१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

वीरगञ्ज महानगरको राजस्व ६१ करोड ४७ लाख

वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार १३१ रूपैयाँ राजस्व संकलन गरेको छ। महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार ९३० ले बढी हो।

महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए।

‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ,’ उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो।’

राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए। ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ,’ उनले भने । महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ।

सो शीर्षकमा महानगरले २० करोड ६ लाख ८४ हजार राजस्व संकलन गरेको छ। त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ।

चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन। महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ। महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो। 

प्रकाशित: ६ श्रावण २०८१ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App