३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

उद्यममा मग्न खोकनाका आमाहरू

ललितपुर महानगरपालिकाको खोकनास्थित गाबु टोलका आमाहरू निकै पौरखी छन्। यहाँका ४० वर्ष उमेरभन्दा माथिका आमाहरू घरधन्दापछि आयआर्जनसँग सम्बन्धित उद्यमशीलतामा सक्रिय छन्।

यसैकारण उनीहरू आत्मनिर्भर छन्, दुईचार सय खर्च गर्ने अवस्था आए अरूसँग हात फैलाउनु पर्दैन। चर्खाबाट ऊनको धागो काटेर, धूप बत्ती बनाएर, सुकुल बुनेर दैनिक खर्च जुटाउन पाउँदा सन्तोष लागेको उनीहरू बताउँछन् ।

माघमा घाम ताप्दै र सँगिनीहरूसँग गफिँदै आमाहरूले परम्परागत चर्खा घुमाएर ऊन काटिरहेको दृश्य निकै रमाइलो देखिन्छ। यही दृश्य देखेरै बटुवाहरू पनि उनीहरूसँग कुरा गर्न र फोटो खिचाउन उत्साहित हुन्छन्। औपचारिक शिक्षासँग कुनै साइनो नभएका यी आमाहरूमध्ये कोही चर्खामा ऊन काट्न र कोही धूप बत्ती बनाउन व्यस्त देखिन्छन्। अनि कोही सुकुल बुन्न मग्न देखिन्छन्।

औपचारिक शिक्षा हासिल नगरे पनि समयको महŒव भने उनीहरूले राम्ररी बुझेका छन्। ‘यताउताका कुरा काट्नुभन्दा हातखुट्टा चलाएर काम गर्नु स्वास्थ्यका लागि राम्रो हो,’ ६८ वर्षीया मैयाँ महर्जनले भनिन्, ‘मैले आफैं कमाएर आफ्नो औषधि उपचारलगायत अन्य खर्च जुटाउँदै आएकी छु।’ परम्परागत चर्खामा ऊनको धागो काट्दै गरेकी उनले भनिन्, ‘हातखुट्टा चलुन्जेल काम गरेरै खानुपर्छ। परिवारमाथि कहिल्यै बोझ बन्नुहँुदैन।’

दैनिक एकदेखि दुई किलोसम्म ऊन काट्ने गरेको उनले बताइन्। उनले काटेको धागो लिन सातामा दुई पटक गलैंचा कारखानावाला घरमा पुग्छन्। प्रतिकिलो तीन सय रूपैयाँका दरले ऊन काट्ने गरेको उनले सुनाइन्। उनीसँगै उनका बहिनी नन्दमाया र ज्ञानीले पनि ऊन काट्न थालेको वर्षौं भइसकेको छ।

‘पहिले सासूआमाले ऊन काट्ने काम गर्नुहुन्थ्यो,’ मैयाँले शनिबार भनिन्, ‘मैले पनि ऊनको धागो काट्न थालेको ४० वर्ष भयो। आफ्नो खर्च आफैं जुटाउँछु। खर्चका लागि परिवारका अरू सदस्यसँग पैसा माग्नुपर्दैन।’ उनले हाँस्दै थपिन, ‘घरको धन्दा सकेर बाँकी रहेको समयमा ऊन काट्छु। बसेर समय खेर फाल्नुभन्दा काम गरेर खानुपर्छ।’

मैयाँका छोरा ३९ वर्षीय देवरत्नका अनुसार गाबु टोलका ४० वर्ष उमेर काटेका महिलाले फुर्सदका बेला केही न केही उद्यम गरेर आफ्नो खर्च जुटाउँछन्। उनीहरूले ऊन काटेर, धूप बत्ती बनाएर, सुकुल बुनेर दैनिक तीन सयदेखि चार सय रूपैयाँसम्म कमाइ गर्छन्।

धुलोबाट जोगिन उनीहरूले मास्क लगाउने गरेका छन्। ‘आमालाई काम नगर भन्दा मान्नु हुन्न। उहाँलाई काम नगर्दा नरमाइलो लाग्छ,’ देवरत्नले भने, ‘गलैंचा कारखानावालाले आमाहरूले काटेको ऊन लैजान्छन्। यो ऊनबाट गलैंचा बुनेर विदेशमा पठाउँछन्।’

प्रकाशित: २८ माघ २०८० ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App