११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

५० वर्षपछि ठूलो जहाज

सुर्खेत विमानस्थलमा बुधबार अवतरण गरेको बुद्ध एयरको ४७ सीटे जहाज।नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५० वर्षपछि ठूलो जहाज अवतरण गरिएको छ। बुद्ध एयरको नाइनएन–एनआईए कल साइनको ४७ सीटे जहाज बुधबार सुर्खेत विमानस्थलमा अवतरण गरेको हो।

बुद्धले बैशाख १ गतेदेखि कर्णाली प्रदेशलाई केन्द्रीय राजधानी काठमाडौंसँग सीधा हवाई सम्पर्क गराउने छ।सुर्खेत विमानस्थलका प्रमुख विनोददेव पन्तले २०२४ सालपछि विमानस्थलमा ठूलो जहाज अवतरण भएको बताए। ‘रनवे पर्याप्त भएपनि विमानस्थल उत्तर–दक्षिण हुँदा ठूला जहाजहरु आएका थिएनन्’ उनले भने, ‘करिव ५० वर्षपछि विमानस्थलमा ठूलो जहाजले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ।’

विमानको रनवे एक हजार दुई सय ५५ मिटर लम्वाईको छ भने ३० मिटर चौडाईको छ। उनले साना जहाजमा भाडा महंगो हुने भएकाले कर्णाली प्रदेश केन्द्रीय राजधानी र अन्य प्रदेशसँग हवाई सम्पर्कमा नरहेको बताए।

‘सुर्खेतलाई केन्द्र बनाएर सिङ्गल इन्जिनका जहाजहरु कर्णालीका पहाडी जिल्लाहरुमा कार्गोमा प्रयोग हुँदै आएका थिए’ उनले भने, ‘अब ठूला जहाजबाट काठमाडौंसहितका ठूला सहरमा सीधा हवाई सम्पर्क हुने भएको छ।बुद्धले बैशाख १ गतेदेखि सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत दैनिक एक उडान गर्ने छ। केन्द्रीय राजधानी काठमाडौंसँग सीधा हवाई सम्पर्क नहुँदा पाँच नम्बर प्रदेशको नेपालगञ्जसम्म स्थलमार्ग र त्यहाँबाट हवाई मार्ग हुँदै यहाँका यात्रुहरु काठमाडौं पुग्ने गरेका छन्।

५० वर्षपछि ठूलो जहाज सुर्खेत विमानस्थलमा अवतरण गराएका पाइलट रञ्जनकुमार शर्माले रनवे उत्तर–दक्षिण भएकाले सीधै अवतरण गर्न समस्या हुने बताए। ‘उपत्यकालाई एक फन्को लगाएर मात्रै अवतरण गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बैशाख एकदेखि ठूलो जहाज नियमित हुन्छ ।’ चार वर्षअघि पनि बुद्धले सानो जहाजमार्फत सुर्खेत–काठमाडौं उडान गरेको थियो। महंगो भाडाका कारण नियमित उडान हुन सकेन्।

‘ठूलो जहाजमा ६ हजार पाँच सय रुपियाँदेखि भाडा दर कायम गछौं’ बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले भने, ‘भाडा घटेकाले यात्रुको कमि नहुने अनुमान हामीले गरेका छौं ।’ परीक्षण उडानमा विमानका प्राविधिक, नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलगायत थिए।
स्वागत गर्न पुगे मन्त्री
करिव ५० वर्षपछि ठूलो जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेपछि प्रदेश सरकारका मन्त्रीहरु स्वागत गर्न पुगेका थिए। आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावल चालक सदस्यहरुलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।

‘दुई साताअघि काठमाडौंमा हवाई सेवा प्रदायकहरुसँगको छलफलले राम्रो नतिजा ल्यायो’ आन्तरिम मामिला मन्त्री नरेश भण्डारीले भने, ‘वर्षौपछि ठूलो जहाजमार्फत कर्णाली प्रदेश केन्द्रीय राजधानीसँग जोडिएको छ।’ उनले हवाई सेवालाई नियमित गर्न प्रदेश सरकारका तर्फबाट हुने सहयोग गरिने बताए।

आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बुद्ध एयरको सफल परीक्षणसँगै यो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। ‘कर्णाली प्रदेशको समृद्धि र विकासको आधार भनेकै पर्यटन हो’ उनले भने, ‘ठूलो जहाजको सफल परीक्षणले समृद्धि र विकासको ढोका खोलेको छ।

’उनले पर्यटन वर्षको अवसर पारेर बैशाख एक गतेदेखि बुद्धले नियमति उडान भर्ने जानकारी पनि दिए।विमान र चालक दलका सदस्यलाई स्वागत गर्न यहाँका उद्योगी, होटल व्यवसायी, पर्यटन व्यवसायीलगायत पुगेका थिए। होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले काठमाडौं–सुर्खेत नियमित उडानसँगै प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशमा पर्यटकको संख्या बढ्ने विश्वास गरे।


 

प्रकाशित: २१ चैत्र २०७४ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App