष बाढीले भत्काएको फोक्सिन्टारको सुन नदीमाथिको पक्की पुल पुनःनिर्माण नभएसम्म यातायात पुनर्सञ्चालनका लागि बेलिब्रिज जडान गर्न प्रक्रिया सुरु भएको छ।

उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिकाबीच गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गमा पर्ने यो पुल गत असोज ११ मा बाढीले भत्काएपछि यातायात अवरुद्ध भएको थियो। दुई वर्षअघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको यो पुल निर्माणको अन्तिम काम बाँकी रहँदै बाढीले बगाएको हो।

गाईघाट–दिक्तेल सडक योजनाले पुल भत्किएपछि वैकल्पिक समाधानस्वरूप बेलिब्रिज निर्माण गर्न मंसिर सुरुमा ठेक्का आह्वान गरिसकेको छ। डिई पशुपति ज्ञवालीका अनुसार, ठेक्का सम्झौता पुसको दोस्रो सातासम्म गरिसकेपछि तुरुन्तै निर्माण थालिनेछ। बेलिब्रिजका सामान पुरानै अवस्थामा भएकाले निर्माण कार्य छिटो सम्पन्न हुने अपेक्षा छ।

११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ९ वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेको डिई ज्ञवालीले बताए।

पुल भत्किएपछि फोक्सिन्टारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङ्गे पुल प्रयोग गर्नुपरेको छ। खोटाङ उद्योग वाणिज्य संघका अनुसार, उपभोग्य वस्तु ओसारपसार गर्न झोलुङ्गे पुलले समस्या झन् बढाएको छ।

फोक्सिन्टारमा झोलुङ्गे पुलको विकल्प नहुँदा २५ किलोमिटर तल त्रियुगा नगरपालिका–१४ धाब्लाङ र १० किलोमिटर माथि रसुवामा रहेका झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ। यातायात साधन रसुवामा रोकिएपछि यात्रुहरूले झोलुङ्गे पुल तारेर गाडी चढ्नुपर्ने अवस्था छ।

पुल सेक्टर इटहरीका सूचना अधिकारी इञ्जिनियर आविष्कार तिम्सिनाका अनुसार, पुल निर्माणमा ढिलाइ हुनुका साथै एप्रोच सडक निर्माण अधुरो हुँदा बाढीले पुल भत्काएको हो। नियमानुसार, ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म मर्मतसम्भारको जिम्मा लिनुपर्छ। तर, यो प्रकरणलाई दैवी प्रकोपको रूपमा केलाउनुपर्ने सडक विभागको धारणा रहेको उनले बताए।

प्रकाशित: २९ मंसिर २०८१ २०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App