१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

काठमाडौं–  आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

एसिया प्यासिफिक रिजनल इन्टरनेट कन्फेरेन्स अन अपरेसनल टेक्नोलोजी (एप्रिकोट) एसिया प्यासिफिक क्षेत्रका देशका इन्टरनेट विज्ञहरू सम्मिलित सन् १९९६ देखि सुरू भएको एक सम्मेलन हो । चार दिनसम्म चल्ने सम्मेलनको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरे ।
नेपालमा पहिलोपटक आयोजित यो सम्मेलन मुलुककै इन्टरनेट विज्ञहरू सम्मिलित सबैभन्दा ठूलो भेला भएको सम्मेलनको संयोजन गरेको इन्टरनेट एक्सजेन्च नेपाल (एनपिआइएक्स) का अध्यक्ष गौरभराज उपाध्यायले बताए । ‘यो इन्टरनेटसँग सम्बन्धित विज्ञ तथा सम्बन्धित सबैका लागि महŒवपूर्ण सम्मेलन हो,’ उपाध्यायले नागरिकसँग भने, ‘यो अति कम विकसिम मुलुकमा भएको पहिलो विश्वस्तरको सम्मेलन हो।’

उनकाअनुसार सम्मेलनमा विश्वका ६५ देशबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट झन्डै तीन सय जनाको सहभागिता रहेको छ भने अन्य सार्क मुलुकबाट दुई सय जना सहभागी भएको उपाध्यायले बताए । त्यसैगरी, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, चीन, सिंगापुर, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, उरूग्वे, दक्षिण अमेरिकालगायत देशका प्रतिनिधिको समेत सम्मेलनमा सहभागी रहेको छ।

उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले काठमाडौंमा भएको यस सम्मेलनबाट नेपालको लागि फाइदा भएको भन्दै १५ लाख जनसंख्या भएको काठमाडौं महानगरपालिकाले ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने योजना रहेको बताए । उनले काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजना रहेको समेत बताए ।
उद्घाटन कार्यक्रममा भिप्टेलाका सहसंस्थापक अमिर खान प्रमुख वक्ताका रूपमा रहेका थिए । उनले विश्वमा इन्टरनेट विकास र यसको भविष्यको बारेमा आफ्नो अनुभव बताएका थिए । नेसनल इनोभेसन सेन्टर नेपालका संस्थापक महाविर पुनले नेपालको ग्रामीण क्षेत्रमा आफूले गरेको इन्टरनेट विस्तारबारे जानकारी दिए।  

  चार दिनसम्म चल्ने सम्मेलनमा विश्वका इन्टरनेट विज्ञबाट अनुभव आदानप्रदान गर्ने, इन्टरनेटको विकास, यसको सुरक्षा र प्रयोगको बारेमा छलफल हुनेछ । सम्मेलनको पहिलो भागको रूपमा पाँच दिने इन्टरनेटसम्बन्धी तालिम सम्पन्न भइसकेको छ । पाँच दिनसम्म भएको तालिममा झन्डै एक सय ९० जना इन्टरनेट टेक्निसियनको सहभागिता रहेको थियो।

नेपालमा पहिलोपटक भएको इन्टरनेटसम्बन्धित सबैभन्दा ठूलो सम्मेलनबाट नेपालको प्रविधि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन् । विश्वका झन्डै ६५ देशबाट प्राविधिक विज्ञ काठमाडौं आउँदा नेपालमा यस क्षेत्रमा गरेको प्रगतिको बारेमा बुझाउन सजिलो भएको उपाध्यायले बताए । ‘विदेशीले नेपालमा पनि इन्टरनेटको विकास भएको देख्न पाएका छन्,’ उपाध्यायले भने, ‘अहिलेसम्म नेपालमा यसको विकास भएको छ भन्ने बुझाउन सकिएको थिएन।’

यस सम्मेलनबाट इन्टरनेट टेक्निसियन तथा यससँग सम्बन्धित व्यवसायी र विद्यार्थीलाई सबैभन्दा धेरै फाइदा पुगेको छ । यस स्तरको तालिम तथा अनुभव लिनका लागि विदेशमा गएर महंगो शुल्क तिर्नुपर्ने बाध्यता नेपाली इन्टरनेट टेक्निसियनलाई थियो । ‘सस्तो र सहजरूपमा नेपाली इन्टरनेट टेक्निसियनले तालिम तथा अनुभव लिन पाएका छन्,’ उपाध्यायले भने।  

एकैपटक विश्वका विज्ञहरुको सहभागिताले नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक सन्देश जाने आयोजकको विश्वास छ । विश्वका एक हजार विज्ञको सहभागिताले सकारात्मक सन्देश दिएको छ । सम्मेलनका क्रममा विभिन्न संस्थाका बैठक पनि सम्पन्न भएका छन् ।  विश्वका देशबाट ठूलो संख्यामा भएको यस सहभागिताबाट आयोजक उत्साहित भएको उपाध्यायको भनाइ छ । एनपिआइएक्ससँग एसिया प्यासिफिक इन्टरनेट एसोसियसन (एपिआइए) र एसिया प्यासिफिक नेटवर्क इन्फरमेसन सेन्टर (एपिएनआइसी)ले स्थानीयस्तरमा संयोजन गरेका छन्।

इन्टरनेट विकास भएको सुरूवाती दिनमा अमेरिकामा सम्बन्धित व्यक्तिले भेटघाट गरेर यसको बारेमा छलफल गर्ने गर्थे । अनौपचारिकरूपमा भएका यस्ता भेटघाट विस्तार हुँदै पछि इन्टरनेट नेटवर्क सञ्जालको रूपमा विकास भएको थियो । अपरेटरहरूबाट भएका यस्ता अनौपचारिक छलफल अमेरिका, युरोप, अफ्रिका हुँदै एसिया क्षेत्रमा विस्तार भएको थियो । यही क्रममा एप्रिकोट सुरूवात भएको उपाध्यायले बताए ।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App