१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

भूकम्पपछि रोकिएको तातोपानी सुक्खा बन्दरगाहको निर्माण कार्य हुँदै । चीनले तीन वर्षदेखि रोकिएको निर्माण कार्य डेढ सातायता अघि बढाएको हो।तस्बिर : नागरिक

सिन्धुपाल्चोक – तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशयबीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ।

बन्दरगाह पुनर्निर्माण थालनीबाट उत्साही सरकारी अधिकारी र व्यवसायीले यसलाई नाका खोल्ने चीनको ‘ग्रिन सिग्नल’का रुपमा अनुमान गरेका छन् ।तीन वर्षअघिको विनाशकारी भूकम्पपछि बन्दरगाह निर्माण कार्य रोकिँदै आएको थियो । चीन सरकारकै सहयोगमा निर्माण थालिएको आधुनिक बन्दरगाहको झन्डै ९० प्रतिशत काम सकिएका बेला भूकम्प आएको थियो।

ठीक यही बेला चीनले ‘सुरक्षा चुनौती’ देखाउँदै नाका खोल्न आनाकानी गरेपछि तातोपानी सधैंका लागि बन्द हुने अनुमान गरिँदै आएको थियो ।‘बन्दरगाहको रोकिएको निर्माण कार्य अगाडि बढाएर चीनले नाका खोल्ने संकेत दिएको छ,’ तातोपानी भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले नागरिकसँग भने, ‘अब ढिलो–चाँडो नाका खुल्नेमा सन्देह रहेन।

’ आगामी आठ महिनाभित्र बन्दरगाह सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धतासहित चीनले डेढ सातादेखि ‘फिल्ड’ सम्हालिरहेको उनले बताए । ‘समयसीमै तोकेर त्योभित्र बन्दरगाह हस्तान्तरण गर्छौं भन्नु नाका खोल्छौं भनेको हो,’ बस्नेतले टिप्पणी गरे।

बन्दरगाह निर्माणमा संलग्न चिनियाँ कम्पनी बेजिङ रियल स्टेट गु्रपका प्रतिनिधि आवश्यक उपकरण र जनशक्तिसहित चैत ७ गते फिल्ड सम्हाल्न पुगेका थिए । ‘ठेकेदार कम्पनी छिरेपछि बन्दरगाह क्षेत्रमा धेरै काम भइसकेका छन्,’ तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले भने । मजबुत तयारी र व्यवस्थापनका साथ ठेकेदार छिरेको उनले बताए।

नाकाका व्यवसायीसमेत रहेका पौडेलका अनुसार १५ जतिको संख्यामा शक्तिशाली ट्रिपर, त्यति नै संख्यामा एस्काभेटर र अन्य मेसिनरी उपकरण बन्दरगाह क्षेत्रमा भित्रिसकेका छन् । भोटेकोसी नदीमा पुलको काम गर्ने गरी ह्युम पाइप बिछ्याएर बन्दरगाह जोडिएको छ भने नदी नियन्त्रणको कामसमेत थालनी भइसकेको छ । यसका लागि नेपाली र चिनियाँ गरी झन्डै ५० कामदार दैनिक परिचालन भइरहेका छन्।

‘कामदार र ठेकेदारका प्रतिनिधि बस्ने क्वाटर निर्माण तीव्र पारिएको छ,’ पौडेलले भने । चिनियाँ ठेकेदारका प्रतिनिधिले आफूसँगको भेटमा पनि आठ महिनाभित्र बन्दरगाह निर्माण सकेर हस्तान्तरण गरिने बताएको उनले सुनाए । ‘त्यसपछि चीन सरकारले तातोपानी–बाह्रबिसे सडक स्तरोन्नति गर्न थप चार महिनाको समय दिएको छ,’ प्रतिनिधिको भनाइ सुनाउँदै पौडेलले बताए । २०७२ को भूकम्प र लगत्तै २०७३ मा निम्तिएको भोटेकोसी बाढीले अरनिको राजमार्गको २६ किलोमिटर यो सडकखण्ड तहसनहस छ।

बन्दरगाह रहेको क्षेत्रमा भोटेकोसी बाढीले तीव्र कटान गरेको थियो । बर्खाअगावै यो क्षेत्रको नदी नियन्त्रण र बन्दरगाह जोड्ने भोटेकोसीमाथिको पक्की पुल निर्माणलाई चिनियाँ पक्षले पहिलो प्राथमिकता दिएको छ । ‘पुलको फाउन्डेसन र नदी नियन्त्रणको काम एकैसाथ भइरहेको छ,’ गाउँपालिका अध्यक्ष पौडेलले भने । यसका लागि आवश्यक पर्ने छड, सिमेन्टलगायत निर्माण सामग्री भित्र्याउने कामलाई समेत तीव्रता दिइएको छ।

चीन सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा तातोपानी–७ लार्चामा २०६९ पुसबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्दरगाह निर्माण थालिएको थियो । निर्माण थालेको दुई वर्ष ६ महिनामा सक्ने लक्ष्य नेपाल सरकारलाई दिइएको थियो।बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुल अन्तिम चरणमा पुग्न लाग्दा २०७१ असारमा आएको बाढीले बगायो । लगत्तै साउन १७ गते जुरे पहिरो गएपछि बन्दरगाहको काम नै रोकिन पुग्यो । रोकिएको काम सुरु गर्ने तयारी भइरहँदा भूकम्प निम्तिएको थियो।

त्यसअघि मुख्य संरचना निर्माणको काम झन्डै ९० प्रतिशत सकिइसकेको थियो ।बन्दरगाहको मुख्य कार्यालय, भन्सार यार्ड, क्वाटरलगायत मुख्य संरचना तयार छन्। फिनिसिङ र रंगरोगनको मात्र काम बाँकी रहेका ती संरचना भूकम्पले सामान्य चर्केको छ। चर्किएका संरचना छोटो समयमै मर्मत हुन सक्छन् ।

लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मको अरनिको राजमार्ग स्तरोन्नति, बन्दरगाहस्थलमा पुग्न भोटेकोसी नदीमा मोटरेबल पुल र बन्दरगाह निर्माण एकै प्याकेजमा सक्ने पूर्ववत लक्ष्यअनुसार ठेकेदार कम्पनी पुनर्निर्माणमा जुटेको पाइन्छ।

प्रस्तावअनुसार बन्दरगाहमा रहने भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र  आवास अधिकांश बनिसकेका छन् । गोदाम घरमा एक सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने र ६० देखि सय मेट्रिक टन सामग्री एकैपटक तौलिने यन्त्र बन्दरगाहमा रहने प्रस्ताव छ।

नाका सञ्चालनमा रहँदा तातोपानी भन्सारले दैनिक दुई करोड रुपैयाँसम्म राजस्व संकलन गथ्र्यो । उसले राज्यलाई मात्र वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँथ्यो । खाद्यन्न र नुन साटासाटबाट नाका हुँदै सुरु परम्परागत व्यापार ५० को दशकदेखि आधुनिक बन्दै जाँदा भूकम्पअघिसम्म चीनबाट वार्षिक २० अर्ब रुपैयाँ बढीको आयात हुन थालेको थियो ।
खुल्यो चिनियाँद्वार
नेपाल–चीन जोड्ने मितेरीबाट खासा प्रवेश गर्ने चिनियाँद्वार खुल्न थालेको छ । यहाँ चिनियाँ सुरक्षाकर्मी तैनाथ छन् । चिनियाँ क्षेत्रको लिपिङ र खासा बजारमा सुरक्षाकर्मी स्थानीय चहलपहल सुरु भएको छ । भूकम्पपछि चिनियाँ प्रवेशद्वार बन्द थियो । दुई वर्षअघिको भोटेकोसी बाढीले मितेर पुलको मुखमा समेत क्षति पुर्‍याएपछि त्यहाँबाट चिनियाँ सुरक्षाकर्मीसमेत हटेका थिए।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाका अनुसार चीनले खासादेखि मितेरी पुलसम्मको सडक स्तरोन्नति गरिरहेको छ । ‘नौ किलोमिटर सडक स्तरोन्नति गर्न दैनिक तीन–चार सय सुरक्षाकर्मी परिचालन भएको देख्न सकिन्छ,’ आयात व्यापारी सापकोटाले भने, ‘उनीहरु सडक सुधार गर्दै मितेरी पुलतिर झरिरहेका छन् ।’मितेरी पुलको चिनियाँ भू–भागसम्म साना तथा मझौलाखाले चिनियाँ सवारीसाधन आवतजावत हुन थालेको स्थानीय बताउँछन्।

चिनियाँ सुरक्षाकर्मी दैनिक खाद्यान्न किन्न तातोपानीसम्म आइपुग्छन् । ‘खासातिरको सडक सुधार, बन्दरगाह निर्माण थालनी नाका खोल्नकै लागि हो,’ व्यवसायी सापकोटाको विश्वास छ, ‘नत्र बन्दै रहने नाकामा चीन सरकारले किन लगानी गथ्र्यो ।’नाका बन्द रहे पनि तातोपानी भन्सार, अध्यागमन कार्यालय खुला छन् । त्यहाँ थोरै संख्यामा कर्मचारी खटिएका छन् । सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नाकामै तैनाथ छन्।

चीनले नाका खोल्ने संकेत दिँदा नेपाल सरकारको भने कुनै तयारी देखिँदैन । नाकामा भूकम्पले खसालेको पहिरो अझै पन्छाइएको छैन । राजमार्ग नै तहसनहस बनाएको भोटेकोसी नदी कटान नियन्त्रण थालिएको छैन । ‘नाका खुल्ने देखिएकाले हाम्रो तर्फबाट पनि आवश्यक तयारी थाल्न विलम्ब गर्नु हुँदैन,’ प्रमुख भन्सार अधिकृत बस्नेतले भने।
    
 

प्रकाशित: २१ चैत्र २०७४ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App