३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापारमा असन्तुलन

आयात, निर्यात दुवै घट्यो, साढे १० खर्ब व्यापार घाटा

अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ। बजारमा उत्पादन र उपभोग घट्दा पोहोरको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१को नौ महिना(चैतसम्म)मा वैदेशिक व्यापारमा कमी आएको छ। आयात, निर्यात दुबै घटेको छ।

हरेक वर्ष वैदेशिक व्यापार वृद्धि हुँदै गए पनि चालु आवको चैत्रमसान्तसम्मको तथ्यांक अनुसार पोहोरको तुलनामा वैदेशिक व्यापारमा ३८ अर्ब ४८ करोड रूपैयाँले कमी आएको छ। मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब रूपैयाँ रहेको छ।

अर्थतन्त्रमा देखिएको शिथिलताको असर वैदेशिक व्यापारमा देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए। ‘उपभोक्तामा क्रयशक्ति नभएपछि उपभोग भएन,’ राणाले भने, ‘उपभोग घटेपछि वस्तुको आयात पनि घट्यो।’

गत आवको नौ महिनामा १३ खर्ब १९ अर्ब ७८ करोड रूपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रूपैयाँमा खुम्चिएको भन्सार विभागले जनाएको छ। पोहोरको तुलनामा ३८ अर्ब ४७ करोड रूपैयाँले वैदेशिक व्यापार घटेको छ। विभागका अनुसार २.९२ प्रतिशतले कमी आएको छ।

आयात व्यापार २.८४ प्रतिशत र निर्यात ब्यापार ३.६६ प्रतिशतले गिरावट आएको हो। पोहोर यो अवधिमा १२ खर्ब एक अर्ब ५० करोड रूपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँको मात्र वस्तु आयात भएको छ।

पोहोरको तुलनामा आयात ३४ अर्ब रूपैयाँले घटेको छ। विगतमा निर्यात बर्सेनि बढ्दै गएकोमा कोभिड यता निर्यात व्यापार चिन्ताजनक बनेको छ। पोहोरको तुलनामा निर्यात ३.६६ प्रतिशतले घटेको छ।

गत आवको नौ महिनामा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यो वर्ष सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। निर्यात चार खर्ब ३३ अर्ब रूपैयाँले घटेको छ।

सेवा व्यापारमा केही सुधार आए पनि वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा रहेको उनले बताए। ‘आयात, निर्यात दुवै घटेको छ,’ राणाले भने। व्यापार घाटा न्यूनीकरण गर्न बनाएका योजनाहरू कार्यान्वयन गर्न बजेट अभाव भएको राणाको गुनासो छ। ‘व्यापार अभिवृद्धि गर्ने रणनीति बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने।

वैदेशिक व्यापारमा गिरावट आउँदा राजस्वमा पनि असर परेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। राजस्वको प्रमुख स्रोत भन्सार भएकाले प्रभावित भएको हो। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेको छ।

उपभोग घटेकाले आयात घटेको हो। विकास निर्माणसँग सम्बन्धित वस्तुको आयातमा कमी आएको हो भने पनि त्यसले पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा असर परेको हो। पोहोरको तुलनामा व्यापार घाटा कम हुनु राम्रो मानिए पनि उपभोक्ताको उपभोग क्षमतामा ह्रास आएका कारण आयात घटेको हो। स्वदेशमा उत्पादन बढेर आयात घटेको भने होइन। अर्थतन्त्रको आकार बढेसँगै निर्यात बढ्नुपर्नेमा त्यो पनि घटेको छ।

आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो नभएको अर्थ क्षेत्रका जानकार बताउँछन्। आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। यो अर्थतन्त्र सुस्ताएको संकेत हो। अर्थतन्त्रमा विस्तारै सुधार होला भन्ने अपेक्षा छ।

सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि नेपालको सवा सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ। नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। दोस्रो व्यापार घाटा चीनसँग रहेको छ। भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ।

सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा आठ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ।

उच्च निर्यात गर्ने सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायत निर्यात हुने विश्वास लिइएको छ। सरकारले करिब तीन दर्जन वस्तु निर्यातमा अनुदान दिने गरी कार्यविधि बनाएर प्रयोगमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि’ जारी गरिसकेको छ।

स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना बनाएको छ।

प्रकाशित: १० वैशाख २०८१ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App