८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अवैध मोबाइल सेट चाँडै बन्द : सञ्चार राज्यमन्त्री

बनेपा – सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा नेपाल भित्रिएका मोबाइल ह्यान्ड सेट तत्काल बन्द गराउने प्रक्रिया अघि बढेको बताएका छन्।

‘हाल नेपालमा प्रयोग भइरहेका कूल मोबाइल सेटमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको पाइएको छ। अब आइन्दा मोबाइल ह्यान्ड सेटको पहिचान नम्बर (आइएमइआई) दर्ता गरेरमात्रै चलाउन पाउने व्यवस्थामा कडाइ गरिनेछ,’ काभ्रेमा आयोजित स्वागत कार्यक्रममा उनले भने।

वार्षिक २५ अर्बको मोबाइल सेटको कारोबार हुने भएपनि करिब पाँच अर्ब रुपैंयाका मोबाइल ह्यान्ड सेट राजस्व नतिरी भित्रने गरेको बाँस्कोटाको भनाइ छ। ‘विदेशमा भएका आफन्तले पठाउने र फर्कदा लिएर आउने मोबाइल सेटको रेकर्ड अद्यावधिक छैन। यसैलै पनि सेटको दर्ता अनिवार्य गर्न लागिएको हो,’ उनले थपे।

नेपाल भित्रने सबैखाले मोबाइल सेटलाई राजस्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको पनि उनको भनाइ छ। ‘अनधिकृत रुपमा हुने प्रयोग रोक्दा राजस्वमा समेत उल्लेख्य योगदान हुने देखेरै यो निर्णयमा कडाइ गर्न लागेका हौं,’ बाँस्कोटाले थपे।

दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ असार १ गतेबाटै मोबाइल ह्यान्ड सेट पहिचान हुने नम्बर (आइएमइआई/इएसएन/एमइआइडी) अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरेको छ। तर, यसमा कडाइ हुन नसक्दा अवैध रुपमा मोबाइल भित्रने र प्रयोग हुने क्रम रोकिएको छैन।

प्रकाशित: १८ चैत्र २०७४ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App