नेपालको गाउँघरमा बसोबास गर्ने जनसंख्या पछिल्लो १० वर्षमा घट्दै गइरहेको छ। सहरी क्षेत्रमा भने थपिँदै गइरहेको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा सहरी क्षेत्रको ‘श्रेणीगत वर्गीकरण’ को तथ्यांकले पनि गाउँको जनसंख्या घट्दै र सहरी क्षेत्रमा जनसंख्या बढ्दै गइरहेको देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले १० वर्षमा ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको जनसंख्या ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको बताए। ‘पछिल्लो १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ,’ रेग्मीले भने, ‘ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरीक्षेत्रमा हुने बसाइँसराइले जनसंख्यालाई सहरीक्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिन्छ ।’
तथ्यांक कार्यालयका अनुसार विगत १० वर्षमा सहरीक्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरीक्षेत्रमा वर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरीजनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।
प्रतिवेदनअनुसार सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशतमा पुगेको छ। ‘विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरीक्षेत्रमा हुने बसाइँसराइले त्यहाँका जनसंख्यालाई सहरीक्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ।’
तथ्यांक कार्यालयका अनुसार भौगोलिक क्षेत्रका आधारमा ग्रामीण र सहरीक्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत रहेको देखाएको थियो।
सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत र पोखरा र काठमाडौं महानगरपालिकाको उपत्यका कारण असन्तुलित हुँदै सहरीजनसंख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशतमा केन्द्रित भएको देखिएको छ।
कार्यालयका अनुसार स्थानीय तह अनुसार ग्रामीण तथा सहरीक्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूको दुई हजार ४१२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा रहेको देखिन्छ, जबकि अधिकतर सहरोन्मुख ६६४ वडाहरूको क्षेत्रमा ३६.१ प्रतिशत र सहर नौ हजार १३९ वडाहरूमा ५.९ प्रतिशत जनसंख्या रहेको देखाएको छ।
नगरपालिकाहरूको २८.४ प्रतिशत जनसंख्या सहरीक्षेत्रमा ५९१ वडाहरूमा, बहुसंख्या करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा एक हजार २८५ वडाहरू रहेका छन्। अझै पनि २५.४ प्रतिशत (१२४४ वडाहरू) ग्रामीण क्षेत्रमा रहेको देखिन्छ।
उपमहानगरपालिकाहरूमा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा बसोबास गर्ने गरेको देखिएको छ । ५३ प्रतिशत सहरीवर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ।
महानगरपालिकाहरूमा १७ प्रतिशत सहरोन्मुख क्षेत्र, २.३ प्रतिशत ग्रामीण विशेषतायुक्त क्षेत्र र ८०.७ प्रतिशत सहरीक्षेत्र छ । तुलना गर्दा के देखिन्छ भने नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख छन्।
प्रकाशित: १८ पुस २०८० ०१:३५ बुधबार