१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गुल्मी महोत्सव आजदेखि

गुल्मी, – ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पुरा भएको छ ।कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पूरा भएको हो।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सव उद्घाटन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने महोत्सव मूल आयोजक समिति संयोजक एवं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जातोलगायत लोपोन्मुख विभिन्न पुराना सामग्री प्रदर्शन गरिने भएको छ।

विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लामा रहेका विभिन्न जातजातीका खानाका परिकार, विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउलगायत अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीलाई उच्च प्राथामिकता दिइने भएको छ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा १ लाख ५० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । महोत्सवबाट १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि आगन्तुकलाई स्वागत गर्न भन्दै तम्घास बजारवासीले आफ्नो घर अगाडि स्वागत ब्यानरसमेत राखेका छन् । महोत्सवमा दुई सय ७० स्टल रहने भएका छन्।

कुल स्टलमध्ये ४० वटा स्टलमा कृषिजन्य उत्पादित सामग्री तथा बीउबिजन, बाँस तथा निगालो, सेरामिक्सबाट बनेका सामग्री राखिने भएको स्टल संयोजक वाणिज्य संघ गुल्मीका सचिव बीरेन्द्र भुसालले जानकारी दिए । महोत्सवलाई थप आकर्षण गर्नका लागि हेलिकप्टरबाट जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न पाउने व्यवस्थासमेत गरिएको छ।

महोत्सवलाई जिल्लाको प्रतिष्ठाको रुपमा लिइएकाले यसको सफलताका लागि सम्पूर्ण क्षेत्र वर्ग, लिंग, समुदाय, तह र सरोकारवाला आमनागरिक तथा समुदायसँग सक्दो सहयोग, सद्भाव र सहभागिताका लागि तेस्रो गुल्मी महोत्सव मूल आयोजक समितिले अनुरोध गरेको छ।

तम्घास बजार सरसफाइ
कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवर्द्धन गर्नका लागि भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवका अवसरमा तम्घास बजार सरसफाइ गरिएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा बिहीबार तम्घास बजार सरसफाइ गरिएको हो।

तम्घासको लाकुरी मञ्चदेखि बजारका विभिन्न चोकसँगै उदिनढुंगासम्मको बजार क्षेत्रमा सरसफाइ गरिएको तेस्रो गुल्मी महोत्सवनगर तथा मेलास्थल सरसफाइ समिति संयोजक एवं वाणिज्य संघ गुल्मीका पूर्वमहासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

महोत्सवमा धेरै चहलपहल हुने भएकाले यहाँको सुन्दरता राखिराख्न सरसफाइ गरिएको आयोजकले जनाएको छ । सरसफाइ कार्यक्रममा तम्घास बजारवासी तथा महोत्सव आयोजक समितिको सहभागिता रहेको थियो । महोत्सवमा आउने पाहुना तथा आगन्तुकलाई बजार क्षेत्र सुन्दर तथा सफा राख्नका लागि बजारवासी सरसफाइ अभियानमा जुटेका थिए।

प्रकाशित: १६ चैत्र २०७४ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App