१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

उपभोक्ताको गुनासोः महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ

दसैँँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ। काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ। तर, व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन्। उनीहरु बजारलाई दसैँँ नलागेको बताइरहेका छन्।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ। तर, उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे।

हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता, चप्पल, कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए। असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दसैँका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोचभन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन्।

व्यवसायी तथा व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहँुच भन्दा महँगो भएको स्वीकार गरेका छन्। काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए।

उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताए। उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए।

पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उनले उल्लेख गरे। उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए। उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताए।

उनले मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए। उनले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको बताए।

काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाइ पनि त्यस्तै रहेको छ। उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन्।

उनले दसैँ नेपालीहरुको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन्।

त्यस्तै काठमाडौंको वसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेढाईंले पनि सामान्य समयकोभन्दा दसैँमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन्। उनले काठमाडौंका अन्य बजारभन्दा असनमा सस्तो रहेको बताइन्।

उनले मानिसहरुकोे केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दसैँ कुर्नुपर्ने अवस्था नभएको बताइन्। त्यस्तै, सुमित्रा सेढाईंले दसैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन्।

भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिइन्। उनले विगतकोभन्दा अहिले सस्तोमा सामान पाउन थालेको बताइन्। उनले एक हजार रुपैयाँभन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन्।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए। उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ।  

प्रकाशित: १८ आश्विन २०८१ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App