१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

सगरमाथा आधार शिविरको पदयात्रामा जान लुक्लासम्मको उडान गरेपछि मात्र पदयात्रा सुरु हुन्छ। लुक्ला पुग्नका लागि काठमाडौं–लुक्ला हवाई उडान, काठमाडौं–मन्थली गाडीको यात्रापछि मन्थलीबाट लुक्लासम्मको हवाई यात्रा गर्नुपर्छ। यसबाहेक हेलिकप्टरबाट पनि लुक्ला पुग्न सक्ने विकल्प छन्।

पछिल्लो समय विपी राजमार्ग हुँदै मन्थली जाने बाटोमा गएको पहिरोले खुकोर्टस्थित पुल भत्काएको हुँदा मन्थली पुगेर लुक्लासम्मको हवाई उडान गर्ने पर्यटकलाई समस्या परेको छ। काठमाडौंदेखि लुक्लासम्मको हवाई उडानमा मौसम र बाढी पहिरोले निम्त्याएको समस्याले अहिले सगरमाथा आधार शिविर जान चाहने धेरै विदेशी पर्यटक काठमाडौंमै रोकिन बाध्य छन्।

मुख्य पर्यटकीय याममा सगरमाथा आधार शिविरसम्म जान काठमाडौंबाट लुक्ला जाने हवाई उडानले मात्र नपुग्ने हुदाँ पर्यटक मन्थली पुगेर त्यहाँबाट लुक्लासम्मको हवाई यात्रा गर्छन्। सबै यात्रुहरूलाई काठमाडौंबाट जाने जहाजमा सिट नपुग्दा र लुक्लाको मौसमले गर्दा पनि काठमाडौंबाट लुक्लासम्म गरिने हवाई तालिकाले अपुग हुने गरेकोछ। यही कारण पर्यटक मन्थलीसम्म गाडीमा गएर त्यहाँबाट लुक्लासम्मको हवाईयात्रा गर्छन्। 

उच्च हिमाली भेगमा पथप्रदर्शकको काम गर्दै आएका फुर्वा शेर्पाका अनुसार सिजनमा सगरमाथा आधार शिविर जाने सबै पर्यटकलाई काठमाडौं विमानस्थलबाट काठमाडौं–लुक्ला हुने हवाई तालिकाले नपुग्ने भएका कारण ट्राभल एन्ड ट्रेक एजेन्सीहरूले मन्थली हुँदै लुक्ला लाने गरेको बताए। ‘मन्थली जाने बाटो र खुर्कोटस्थित पुल भत्किएका कारण अहिले पर्यटकलाई सहजै मन्थली एयरपोर्टसम्म लान सकिरहेका छैनौं’, उनले भने, ‘मौसमको कारण काठमाडौंबाट लुक्ला जाने उडानहरू पनि उतिसारो हुन सकिरहेका छैनन्।’ उनले थपे ‘काठमाडौं विमानस्थलमा एयर ट्राफिक भएर पनि लुक्ला उडान धेरै हुँदैनन्, जसले गर्दा मन्थली विमानस्थलबाट पर्यटकलाई लुक्लासम्मको फ्लाइटमा लानुपर्छ।’

भर्खरै सगरमाथा आधार शिविर पदयात्रा गरेर आएका उनले तीन दिने झरीले सगरमाथा आधार शिविरको पदमार्गलाई खासै असर नपारे पनि विपी राजमार्गको बाटो बिग्रँदा सो रूटहुँदै जान चाहने पर्यटक प्रभावित भएका छन्।

काठमाडौंबाट मन्थली जाने बाटो बन्द भएपछि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले नयाँ सडकमार्गबाट मन्थलीसम्म जाने बाटो सम्बन्धी जानकारी दिएका थिए। टानले दिएको जानकारी अनुसार मन्थली विमानस्थलको वैकल्पिक सडक चरिकोट हुँदै जाने मार्ग हुनसक्छ।

मन्थली पुग्ने वैकल्पिक सडक मार्ग प्रयोग गर्दा समय र लागत दुबै दोब्बर हुने भएको छ। यसअघि एकै दिनमा मन्थलीदेखि काठमाडौंसम्म ‘अप–डाउन’ गर्दै आएको गाडी समय बढेसँगै मन्थलीमै बस्नुपर्ने र भोलिपल्ट मात्रै फर्किनुपर्ने भएपछि भाडा दोब्बर पुग्ने अवस्था देखिएको हो।

अहिलेको अवस्थामा मन्थली पुग्न खाडीचौर चरिकोट हुँदै जानुपर्छ। यसअघि चार घण्टामै पुग्न सकिने मन्थली यो बाटो हुँदै जाँदा कम्तीमा आठ घण्टा लाग्ने अवस्था छ। त्यो बाटोको पनि केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएकाले जनकपुरबाट उडान सुरु गरिएको थियो।

यस्तै टानले उड्डयन प्राधिकरणसँग छलफल गरेर रामेछाप विमानस्थलको विकल्प जनकपुरबाट सुरु गरेको थियो। रामेछाप विमानस्थलको विकल्पमा जनकपुरबाट सुरु भएको एभरेस्ट उडान दुई दिनमै असफल भएको छ। काठमाडौंदेखि मन्थलीसम्म जाने बाटो बिग्रिएपछि सगरमाथा आधार शिविरसम्म पुग्ने लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुरलाई विकल्प बनाउन खोजिएको थियो। पर्यटकहरूको असन्तुष्टि र असुविधाको कारण यो सम्भव नभएको टानले बताएको छ।

पर्यटकीय याममै सडकमार्ग अवरूद्ध हुँदा सगरमाथा आधार शिविर जाने पर्यटकहरू दोधारमा परेका छन्। कतिपय पर्यटकले सगरमाथा आधार शिविर जाने तालिका परिवर्तन गरेर अन्य गन्तव्यको पदयात्रामा जान लागेको ट्रेकिङ एजेन्सीहरूले बताएका छन्। 

प्रकाशित: १८ आश्विन २०८१ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App