१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘दक्ष कर्मचारी अभावमा स्थानीय तहकाे बेरुजु बढ्यो’

दक्ष कर्मचारी अभावका कारण स्थानीय तहमा बेरुजु बढ्यो बढेको छ। महालेखापरीक्षकको कार्यालयले जारी गरेको ६१ औं वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

७ प्रदेशको १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५७ करोड अर्थात २.०३ प्रतिशत र स्थानीय तहतर्फ यस वर्षको ७४६ र वक्यौता २ समेत ७४८ को ११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षणबाट ३१ अर्ब २ करोड अर्थात २.७२ प्रतिशत बेरुजु देखिएको छ।

समिति र अन्य संस्थातर्फ (सङ्गठित संस्था ९३ समेत) ३१० निकायको ३९ खर्ब ५७ अर्ब ९६ करोडको लेखापरीक्षण भएकोमा ११ अर्ब ४८ करोड बेरुजु कायम भएको छ। सोको अतिरिक्त ४२ सङ्गठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराए बमोजिम १४ खर्ब ८८ अर्ब ५६ करोडको लेखापरीक्षण भएको छ।

महालेखापरीक्षक तोयम रायाले दक्ष कर्मचारी अभाव र नयाँ कार्यशैलीमा गएका कारण स्थानीय तहमा बेरुजु बढेको बताएका छन्। उनले  दक्ष कर्मचारी अभाव र नयाँ कार्यशैलीमा गएका कारणले पनि केही स्थानीय तहमा बेरुजु बढेको जानकारी दिए।

केही स्थानीय तह शुन्य बेरुजु भएका पनि रहेको उल्लेख गर्दै उनले सबै बिग्रियो भन्दा पनि बेरुजु बिस्तारै सुधार भइरहेको रुपमा बुझ्न जरुरी रहेको बताए।  

उनले बेरुजु सुधार गर्न स्थानीय तहहरुको क्षमता सुधार हुनुपर्नेमा जाेड दिए। उनले अहिलेको स्थानीय तह व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहितको स्थानीय तह भएपनि त्यसअनुसारको भौतिक पूर्वाधार विकास हुन नसकेको जानकारी दिए।

उनले दक्षता, क्षमता, कर्मचारी अभावका कुराहरु स्थानीय तहमा व्याप्त रहेको सुनाए। 

महालेखापरीक्षक तोयम रायाले कानून विधि प्रक्रिया, मापदण्डका विषयमा स्थानीय तह जानकार हुनुपर्ने बताए। स्थानीय तहहरुमा अहिले पनि ३० देखि ३५ प्रतिशत दरबन्दी खाली रहेको धारणा राखे।

७८ खर्ब कारोबार हुँदा चालु वर्षमा नेपाल सरकारको बेरुजु करिब ९५ अर्ब रुपैयाँ थपियो

महालेखापरीक्षक तोयम रायाले चालु वर्षमा नेपाल सरकारको बेरुजु करिब ९५ अर्ब रुपैयाँ थपिएको बताएका छन्।

उनले गत वर्षको ‘रेसियोमा’ अहिले सरकारको बेरुजु घटेको उल्लेख गरे। उनले यो निरन्तर प्रक्रिया भएकाले ठूलो समस्याका रुपमा लिन नहुने उनकाे जिकिर थियाे।

उनले ७८ खर्बको कारोबार हुँदा ९५ अर्ब रुपैयाँ बेरुजु थपिनुलाई निरुन्तर प्रक्रियाको रुमपा लिन आवश्यक रहेको बताए। उनले कतिपय करेक्सनसँग, ऐन कानून, अडिट गर्दा प्रमाण कम भएका वा प्रमाण नदेखाएका कारणले पनि हुनसक्ने भन्दै ९५ अर्बको बेरुजु आत्तिहाल्नुपर्ने विषय नरहेको बताए।

उनले भने, ‘गत वर्षको रेसियोमा अहिले सरकारको बेरुजु घटेको छ। करिब ९५ अर्ब रुपैयाँ बेरुजु यो वर्ष पनि थपिएर आएको छ। यो निरन्तर प्रक्रिया पनि हो। ७८ खर्बको कारोबार हुँदा त्यति बेरुजु आउनु भनेको निरन्तर प्रक्रिया पनि हो। कतिपय करेक्नससँग, ऐन कानून, अडिट गर्दा प्रमाण कम भएका वा प्रमाण नदेखाएका कारणले पनि हुन सक्छन्। ९५ अर्बको बेरुजु, आत्तिहाल्नु पर्ने विषय होइन।’

बेरुजु कम गर्न कतिपय ऐन, कानूनहरुमा सुधार गर्नुपर्छ

महालेखापरीक्षक तोयम रायाले महालेखा परीक्षकको कार्यालय तथा अन्य निकायहरुले सरकारलाई दिएको सुझाव सरकारले कार्यान्वयन गरिरहेको पनि बताए।

उनले सरकारले ल्याएको बजेटमा पनि महालेखापरीक्षकले दिएका सुझावहरु समेटिएको सुनाए। कतिपय सुधार सरकार आफैँले पनि गरेको उनकाे भनाइ थियाे।

बेरुजु कम गर्न कतिपय ऐन, कानूनहरुमा सुधार गर्नुपर्ने सुझाव आफूहरुले सरकारलाई दिएको तर क्षणभरमा कानून सुधार गर्न सम्भव नरहेकाले बिस्तारै प्रक्रिया अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

उनले भने, ‘महालेखा परीक्षकको कार्यालय तथा अन्य निकायहरुले सरकारलाई सुझाव पेश गर्छौं। कार्यान्वयन पनि सरकारले गरिरहेको छ। नभएको भने होइन। सरकारले ल्याएको बजेटमा पनि महालेखापरीक्षकले दिएका सुझावहरु समेटिएका छन्। कतिपय सुझावको कारण कतिपय सरकार आफैँ सुधार गर्नुपर्ने देखेर सुधार गरेको छ। सरकारले सुझाव कार्यान्वयन गरेन भन्ने होइन। कतिपय सुधार हुन समय लाग्छ। हामीले ऐन कानूनमा सुधार भनेका छौं। त्यो तरुन्त हुने विषय होइन। संसदीय प्रक्रिया पूरा गर्दा केही समय लाग्छ।’

सरकारले असुल उपर गर्नुपर्ने बेरुजु करिब २४ प्रतिशत

महालेखापरीक्षक रायले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण बुझाएपछि ४३ अर्ब रुपैयाँ पैसा असुली भएको बताए। उनले विगत केही वर्षदेखि संघीय सरकारको हकमा श्रमपरीक्षण हुन नसकेको उल्लेख गरे।

उनले प्रदेश र स्थानीय तहको हकमा बेरुजु घटेको सुनाए। देशमा संवैधानिक अंगहरुले बेरुजु सम्बन्धि प्रश्न उठाएपछि कार्यकारी तहका निकायहरुले तत्काल त्यसको कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ। अहिलेको सरकारले असुल उपर गर्नुपर्ने बेरुजु करिब २४ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे। नियमति गर्नुपर्ने ६८ प्रतिशत र म्याद नाघेको ८ प्रतिशतको हाराहारीमा रहेको उनले बताए।

महालेखा परीक्षकको कार्यालयकाअनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

त्यसमध्ये नियमित गर्नुपर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नुपर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। गत वर्षको मात्र बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

कुल ७८ खर्ब ८१ अर्ब साठी करोडको लेखापरीक्षण गर्दा बेरुजु १.८९ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखापरीक्षक तोयम रायाले गत आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०८१ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App