७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वलडाकुको लोभलाग्दो अर्गानिक व्यवसाय

गरिबी, भोक र अशिक्षाले थलिएको परिवारमा जन्मिएका तिला गाउँपालिका– ८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई जीवनको यात्रामा कहाँ पुगिन्छ ? अनुमानै थिएन !  

बाबुबाजे पुस्ता माटोका भाँडा बनाउँदै गाउँ–गाउँ डुलेर बेच्थे र त्यसैको आम्दानीमा आउने अन्नपातले जीवन गुजार्थे। एकातिर कथित तल्लो जात र अर्कातिर हेपिएको व्यवसायले सामाजिक रूपमा उनको परिवार प्रताडित थियो।  

अहिले कमलसम्म आइपुग्दा परिवारको त्यो अवस्था फेरिएको छ। कमल आफैं एक नमुना व्यवसायी बनेर मनग्य आम्दानी गरिरहेका छन्। कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतको वीरेन्द्रनगर– ४ मा अर्गानिक खाद्य तथा फलफूल सप्लायर्स चलाइरहेका छन्, जहाँबाट कर्णालीका रैथाने अर्गानिक कृषि उपज संकलन गरेर बजारीकरण गरिरहेका छन्।  

थलिएको परिवारबाट माथि उठेर आफू अहिले यो अवस्थासम्म आइपुग्न १० बर्से सशस्त्र द्वन्द्व र त्यसबाट प्राप्त चेतनालाई कमलले आधार मानेका छन्। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला २०५८ सालमा उनी पूर्णकालीन सदस्य भएर लागेका थिए। त्यसरी आबद्ध हुनुको कारण राज्यपक्षबाट दिदीको हत्या हुनु रहेको उनी बताउँछन्। ‘जुम्लाकोटमा राज्यपक्षले दिदी लालकुरा नेपालीलाई गोली हानेर मारेपछि म माओवादीमा आबद्ध भएको हुँ’, कमल भन्छन्।  

२०५९ देखि भने उनी जनमुक्ति सेनामा जोडिए। ‘जनमुक्ति सेनामा जुम्ला, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारालगायतका ४३ ठाउँमा भएका युद्धमा म सहभागी भएको छु’, उनी भन्छन्, ‘अर्घाखाँची र खाराको लडाइँमा घाइते भएका उनलाई टाउको र हातमा गोली लागेको थियो।’  

शान्ति स्थापनापछि सेना समायोजनताका २०६३ सालदेखि २०६९ सम्म ६ नं डिभिजन सुर्खेतको दशरथपुरमा बसे। त्यसपछि समायोजन हुँदा भने उनी नेपाली सेनामा गएनन्। स्वेच्छिक अवकाश लिएर पाँच लाख बुझे।

त्यो रकमले सुरुमा पोल्ट्री फर्म खोलेको कमल बताउँछन्। त्यो व्यवसाय गरिरहँदा उनमा व्यवसायको रस बस्यो। कर्णालीका अर्गानिक उत्पादनको राम्रो बजारीकरण गर्न सके राम्रो आम्दानी गर्न सकिने उनले देखे।  

त्यसपछि अर्गानिक खाद्य तथा फलफूल कोसेली अर्डर एन्ड सप्लायर्ससहित खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग खोलेको उनी बताउँछन्।

यसबाट उनले जुम्ली काली मार्सीसहित कागुनोको चामल, कर्णालीको सर्वोत्तम पिठो, भुटेको मकैको खाजा, जिम्मु, टिमुर, सिमी, जौ तथा मकैको च्याख्ला, तिल, मसुरोका दाल, चिनो, कालो तथा खैरो भट्ट, फापर, कोदो, मकै, मिठे फापरको पिठो, ओखरलगायतका कर्णालीको उत्पादन संकलन तथा बिक्री वितरण गर्दै आएका छन्। यो काममा आउने माग नै पूर्ति गर्न हम्मेहम्मे परिरहेको उनको अनुभव छ। उनले भने, ‘बजारको माग बढ्दै जाँदा पु¥याउनै मुस्किल हुन्छ। धेरै माग छ।’  

कर्णालीका १० जिल्लामा उत्पादित रैथानेबाली संकलन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ र बिक्री वितरण गर्दै आएको कमल बताउँछन्। उनको यस कामलाई प्रदेश सरकारले पनि सघाएको छ। प्रदेश सरकारबाट आफूले ६ लाख अनुदान पाएको उनले सुनाए।

आफूजस्तै अन्य व्यवसायी र किसानलाई कर्णालीका रैथाने बालीको संरक्षण गर्दै उत्पादन प्रवद्र्धन र वृद्धि गर्न सरकारले सहयोग गर्नुपर्ने कमलको बुझाइ छ। ‘सरकारले नै टल्किने चीज होइन मौलिक, विदेशी होइन स्वदेशी उपज उपभोगमा जोड दिनुपर्छ भन्ने बुझाउन जरुरी छ’, उनी भन्छन्।

अहिलेको उनले व्यवसाय थालेको एक दशक पुगेको छ। आफ्नो व्यवसायबाट न्यूनतम मासिक ७० हजार आम्दानी हुने गरेको बताउँछन्। ‘कर्म गरे स्वदेशमै आत्मनिर्भर बन्न सकिँदो रहेछ। विश्वासमा अडिग हुँदा छोराछोरी पढाउन र परिवार पाल्न उनलाई विदेश जानुपरेको छैन’, खुसी हुँदै उनले सुनाए।

प्रकाशित: १७ चैत्र २०८० १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App