३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु रहेको औल्याएका छन्।

उनले आइतबारबाट सुरु भएको दुई दिने नेपाल लगानी सम्मेलन–२०२४ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन। ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको  प्रतिबद्धता व्यक्त गर्दछ’, प्रधानमन्त्री दाहालले भने।

उनका अनुसार नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ। करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा छन्। ‘यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ’, प्रधानमन्त्री दाहालले भने।

उनले विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने बताए।  ‘यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने।

उनका अनुसार पर्यटन उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण योगदानकर्ताको रूपमा देखिएको छ। सन् २०२३ को जुनमा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमनले गत वर्षको तुलनामा उल्लेखनीय १७ प्रतिशत वृद्धि भएको तथ्य छ। यसैगरी सूचना प्रविधि क्षेत्रले सन् २०२१ मा सेवा निर्यातमा लगभग ६५ प्रतिशतको उल्लेखनीय बृद्धिदर कायम गरी उच्चस्तरको लगानी मार्ग देखाएको छ। नेपालले उच्च मूल्यवान नगदे बालीहरू निर्यातका लागि आकर्षक अवसरहरू प्रस्तुत गरेको छ। ‘यसले लगानी आकर्षणलाई अझ बढाउने र आर्थिक वृद्धिमा योगदान पु¥याउने देखिएको छ’, प्रधानमन्त्री दाहालले भने। 

प्रकाशित: १६ वैशाख २०८१ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App