१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीद्वारा महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ।

महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा ललितपुरमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले भेलाको उद्घाटन गरेका छन्।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताए। 

प्रधानमन्त्री दाहालले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनै पर्छ।’

उनले भने, ‘सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’ 

सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा कर छूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताए।

प्रधानमन्त्री दाहालले भने, ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्त्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ।’

चैत २० गतेसम्म चल्ने उक्त मेलामा उद्यमी महिलाहरूद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजीकरण गरिने छ।

मेलाबाट उद्यमी महिलाहरूलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने सङ्घकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्। 

उनले भनिन्, ‘उद्यमी महिला आफैँले अन्य स्रोतबाट सिकेर होस या महासङ्घले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ। तर, मेलामा आफुजस्तै उद्यम गरेकाहरूले के कसरी गरेका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथिहरुको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’ 

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रवद्र्धन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको महिला उद्यमी महासङ्घले लामोसमयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरू जसलाई सहयोगको आवश्यकता छ उनीहरूका लागि मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ।  

महासङ्घको सीएसआर फण्डबाट १२ वटा स्टल निःशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताइन्। 

उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनि’ र क्षमता अनुसार अवसर पनि प्रदान पनि गरिने छ।

अवलोनकका लागि कुनै पनि शुल्क नराखिएको र आफूले चाहेको सामान खरिद गर्न सकिने व्यवस्था पनि मेलामा गरिएको छ।

प्रकाशित: १६ चैत्र २०८० १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App