१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुुवामा सुविधासम्पन्न सभाहल निर्माण गरिने

कालिका गाउँपालिकामा बन्न लागेको बहुउद्देश्यीय एकीकृत सभाहलको अन्तिम डिजाइन

रसुवा – रसुवामा दुईवटा सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । जिल्लाको कालिका गाउँपालिकामा बहुउद्देश्यीय एकीकृत सभाहल र सदरमुकाम धुन्चेमा धुन्चे सभाहल निर्माण गर्न लागिएको हो ।
भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रममार्फत जिल्लाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रका लागि एउटा–एउटा सभाहल निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ ।

जिल्लामा सभाहल नहुँदा औपचारिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको अवस्थामा दुई स्थानमा सभाहल निर्माण भएपछि सहज हुने विश्वास गरिएको छ । सदरमुकाममा निर्माण हुने सभाहल सभाहलमा मात्र सीमित हुने भएपनि कालिकास्थानमा निर्माण हुने सभाहल भने गाउँपालिकाको कार्यालय समेत रहने छ ।

एकीकृत सभाहलमा दुई सयवटा सिट रहने छ । सभाहलसँगै गाउँपालिका कार्यालय र गाउँपालिका भित्र रहने शाखा पनि त्यहीँ रहने निमित्त डिभिजन प्रमुख धिर फडेराले बताए । ‘तीनवटा गाउँपालिकाका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि उक्त हल प्रयोग गरिने छ,’ उनले भने, ‘त्यहाँ आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्था हुन्छ ।’

सो सभाहल निर्माणका लागि केही दिनमै सम्झौता हुने उनले बताए । हलको डिजाइन, स्टिमेट, ठेक्का प्रक्रिया सकाएर किरातेश्वर÷एलआइके जेभी काठमाडौंले ठेक्का पाइसकेको छ । हल तथा कार्यालय निर्माणका लागि भ्याटबाहेक ६ करोड २६ लाख रुपैयाँ लाग्ने बताइएको छ । सम्झौता भएपछि करिब २० महिनामा हल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै सदरमुकाम धुन्चेमा निर्माण गर्न लागिएको सभाहलको डिजाइनको कार्य अहिले भइरहेको छ । यही माघ मसान्तभित्र डिजाइनको काम सकाएर ठेक्का प्रक्रिया सुरु गरिने निमित्त डिभिजन प्रमुख फडेराले बताए ।

उनका अनुसार धुन्चेमा बन्ने सभाहल तीन सय ५० जना अट्ने क्षमताको हुने छ । सभाहल निर्माणपछि जिल्लास्तरीय तथा ठूला औपचारिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लामा यसअघि जिल्ला विकास समितिको सभाहल भएपनि भूकम्पले पूर्ण रुपमा क्षति गरेपछि जिल्ला ‘सभाहल’ बिहीन बन्न पुगेको थियो ।

 

 

प्रकाशित: २६ पुस २०७४ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App