१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

बाह्य पर्यटकलाई पटके चेकिङको हैरानी

सास्ती हटाउँदै लुम्बिनी सरकार

केही समय अघि भैरहवा नाका हुँदै भारतका एक पर्यटक मोटरसाइकल मार्फत प्युठान स्थित स्वर्गद्वारी मन्दिरको दर्शनका लागि नेपाल भित्रिए। भैरहवा नाका हुँदै नेपाल भित्रिएका ती पर्यटकलाई प्युठान सम्म पुग्न साह्रै सकस भयो। सकसको कारण थियो – ठाउँमा ठाउँमा भएको अनावश्यक प्रहरी चेकिङ।

चेकिङको सकस मात्रै हैन, चेकिङ भएका स्थानमा विभिन्न बहानामा रकम बुझाउनु परेको सकस भोगेका ती पर्यटकले भारत फर्किँदा एउटा प्रण: गरे – अब कहिल्यै नेपाल घुम्न आउँदैन। ‘एक जना पर्यटक प्युठान सम्म पुग्दा कति पटक चेकिङमा पर्ने? र कति स्थानमा रकम बुझाउने?’ ती पर्यटकको गुनासो सुनेका लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकहरूलाई यो खालको सास्ती दिएपछि कसरी आउँछन् यहाँ पर्यटकहरू घुम्न?’

भैरहवा हुँदै प्युठानको स्वर्गद्वारी पुगेका यी पर्यटक मात्रै हैनन्, हरेक नाकाबाट भित्रने भारतीय पर्यटकहरूले प्रहरीको चेकिङ सास्तीको व्यापक गुनासो गर्दै आएका छन्। भारतीय गाडी देख्ना साथ ठाउँ ठाउँमा रोकेर सास्ती दिने गरिएको भन्दै भारतीय पर्यटकहरूले नेपाल घुम्न सकस मानिरहेको उनीहरूको गुनासोले पुष्टि गर्छ।

लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्धनलाई नै प्रदेशको समृद्धिको पहिलो आधारमा रुपमा उल्लेख गरेको छ। यसर्थ प्रदेश सरकारले प्रदेशमा पर्यटकको आगमनलाई जति सक्यो धेरै बढाउने योजना बनाएको छ। तर संघीय सरकार मातहतका संयन्त्र भने यसको बाधक बन्दै आएका छन्।

पर्यटकहरूलाई सहज रुपमा आगमन हुन दिनुको साटो संघीय सरकार मातहतको प्रहरीले उनै बाह्य पर्यटकलाई अनावश्यक झन्झट दिने गरेको भन्दै तीव्र आलोचना भइरहेको छ। ‘लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार भनेकै यहाँको पर्यटन क्षेत्र हो,’ मन्त्री न्यौपानेले भने ‘तर पर्यटकहरूलाई दिने गरिएको अनावश्यक सास्तीका कारण प्रदेश सरकारको पर्यटन विकासको लक्ष्य माथि चुनौती बन्दै गएको छ।’

पर्यटकहरूलाई सास्ती बढ्न थालेपछि मन्त्रालयले पर्यटकको सहज आगमनको प्रयास थालनी गरेको छ। नाकाबाट नेपाल प्रवेश गरेपछि विभिन्न स्थानमा हुँदै आएको अनावश्यक चेकिङ हटाउनका लागि आवश्यक समन्वयको काम भइरहेको मन्त्री न्यौपानेले जानकारी दिए। ‘पर्यटकहरूलाई अनावश्यक झन्झट दिने गलत कामलाई हटाउनका लागि हामीले आवश्यक समन्वय गरिरहेका छौँ,’ मन्त्री न्यौपानेले भने ‘हाम्रो प्रदेशमा प्रवेश गर्ने कुनै पनि बाह्य पर्यटकहरूलाई सास्ती दिने काम नहोओस् भन्नेमा हामी सचेत छौँ।’

हरेक नाकाबाट आगमन हुने पर्यटकहरूलाई स्टिकरको व्यवस्थापन गर्ने गरी पटके चेकजाँचको अन्त्य गर्ने तयारी मन्त्रालयले गरेको छ। मन्त्रालयका अनुसार नाका प्रवेश गर्ने पर्यटकका गाडीमा चेकिङ गरेपछि पहेँलो स्टिकर दिइने र सोही स्टिकरका आधारमा पटके चेकजाँच नहुने गरी व्यवस्था मिलाइने छ। यसका लागि प्रहरी तथा स्थानीय प्रशासनसँग संवादको तयारी थालिएको मन्त्री न्यौपानेले जानकारी दिए। ‘कुनै पनि नाकाबाट बाह्य पर्यटक भित्रिएको अवस्थामा नाकामै चेकजाँच गरेर गाडीमा स्टिकर दिने व्यवस्थापन गर्ने योजनामा मन्त्रालय छ,’ मन्त्री न्यौपानेले भने ‘त्यो स्टिकर देखाएपछि पर्यटक चढेको गाडीलाई ठाउँ ठाउँमा चेक नगर्ने वातावरण निर्माणको प्रयासमा हामी लागेका छौँ।’

मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन परिषद्का अनुसार नाका भित्रने गाडीमा स्टिकरको व्यवस्थापन गरेपछि प्रदेश भित्र उक्त स्टिकरका आधारमा कुनै पनि स्थानमा चेकजाँच नगर्ने गरी प्रहरी प्रशासन सँग गृहकार्यको तयारी भइरहेको छ। परिषद्का कार्यकारी निर्देशक रामु जोशीले विदेशी पर्यटकहरूलाई सहज रुपमा प्रदेशका पर्यटकीय स्थलहरू घुम्न सहज वातावरण निर्माण गर्नका लागि तत्काल लुम्बिनी प्रदेश प्रहरी प्रमुख, तथा प्रमुख जिल्ला अधिकारीहरुसंग निर्णायक छलफलको तयारी भइरहेको बताए।

‘एक पटक चेकजाँच गरिसकेको गाडीलाई स्टिकर उपलब्ध गराएपछि अन्य स्थानमा चेकजाँच नगर्ने गरी निर्णय गर्न प्रदेश प्रहरी प्रमुख, तथा प्रमुख जिल्ला अधिकारीहरुसंग हामी तत्काल छलफल गर्छौँ,’ परिषद्का कार्यकारी निर्देशक जोशीले भने ‘छलफलबाट स्टिकर व्यवस्थापनको निर्णय हुन सक्यो भने बाह्य पर्यटकहरूलाई प्रदेशका पर्यटकीय स्थलहरू सम्म पुग्नका लागि धेरै सहज हुने थियो।’ उनका अनुसार नाका क्षेत्रका प्रहरीले यो स्टिकर टाँसको व्यवस्थापन गर्ने गरी छलफल गरिने भएको छ। 

प्रकाशित: २७ कार्तिक २०८१ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App