स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो।
उद्योग वाणिज्य संघले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पिताम्बर भुसालले बताए।
स्थानीय उत्पादनको प्रचारप्रसार, प्रोत्साहन, प्रवर्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलब्ध गराएको हो। ‘महोत्सवमा हस्तकला, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धाका लागि राखिएको छ’, उनले भने, ‘हस्तकला तथा कृषिजन्य उत्पादनको प्रदर्शनीले मेलामा आउने दर्शकको ध्यान तानेको छ।’
गाउँपालिकाले खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ।
गाउँपालिकाका तर्फबाट कक्षमा रहेकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले चासोका साथ सामग्री अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताए।
गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताए।
गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’ मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो।
‘तालिममा सहभागी भएकाहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई प्रचार–प्रसारका लागि महोत्सवस्थलमा राखेका हौँ’, उनले भने, ‘तालिमपश्चात् सिकेको सीपलाई व्यावसायिक रूपमा उत्पादन गरेका व्यक्ति तथा गाउँपालिका आफैंले उत्पादन गरेका सामग्री ‘स्टल’ मा राखेका छौँ।’ केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठजनालाई गाउँपालिकाले रोजगारी दिएको छ।
अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उनले बताए। ‘हाम्रा बारीका कान्लामा खेर गइरहेका केराका थाम प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँदो रहेछ भन्ने देखाउन पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ’, पौडेलले भने, ‘यहाँ उत्पादन भएका हस्तकलाका सामग्री बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने छ।’
गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ। गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उनले बताए। –रासस
प्रकाशित: २४ माघ २०८० १३:२३ बुधबार