४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिना दिनमै लगानीकर्ताको सम्पत्ति पौने १२ खर्ब बढ्यो

पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर लगानीकर्ताको सम्पत्ति एक महिनाकै अवधिमा करिब पौने १२ खर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि नेपाल राष्ट्र बैंकले पनि सेयर बजारमैत्री मौद्रिक नीति ल्याएका कारण सेयर बजारमा उछाल आई लगानीकर्ताको सम्पत्ति बढेको हो।

एक महिनाको अवधिमा सेयर बजार पुँजीकरण ११ खर्ब ८५ अर्ब रूपैयाँले बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। नेप्सेका अनुसार गत असार ३० गते सेयर बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब ९३ करोड ६४ लाख रूपैयाँ रहेकोमा साउन ३१ (बिहीबार) बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रूपैयाँ पुगेको छ।

असार ३० गते नेप्से परिसूचक २२५७.५९ बिन्दुमा रहेकोमा साउन ३१ गते ३०००.८१ बिन्दु पुगेको छ। एक महिनाको अवधिमा नेप्से ७४३.२२ अंकले बढेको छ।

अहिलेको पुँजी बजारमा कारोबार वृद्धि स्वाभाविक रहेको नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउद बताउँछन्। ‘सरकार र राष्ट्र बैंकले वातावरण तयार गरेर लगानीकर्ताको मनोबल बढ्दा कारोबार बढेको छ,’ साउदले भने, ‘पुँजी बजारमा लगानीकर्ताको सम्पत्ति वृद्धि हुँदा अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्छ।’

विगतमा नियामक निकाय र अर्थमन्त्रीबीच कुरा नमिल्दा र सेयर बजारमैत्री नीति नहुँदा पुँजी बजार वृद्धि हुन नसकेको उनले बताए।

लगानीकर्ताको सकारात्मक सोच, नेपाल राष्ट्र बैंकले संस्थागत हटाएपछि पुँजी बजार वृद्धि भएको उनले बताए। ‘बिहीबार नेपालको इतिहासमा एकै दिन करिब ३० अर्बको कारोबार भएर कीर्तिमान कायम भएको छ,’ उनले भने।

सेयर बजारमा वृद्धि भए पनि विज्ञहरूले राम्रो कम्पनी छानेर मात्र लगानी गर्न सुझाव दिँदै आएका छन्। बिहीबार नेप्से ४३.०५ अंक बढेर ३०००.८१ बिन्दुमा पुगेर रोकिएको छ। अघिल्लो दिनको तुलनामा १ दशमलव ४५ प्रतिशतले नेप्से वृद्धि भएको हो।

बिहीबार तीन सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ पटक खरिदबिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रूपैयाँबराबरको कारोबार भएको छ।

सेन्सेटिभ इन्डेक्स ३.०८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७८ अंकले बढेको छ । १०५ स्टकको मूल्य बढेको छ भने १३७ स्टकको मूल्य घटेको छ । बाँकी एक स्टकको मूल्य स्थिर रह्यो।

नेप्सेमा सूचीकृत १३ समूहमध्ये पाँचवटाबाहेक अन्य समूह बढेको छ । बैंकिङ समूहमा ५.६५ प्रतिशतले बढेर एक हजार ६८४.९३ बिन्दुमा गरी सर्वाधिक उछाल आएको छ । विकास बैंक समूह १.२८ प्रतिशत, होटल ०.३२, हाइड्रो ०.७९, लगानी २.६९, म्युचुअल फन्ड २.२८, निर्जीवन बिमा ०.९४ र व्यापार समूह १.८१ प्रतिशतले बढेको छ।

सबै बैंकहरूको सेयर मूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा वृद्धि भएको नेप्सेले जनाएको छ । म्युचुअल फन्ड र लगानी उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको थियो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयरमूल्य साढे नौ प्रतिशतभन्दा बढीले बढेको छ भने एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा बिहीबार हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । नेपाल फाइनान्सको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो। विन्ध्यावासिनी हाइड्रोको सेयरमूल्य ७.२२ र शुभम् पावरको सेयरमूल्य ७.१० प्रतिशतले घट्यो।

प्रकाशित: ३२ श्रावण २०८१ ०७:१८ शुक्रबार

#capital market #Share investor