इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत अब रोमानियाबाट ‘स्मिथ एन्ड स्मिथ’ मार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा पठाउँदा आकर्षक नगद पुरस्कार जित्ने मौका मिल्नेछ।
स्मिथ एन्ड स्मिथबाट रेमिटेन्स पठाउँदा हरेक हप्ता १० हजार रूपैयाँ र बम्परमा एक जनाले एक लाख रूपैयाँ जित्ने मौका पाउने इसेवा मनी ट्रान्फरले जनाएको छ। यो अफर वैशाख १ गते देखि असार ३१ गतेसम्म लागू हुनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कम्पनी ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न प्रतिबद्ध रहेकाे जनाए। ‘ यसकारण हामीले विभिन्न समय विशेष योजनाहरू सार्वजनिक गरिरहेका हुन्छाैँ।’ उनले भने।
कोइरालाले स्मिथ एन्ड स्मिथको साझेदारीमा नयाँ योजना सुरू भएसँगै अब रोमानियाबाट सहज रूपमा पैसा पठाउनका साथै अफरबाट फाइदा लिन समेत सक्ने बताए।
इसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
इसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: ३ वैशाख २०८१ २०:५५ सोमबार