२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतीय निर्माण कम्पनीका सडक परियोजनामा सधैं आलटाल

भारतीय निर्माण कम्पनीले जिम्मा लिएका निर्माणाधीन सडक आयोजनाहरू पनि समस्यामा परेका छन्। खासगरी, नेपाली र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी)मा ठेक्का लागेका सडक आयोजनाहरूमा चरम ढिलाइ भइरहेको छ।

२०७१ जेठ २९ मा ठेक्का सम्झौता भई निर्माण अघि बढेको भक्तपुरको कमलविनायक–नगरकोट सडक विस्तारको काम अहिलेसम्म सकिएको छैन्। तीन वर्षमा सम्पन्न गर्नुपर्ने उक्त सडकखण्ड विस्तारको काम एक दशक बित्दा समेत पूरा हुन सकेको छैन।

भारतीय ठेकेदार कम्पनी एआइपिएल र शैलुङ कन्स्ट्रक्सनले जेभीमा अघि बढाइरहेको सो सडक विस्तार आयोजना कहिले पूरा हुने हो अझै यकिन छैन। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी भनिएका शारदाप्रसाद अधिकारी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक हुन्।

भारतीय निर्माण कम्पनी एआइपिएल र शैलुङ कन्स्ट्रक्सनको संयुक्त उपक्रम (जेभी)मा गत २०७१ जेठ २९ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो। बीचमा भारतीय कम्पनीले हात झिकेपछि उक्त सडक निर्माण र विस्तारले अपेक्षित गति लिन सकेन। तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न नहुने भएपछि निर्माण कम्पनीले पटकपटक म्याद थप गर्दै हालसम्म २० औं पटकसम्म म्याद थप गराइसकेको छ। आयोजना भने अझै पूरा हुन सकेको छैन।

हालसम्म सो सडकखण्डको काम ९८ प्रतिशत पूरा भएको र एक डेढ महिनाभित्र आयोजना सम्पन्न भएको घोषणा गरिने आयोजना प्रमुख मेघराज मरासिनीले बताए। ‘हालसम्म आयोजनाको ९८ प्रतिशत भौतिक प्रगति पूरा भयो, केही सडकखण्डको मर्मत कार्य बाँकी नै छ,’ उनले भने, ‘विभिन्न कारणले तीन वर्षमा सम्पन्न गर्ने सम्झौता ९/१० वर्ष भइसकेको छ।’

कुल १६ किलोमिटर सो सडक विस्तारमा ढिलाइ र लापरबाही गरेको भन्दै त्यहाँका स्थानीयले कहिले ठेकेदार कम्पनी शारदाप्रसाद अधिकारीको फोटोमा बाँदर र कुकुरको तस्बिर राखेर पोल र सवारीसाधनमा टाँसेर विरोध जनाएका थिए भने कहिले अनुगमनमा पुगेका मन्त्रीको गाडीसमेत रोकेर हकारेका थिए।

छहरे–बिदुर सडक आयोजना पनि कमलविनायक–नगरकोट सडकको भन्दा फरक छैन। उक्त सडक आयोजना निर्माण सुरु भएको पनि एक दशक बितिसकेको छ। २०७० मंसिरमा औपचारिक निर्माण सुरु भएको सो आयोजना अहिले बल्ल निर्माणको अन्तिम चरणमा छ।

 निर्माण सम्पन्न गर्ने सम्झौता दुई वर्ष अर्थात् २०७२ मंसिरसम्म सम्पन्न गर्नुपर्ने थियो। सो आयोजनामा पनि भारतीय ठेकेदारले पटक पटक म्याद थप्दै आएको छ। आयोजना हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजना प्रमुख मरासिनीले बताए।

एआइपिएल र शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको बालाजु–ककनी–त्रिशुली सडक विस्तारको काम विगत आठ वर्षदेखि अलपत्र छ। कुल ५५ किलोमिटर सडक विस्तारको ठेक्का सन् २०१५मा भई निर्माणकार्य अघि बढेको थियो। ठेकेदारको लापरबाहीका कारण पटक पटक म्याद थप्दा पनि परियोजना अधुरै छ। हालसम्म सो सडकको विस्तार कार्य ६५ प्रतिशत मात्र पूरा भएको छ।

त्यस्तै पूर्वी नेपालमा निर्माण भइरहेको भेडेटार–रवि–राँके सडक आयोजना निर्माणमा पनि चरम ढिलासुस्ती भएको छ। भारतीय निर्माण कम्पनी एप्को इन्फाटेक प्रालि, लखनउले तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको सडक आयोजना झन्डै ६ वर्षमा पनि सम्पन्न गर्न सकेको छैन्।

कम्पनीले सन् २०१८ नोभेम्बरबाट निर्माण सुरु गरेको थियो। कुल १०० किलोमिटर लम्बाइको सडक आयोजनाको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख दिपेश रजकले जानकारी दिए।

‘कोभिड, स्थानीयको विवाद र वनको समस्याले आयोजना निर्माणमा केही ढिलाइ भएको देखिन्छ,’ उनले भने, ‘आयोजनाको म्याद थप गरेको पनि डेढदेखि दुई वर्ष भयो, ५० प्रतिशत भौतिक प्रगति छ।’

त्यस्तै, सडक सुधार तथा विकास योजना कार्यालय बाराअन्तर्गत निर्माण भइरहेको बसन्तपुर–कटहरिया–कवागोठ–पिप्रादी सडक आयोजना पनि लामो समयदेखि निर्माणविहीन छ । खासगरी भारतीय निर्माण कम्पनी र नेपाली कम्पनीले संयुक्त रूपमा ठेक्का लिएर निर्माण सुरु गरेको झन्डै ६ वर्ष बित्यो। ठेकेदार काम नगरेपछि सडक विभागले सो कम्पनीसँग ठेक्का तोड्यो। निर्माण कम्पनीले अदालतबाट स्टे अर्डर लिएसँगै आयोजना थप अन्योलग्रस्त छ।

‘ठेकेदारले कामै नगरी बसेको छ। काम नगरेको भन्दै ठेक्का तोडे पनि अदालतबाट स्टेअर्डर लिएर बसेको छ,’ आयोजनाका प्रमुख बिनोद साहले भने। कुल २५ किलोमिटरको सो सडक आयोजना सन् २०१८ जुलाईमा निर्माण सुरु भएको हो।

सडक विभागका महानिर्देशक शुशिलबाबु ढकालले सम्झौताबमोजिम काम नगर्ने र निर्माणमा ढिलाइ गर्ने ठेकेदारसँगको ठेक्का रद्द गर्ने नीति लिएको बताए। ‘विभागले सम्झौताबमोजिम काम नगर्ने निर्माण व्यवसायी र ठेकेदारलाई संरक्षण गर्दैन। काम नगरेर आयोजना मात्र ओगटेर बस्ने निर्माण कम्पनीको ठेक्का तोडिन्छ। चाहे त्यो नेपाली होस् वा विदेशी’, उनले भने।

प्रकाशित: २ वैशाख २०८१ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App