२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कार्यकारी प्रमुखको राजीनामा माग्दै कर्मचारी आन्दोलनमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन्। एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले कार्यकारी प्रमुख अधिकारीलाई प्रवेश निषेध गरेका छन्।

यसैक्रममा निगमका आन्दोलनरत कर्मचारीले कार्यलयको गेटमै तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहकलाई डुबाउन खोज्ने कार्यकारी प्रमुखलाई निगममा प्रवेश निषेध गरेको ब्यानर टागेका छन्। 

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउनेलगायतका काम गरेको आरोप उनीमाथि छ।  

केही दिन पहिले मात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो। यससँगै वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकेको ट्विनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन्।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको नौ कारण राखेर आफूहरूले आन्दोलन थालेको आन्दोलनकर्ताले जनाएका छन्।

प्रकाशित: १८ मंसिर २०८० ०१:०६ सोमबार

नेवानिका प्रमुख युवराज अधिकारीको बर्खास्ती कर्मचारी आन्दोलन