८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लघुजलविद्युत् आयोजना सञ्चालन

क्यान्जिनमा निर्माण भएको छेहाखोला लघुजलविद्युत् आयोजनाको भवन तथा प्रसारण लाइन ।

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १३ किलोवाटको लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङस्थित क्यान्जिनमा एक सय १३ किलोवाट क्षमताको छुहाखोला लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको हो ।

राष्ट्रिय प्रसारण लाइन नपुगेको उक्त क्षेत्रका एक सय १२ घरधुरीमध्ये ९२ घरधुरीले विद्युत् सेवा उपभोग गर्न पाएका छन् । सय किलोवाट क्षमताको आयोजना भएपनि एक सय १३ किलोवाट विद्युत् उत्पादन भएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुब्बा लामाले बताए ।

‘गाउँमा रहेको पुरानो लघुजलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण क्षति भयो,’ उनले भने, ‘अहिले हामीले नयाँ आयोजना निर्माण गरेका हौँ ।’ लाङटाङखोला लघुजलविद्युत् आयोजना भूकम्पले क्षति गरेपछि त्यहाँ सोलारको प्रयोग बढेको थियो ।

अत्याधिक चिसो क्षेत्र भएकाले त्यहाँ सोलारले काम नगर्दा स्थानीयलाई समस्या पर्ने गरेको थियो । विद्युत् सेवा नपुगेको पर्यटकीय क्षेत्र लाङटाङमा पुग्ने पर्यटक समस्यामा पर्ने गरेका थिए । ‘वर्षायाममा घाम नलाग्दा सोलारको प्रयोग प्रभावकारी हुन सकेको थिएन, अबको दिनमा पर्यटक तथा स्थानीयबासीलाई सहज हुने देखेका छौं,’ लामाले भने ।  
करिब साढे नौ करोडको लागतमा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । कादुरी नामक संस्थाको नौ करोड, गोसाइँकुण्ड गाउँपालिकाको २० लाख र लाङटाङबासीको ४३ लाख रुपैयाँ खर्च गरेर विद्युत् उत्पादन गरिएको हो ।

त्यहाँ उत्पादन भएको विद्युत्को प्रति युनिट १२ रुपयाँ तिर्नुपर्ने बताइएको छ । विद्युत् प्रयोगकर्ताले मासिक न्युनतम ५ सय रुपयाँ छुट्टै बुझाउनुपर्ने लामाले बताए । उनले भने, ‘विद्युत् प्रयोग गर्ने घरलाई मासिक शुल्क न्युनतम ५ सय लिने गरी सहमति भएको छ, त्यो बाहेक कति युनिट प्रयोग हुन्छ त्यसको पनि छुट्टै शुल्क तिर्नुपर्छ ।’

आयोजनामा दुईजना कर्मचारी राखिएको छ । आयोजनामा सानोतिनो समस्या आएमा स्थानीयले मर्मत गर्ने र ठूलो समस्या आएमा कादुरी नामक संस्थाले मर्मतसम्भार गर्ने सहमति भएको छ । आयोजनाबाट उत्पादित विद्युत्बाट मासिक ६० हजार रुपैयाँसम्म बचत हुने गरेको आयोजनाले जनाएको छ ।
आयोजना सञ्चालनमा आएसँगै पानी तताउने मेसिन तथा हिटरको प्रयोग बढेको स्थानीयको भनाइ छ ।

 


 

प्रकाशित: २३ पुस २०७४ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App