अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। चालु आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा २४ अर्ब ३९ करोड रूपैयाँले कमी आएको छ। त्यस्तै आयात करिब २० अर्ब रूपैयाँले घटेको छ। कतिपयले यसलाई मन्दीको संकेत पनि भनेका छन्।
विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय भएको आर्थिक क्षेत्रका जानकारले बताएका छन्।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन-कात्तिक) को तथ्यांकअनुसार वैदेशिक व्यापारमा ४.१५ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा पनि वैदेशिक व्यापार घटेको थियो। चालु आवको पहिलो चार महिनामा आयातमा ३.७९ प्रतिशत र निर्यातमा ७.६८ प्रतिशतले कमी आएको छ।
आयात घट्नु उपभोग घट्नु हो। उपभोग घट्नु चिन्ताको विषय हो। विकास निर्माणका वस्तु आयातमा कमी आएको हो भने पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा थप असर पर्छ। – अच्युत वाग्ले, अर्थशास्त्री
नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले आयात घट्नु भनेको उपभोग घट्नु हो। उपभोग घट्नु चिन्ताको विषय भएको अर्थशास्त्री डा. अच्युत वाग्लेले बताए।
‘आयात घट्दा आर्थिक वृद्धिमा असर गर्छ,’ उनले भने, ‘यसले राम्रो संकेत गर्दैन।’ विकास निर्माणसँग सम्बन्धित वस्तुको आयातमा कमी आएको हो भने पनि त्यसले पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा असर पर्ने वाग्लेले बताए।
गत आवको पहिलो चार महिनामा ५ खर्ब ८७ अर्ब ४६ करोड रूपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड रूपैयाँको व्यापार भएको छ।
आयात र निर्यात दुवैको हिस्सा घटेको छ। पोहोर साउनदेखि कात्तिकसम्म चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोडको वस्तु आयात भएको छ।
दसैं, तिहार, छठलगायत पर्वको अवसरमा वस्तुको खपत बढेर आयात बढ्नुपर्नेमा खपत नै कम भएकाले आयात घटेको हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारमा व्यापक गिरावट आएको थियो। गत आवको पहिलो चार महिनामा वैदेशिक व्यापारमा करिब २० प्रतिशतले कमी आएको थियो।
त्यस्तै आयातमा १८ प्रतिशतले कमी आएको थियो भने निर्यात ३३ प्रतिशतले घटेको थियो। गत वर्ष घटेकाले यो वर्ष सुधार हुने अपेक्षा गरिए पनि संकुचन देखिएको छ।
व्यापार घाटा कम हुनु राम्रो मानिए पनि उपभोक्ताको उपभोग क्षमतामा ह्रास आएका कारण आयात घटेको हो। स्वदेशमा उत्पादन बढेर आयात घटेको भने होइन। अर्थतन्त्रको आकार बढेसँगै निर्यात बढ्नुपर्नेमा त्यो पनि घटेको छ। यो अवधिमा जम्मा ५० अर्ब ५६ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत आवको सोही अवधिमा ५४ अर्ब ७७ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो।
आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए। ‘अर्थतन्त्र सुस्त देखिएको संकेत हो यो,’ शर्माले भने, ‘बिस्तारै बढेर सुधार होला भन्ने अपेक्षा छ।’ आयात घट्दा राजस्वमा असर पर्ने उनले बताए। ‘अन्य सूचकमा सुधार भएकाले बिस्तारै आयात बढ्छ भन्ने अपेक्षा हो,’ उनले भने, ‘अर्थतन्त्र दबाबमुक्त भने छैन।’
आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। यो अर्थतन्त्र सुस्ताएको संकेत हो। अर्थतन्त्रमा विस्तारै सुधार होला भन्ने अपेक्षा छ। आयात घट्दा राजस्वमा पनि असर गर्छ।
–धनीराम शर्मा, प्रवक्ता, अर्थ मन्त्रालय
अर्थतन्त्रमा समस्या रहेको भन्दै सुधारका प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अग्रसरता लिएका छन्।
प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधिसँग दुई दिनअघि छलफल गरेका थिए। दाहालले अर्थतन्त्रमा सुधारका लागि ११ बुँदे घोषणासमेत गरेका छन्। जसमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्नेलाई सहजीकरण गर्नेदेखि ब्याजदर घटाउनेसम्मका योजना छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि अर्थतन्त्र सुधारका लागि प्रयत्न भइरहेको बताउँदै आएका छन्।
प्रकाशित: ८ मंसिर २०८० ००:३९ शुक्रबार