१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

तत्काल २५ करोड लगानी थप

रुपन्देहीको टाइगर्स ब्रुअरी उद्योगमा बियरका बोतल मिलाउँदै महिला कामदार । तस्बिर / नागरिक

  दिलीप पौडेल/रेखा भुसाल
रुपन्देही –नेपाली बजारमा तीन किसिमका बियर उत्पादन गरिरहेको टाइगर्स ब्रुअरी इन्डस्ट्रिजले क्षमता बढाउन २५ करोड रुपैयाँ लगानी थपेको छ।

तीन लाख कार्टुन बियर उत्पादन गर्दै आएको यो ब्रुअरीले क्षमता बढाएर मासिक साढे चार लाख कार्टुन पुर्‍याउने लक्ष्य राखेको छ । यही लक्ष्य पुरा गर्न उद्योगले करिव २५ करोड रुपैयाँ थपेको हो । उत्पादन बढाउन उद्योगले अहिले पूर्वाधार निर्माण गरिरहेको छ ।टाइगर्सका अध्यक्ष तेजेन्द्र खड्काले बजार विस्तार गर्न उत्पादन क्षमता बढाउन लागेको बताए । ‘२५ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण भइरहेको छ,’ खड्काले भने, ‘विदेशमा निर्यातसमेत गर्ने उद्देश्यले लगानी बढाएका हौं।’

टाइगर्स ब्रुअरीले टेन्सबर्ग, लन्डन आइस र नेपाल टाइगर ब्रान्डमा बियर उत्पादन गर्दै आएको छ । सेमी–अटोमेसनमा रहेको उद्योगलाई पूर्ण अटोमेसनमा लैजाने लगानीकर्ताको तयारी हो । यसअघि करिब दुई अर्ब रुपैयाँ लगानी गरेको उद्योगले लगानी वृद्धिसँगै बजार पनि विस्तार गरिरहेको छ।

दुबईमा बियर निर्यात गर्दै आएको कम्पनीले भारतमा पनि बजार विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । खड्काले भारतीय बजारमा नेपाली बियर निर्यात गर्ने बाटो खोल्ने वातावरण बनाउन आग्रह गरे । ‘कानुनी अड्चनका कारण निर्यात सहज छैन,’ उनले भने, ‘नेपाली बियर भारतीय बजारमा निर्यात भए मुलुकलाई अर्बौं रुपैयाँ फाइदा हुन्छ।’

यसबाट व्यापार घाटा कम गर्न पनि सहज हुने खड्काको दाबी छ । ‘निर्यातजन्य वस्तु नहुँदा व्यापार घाटाको खाडल गहिरिँदै गएको छ,’ खड्काले भने, ‘सरकारले बियर निर्यात गर्ने वातारण मिलाउनु पर्छ ।’ स्वदेशी उद्योग पनि बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम भएको दाबी गरेका उनले निर्यातका लागि नीतिगत समस्या सुल्झाउन आग्रह गरे।

राजनीतिक नेतृत्वले औद्योगिक वातावरण बनिरहेको दाबी गरेपनि विद्युत्लगायत समस्या जस्ताको तस्तै रहेको उनको गुनासो छ । लोडसेडिङ हटेको बताए पनि रुपन्देहीका उद्योगले अझै विद्युत्को समस्या झेल्नुपरेको ब्रुअरीका प्रबन्ध निर्देशक प्रेम खड्काले बताए । ‘नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउनुपर्छ,’ प्रबन्ध निर्देशक खड्काले भने, ‘सरकारी निकायले सहयोग गरे औद्योगिक क्षेत्र फस्टाउँछ ।’ निर्यातमा देखिएको समस्या सुल्झाउन खड्काको आग्रह छ।

यहाँ उत्पादित केही मदिरा विदेश निर्यात भए पनि दर्जनौं कम्पनीका मदिरा स्वदेशी बजारमा बिक्री हुने गरेको छ । नेपालमा छिमेकी मुलुक भारत, चीनसहित फ्रान्स, स्कटल्यान्ड, अमेरिका, अस्ट्रेलिया, युरोपेली मुुलुक स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिकालगायत दर्जनौं देशबाट मदिरा आयात हुने गरेको छ।

घरेलु, स्वदेशी उद्योगले उत्पादन गरेका र विदेशबाट आयात गरेका ब्रान्डेड रक्सीले आ–आफ्नै बर्चस्व जमाएका छन् । नेपाली बजारमा स्वदेशी उत्पादनका टेन्सबर्ग, नेपाल आइस, रुस्लान, ओल्ड दरबार, समरस्वी एप्पल साइडर, टुबोर्ग बियर, लन्डन आइस, गोर्खा, काल्सबर्ग बियर, रुस्लान भोड्का, ओल्ड दरबार ह्विस्कीलगायत ब्रान्डका मदिरा बिक्री भइरहेको छ । त्यसैगरी तीनजुरे वाइन इन्ड्रस्ट्रिज प्रालि, मकालु वाइन इन्डस्ट्रिज प्रालि, स्नोम्यान वाइनरी प्रालि, महाकाली वाइन प्रालि, डिभाइन वाइन, डाँडाघरे वाइन, युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमान्डु हिमालय बेभरज प्रालि लगायत डेढ दर्जन कम्पनीले वाइन उत्पादन गर्दै आएका छन्।

नेपाली बजारमा घरपालुवा रक्सीदेखि बोटलको पाँच लाख रुपैयाँसम्म पर्ने मदिरा बिक्री हुन्छ। पछिल्लो समय स्वदेशीमात्र नभएर विदेशी मदिराको पनि हब बनेको छ नेपाल। दर्जनौं बहुराष्ट्रिय कम्पनीले नेपालमा हुस्की, वाइनलगायत मदिराजन्य पेय पदार्थ निर्यात गरिरहेका छन् । स्वदेशी उत्पादनले मात्र नथेगेर वार्षिक करिब सबा करोड लिटर मदिरा विदेशबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ।करिब ३० प्रतिशत बजार हिस्सा घरेलु रक्सी, ४५ प्रतिशत स्वदेशी उत्पादन र २५ प्रतिशत विदेशबाट आयात हुने व्यवसायी बताउँछन्।

स्वदेशी उद्योगले वार्षिक करिब २५ अर्ब रुपैयाँको मदिराको कारोबार गर्ने गरेका छन् ।
मदिरा प्रयोग गर्ने वृद्धि भएसँगै लगानीकर्ता पनि आकर्षित भएका छन् । यहाँका उद्योगले क्षमता विस्तारसँगै नयाँ उद्योग आउने क्रम पनि जारी छ । पछिल्लो दुई वर्षमा करिब ४० वटा मदिरा उद्योग दर्ता भएर पूर्वाधार तयार गर्न सुरु गरेका छन् । वार्षिक करिब साढे पाँच करोड लिटर मदिरा उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार तयार गरिरहेको उद्योग विभागले जनाएको छ । करिब दुई अर्ब रुपैयाँ थप लगानी तयारी गरेका छन्।

रौतहटमा सुधा डिस्टिलरी, नवलपसारीमा सागर डिस्टिलरी, तनहुँको आँबुखैरनीमा सूर्य ब्लेन्डर्स प्रालि, नवलपसारीमा अरुणा डिस्टिलरी, सर्लाहीमा अभिनव डिस्टिलरी, काभ्रेमा शिखर लिकर्स एन्ड डिस्टिलरी, झापामा मनास्लु डिस्टिलरी, नवलपसारीमा लिकर्स प्रालि, महोत्तरीमा नटराज स्प्रिट इन्डस्ट्रिज प्रालि, फारवेस्ट लिकर्स प्रालिले मदिरा उत्पादनको लागि उद्योग विभागबाट अनुमति लिएका छन् ।


 

 

प्रकाशित: १६ चैत्र २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App