९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

भरतपुर आउने भारतीय पर्यटकलाई माडीमा आकर्षित गर्न सुझाव

फाइल तस्बिर

चुरे पहाड र जंगलले घेरिएको समथर उपत्यकामा रहेको चितवनको माडी नगरपालिका भारतसँग सीमा जोडिएको छ। माडीबाट पर्साको ठोरी भन्सार नाका पनि नजिकै छ। यहीँ बाटोलाई प्रयोग गरेर भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ मा भारतीय पर्यटकहरु भित्र्याउने तयारी गरेको छ। यसलाई उपयोग गर्दै माडी नगरपालिकाले पर्यटक आकर्षित गर्न सक्ने नगरपालिकाको बुझाई छ।

छोटी भन्सार कार्यालयबाट भारतीय नम्बर प्लेट भएका गाडीलाई निश्चित समयसम्मका लागि नेपाल घुम्न शुल्कसहित अस्थायी अनुमतिपत्र दिन थालिएको छ। भरतपुरसम्म जान माडी भएर जानुपर्नेछ। माडी क्षेत्रको पर्यटन प्रवर्द्धन सम्भावना र भावी योजना विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रमेशकुमार पौडेलले भने ‘माडीले भरतपुर जाने पर्यटकलाई आकर्षित गर्न पर्यटकीय गतिविधि बढाउन जरुरी छ।’

भरतपुर र भारतको रामनगरसँग माडीको पर्यटनलाई जोड्न सकिने सम्भावना छ। रामनगरको संस्कृति नेपालीसँग मिल्ने गर्दछ। भारतीयहरु ठुलो मात्रामा सोमेश्वरमा पूजा गर्नसमेत आउने गर्दछन्। पत्रकार पौडेलले भने ‘उनीहरुलाई यहाँको धार्मिक तथा प्राकृतिक विशेषताबारे बुझाउन सके माडीमा आउने वातावरण बन्न सक्छ।’

माडी क्षेत्र जनवारका लागि जैविक अन्तरदेशीय सीमाक्षेत्र समेत हो। निकुञ्जले घेरिएको माडीमा विश्वको दुर्लभ एक सिंगे गैंडा, हात्ती, पाटेबाघ जस्ता जंगली जनावर सहजै देख्न सकिन्छ। यस्ता अथाह सम्भावना भएको प्राकृतिक सुन्दरतालाई देखाएर माडीले पर्यापर्यटनको रुपमा प्रवर्द्धन गर्नुपर्ने अर्का प्रशिक्षक श्रीप्रसाद दवाडीले बताए।

सदरमुकाम भरतपुरभन्दा ४० किमि दक्षिण पर्ने यो उपत्यका ऐतिहासिक धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। सरकारले यस क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो बताउँछिन्। ‘हामीले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेका छौँ, ‘नगरप्रमुख महतोले भनिन् पर्यटकीय नगरपालिका घोषणा गर्न समेत हामीले अनुरोध गरेका छौँ।’

यस क्षेत्रमा राप्ती नदीसहित ठूलासाना दर्जनौं नदी तथा खोला छन्। धार्मिक महत्त्व बोकेका विभिन्न पर्यटकीय गन्तव्य समेत रहेका छन्। यहाँका धार्मिक क्षेत्रबारे महाभारतलगायतका हिन्दू ग्रन्थमा पनि उल्लेख भएको पाइन्छ। यहाँ सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक, परशुराम कुण्ड, पाण्डवनगर, वैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीता गुफा, विक्रमबाबा लगायतका दर्जनौं धार्मिक महत्व बोकेका पर्यटकीय स्थल छन्।  

माडीमा पर्यटकीय क्षेत्रहरुमा जिप सफारीको व्यवस्था गर्नुपर्ने समेत महतोले बताइन्। माडीमा भएका होमस्टेलाई समेत व्यवस्थित बनाउनुपर्ने उनले बताइन्। यहाँ १४ वटा होमस्टे छन्। अहिले भारततर्फको टाईगर टपमा पर्यटकहरुको संख्या बढेको भन्दै नेपाल तर्फ पनि उनीहरुलाई ल्याउनुपर्ने धारणा राखिन्। माडीको पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको बिहार पर्छ, जुन चुरे पर्वतले घेरिएको समथर भूभाग हो।  

बागमती प्रदेशका कृषि, शिक्षा तथा स्वास्थ्य समन्वय समितिका सभापति ठाकुरप्रसाद ढकालले भारतीय पर्यटक जोड्नका लागि भारतमा पनि अन्तरक्रिया गर्नुपर्ने धारणा राखे। उनले भारतबाट नेपाल आउने वातावरणका लागि सहज बनाउनुपर्ने उनले बताए।

उनले माडीलाई धार्मिक र पर्यापटनका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ। उनले आन्तरिक र बाह्य पर्यटक भित्र्याउनुपर्ने बताए। माडी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके मुख्य पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने धारणा ढकालको छ। पर्यटकीय स्थलको पहिचान गरी सम्भावित बजार क्षेत्र निर्धारण र बजारीकरण रणनीतिहरू बनाउनुपर्ने उनले बताए।

चितवन निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र भएकाले माडीमा कलकारखाना, उद्योग खोल्ने सम्भावना छैन। त्यसकारण पर्यापर्यटनमा माडी नगरपालिकाले प्राथमिकता राख्नुपर्ने मध्यवर्ति उपभोक्ता समितिका बगई सेक्टरका अध्यक्ष नारायणप्रसाद सापकोटा बताउँछन्। उनले पर्यटकीय गतिविधि बढाउन कानुन बाधक नभएको समेत बताए। 

कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेम महतो, योजना अधिकृत शिव सुवेदी, सूचना अधिकारी प्रविण बराल लगायतले माडी नगरपालिकाको पर्यटन क्षेत्रका विकासका लागि छिमेकी देशसंग भगिनी सम्बन्ध जड्नुपर्ने समेत बताएका छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App