१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

साफा ‘बेस्ट प्रिजेन्टेड अवार्ड’बाट सम्मानित

काठमाडौं – दक्षिण एसियाली लेखा व्यवसायी महासंघले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई विभिन्न पदकद्वारा सम्मान गरेको छ ।

काठमाडौंमा जारी साफा सम्मेलन २०१८ अन्तर्गत बुधबार महालेखापरीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले एक दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीलाई सम्मानित गरे ।साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६ विभिन्न १२ वटा क्षेत्रका  कम्पनीलाई प्रदान गरिएको छ । जसअन्तर्गत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–बंगलादेश, सूचना प्रविधिमा माइन्डट्री लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एन्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आइडिएलसी फाइनान्स लिमिडेड–बंगलादेश, बिमा विधामा प्राइम इन्स्योरेन्स बंगलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बंगलादेशले पदक जितेको छ ।

त्यस्तै गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, सार्वजनिक बैंक विधामा जनता बैंक–बंगलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड–बंगलादेश, सेवा विधामा नुवारा इलिया होटल–श्रीलंका, इन्टिग्रेटेड रिपोर्टिङ विधामा आइडिएलसी फाइनान्स लिमिटेड बंगलादेशले पदक जितेका छन् । त्यस्तै सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स भने इस्लामी बैक बंगलादेश लिमिटेडले जितेको छ ।
सबै विधामा फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपसमेत घोषणा गरी पदक प्रदान गरिएको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।

साफा दक्षिण एसियाली लेखा व्यवसायी संस्थाहरुको साझा संगठन हो । यसलाई दक्षिण एसियली क्षेत्रीय सहयोग संगठन (सार्क)ले अभिन्न अंगका रुपमा समेत मान्यता दिएको छ । हाल साफामा नेपाल लगायत अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखा व्यवसायी संस्थाहरु सदस्य रहेका छन्, जसमा करिब तीन लाख ७५ हजार लेखा व्यवसायीको संलग्नता रहेको छ ।

नेपालका तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष सिए. सुबोधकुमार कर्ण सन् २०१८ का लागि साफाको अध्यक्ष पदमा मनोनित भएका छन् । नेपालले महत्वपूर्ण जिम्मेवारी सम्हालेको दोस्रोपटक हो । यसअघि संस्थाका पूर्वअध्यक्ष सिए कोमलबहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । साफा सदस्य संस्थाको रुपमा आइक्यानले सम्मेलन आयोजना गरेको हो । बुधबार नै आइक्यानले आफ्नो २१औं वार्षिकोत्सव समेत मनाएको छ ।
 

प्रकाशित: १८ माघ २०७४ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App