१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँचदिने महोत्सवमा महिनाको आम्दानी

गोपी भट्टराई रेबान, पूर्वअध्यक्ष

पोखरामा बर्सेनि हुने सडक महोत्सवले आर्थिक रुपमा पोखरालाई माथि उठाएको छ । फरक–फरक व्यावसायलाई फरक तरिकाले उकासेको छ । केही वर्षअघिसम्म होटल र रेस्टुरेन्टले मात्र महोत्सवबाट फाइदा लिन्छन् भन्ने आम जनतामा भ्रम परेको थियो । तर, पछिल्लो समय यहाँको पूरै व्यवसायले यसबाट नाफा लिन सकेको व्यवसायीले बुझेका छन् । यसले पर्यटन क्षेत्रको आर्थिक रुपमा उचाइ बढाइदिएको छ । यो नै महोत्सवको सबैभन्दा बढी सफलताको बाटो हो । यद्यपि रेस्टुरेन्टले मात्र महोत्सव गरेको भनेको भए यो उत्तिसारो सफल हुने थिएन । यसमा सबैको सहयोगको जरुरी पनि छ ।

पोखरामा हुने महोत्सवले आर्थिक रुपमा सबैलाई सकारात्मक प्रभाव पारेको छ । यसले व्यावसायीबीच एकता पनि कायम गरेको छ । छरिएर रहेका हाम्रा विभिन्न जनजातिलाई एकैठाउँमा उभ्याउँदा हामी संस्कारमा पनि धनी छौं भन्ने कुरा देखाएको छ । हाम्रो सांस्कृतिक एकतालाई विदेशीले मन पराएका छन् । नेपालको विविध संस्कृति विदेशीले एकैठाउँमा देख्न पाएका छन् । त्यसले गर्दा विदेशी निकै नै खुसी भएका छन् । यसले पर्यटनमा सकारात्मक प्रभाव पारेको छ । यसको अर्काे सकारात्मक कुरा के हो भने यसले व्यापारमा स्वस्थ प्रतिश्पर्धा गर्न सक्नुपर्छ भन्ने पनि सिकाएको छ ।

यो महोत्सव अवधिमात्र नभई बाँकी वर्ष दिन नै कसरी व्यवसाय गर्नुपर्छ भन्ने समेत यसले सिकाएको छ । आफ्नो व्यवसायलाई कसरी व्यावसायिकता दिनुपर्छ भन्ने पनि यसले पाठ सिकाएको छ । पाँच दिनको प्रवद्र्धनले वर्षभरि व्यापार गर्ने तरिका सिकाएको छ । व्यवसायीलाई अरु व्यावसायिक हुन सिकाएको छ । महोत्सवले पोखरालाई मात्र नभई नेपाल नै चिनाउन सकेको खण्डमा मुलुकले नै फाइदा पाउन सक्छ । पोखराको यो महोत्सवको सिको अन्यत्रका सहर र गाउँगाउँमा पनि हुन थालेको छ ।

पोखराको सडकमा हुने महोत्सवले केही अप्ठेरो पनि पारेको छ । सार्वजनिक ठाउँमा ५ दिनसम्म महोत्सव गर्दा अप्ठेरो भएको छ । तर, पनि यसप्रति सम्पूर्ण लेकसाइडबासी र पोखरेलीले सहयोग गरिरहेका छन् । अप्ठेरोलाई सहेर पनि सर्वसाधारणको सहयोग छ । यसले पोखराभित्रका व्यवसायीलाई प्रत्यक्ष रुपमा सहयोग त गरेको छ नै आसपासका जिल्ला, होमस्टे, गाउँको प्रवद्र्धन गर्न पनि सिकाएको छ । यसपटक यो महोत्सवमा ७ वटा जिल्लाको सुन्तला बजारीकरण गर्न किसानलाई अवसर दिएका छौं । गाउँमा उत्पादित वस्तुको बजारीकरण गर्न पनि यसले सघाएको छ । त्यस्तै महोत्सवमा सहभागी गराएर व्यवस्थापन विषयमा अध्ययन गरेका विद्यार्थीलाई सिक्ने अवसर पनि दिलाएको छ । केही मात्रामा खाडी मुलुक जान रोक्न पनि सफल भएका छौं । पर्यटनमा राम्रो गर्ने हो भने आगामी दिनमा खाडी मुलुक जानबाट रोक्न सक्नेछौं । व्यापार गर्ने तरिका सिक्न पाउँदा विद्यार्थी खुसी भएका छन् ।

हामीले अहिले दिइरहेको सुविधा, होटल, रेस्टुरेन्ट अब पुरानो तरिकाले चल्दैन भन्ने देखिएको छ । गुणस्तरीय पाहुना भित्र्याउन सकेनौं भने हामी आर्थिक रुपमा सबल हुन सक्दैनौं । हामीले अहिले सस्ता पाहुना भित्र्याएका छौं । आगामी दिनमा बढी खर्च गर्न सक्ने पाहुना भित्र्याउन जरुरी छ । अहिलेको संस्करणसम्म आइसक्दा न्यू इयर र क्रिसमसमा पोखरामा विदेशी पाहुना भित्र्याउन जरुरी छ । अहिलेसम्म हामी स्वदेशी पाहुना भिœयाउन सफल भएका छौं । तर, अब विदेशी भित्र्याउन ठूला आकारका आकर्षक कार्यक्रम गर्न जरुरी छ । विदेशी पाहुना आकर्षित गर्ने खालका कार्यक्रम दिन सकेका छैनौं ।

ठूला विदेशी सांगीतिक ब्यान्ड ल्याउन सक्ने हो भने हामी अझै सफल हुन्छौं । स्वदेशमा हामी सफल भइसकेका छौं, तर, विदेशमा हुन सकेका छैनौं । आन्तरिक पाहुनाको आगमन बढाउन सकेका छौं । यही महोत्सव भनेर विदेशीको आगमन उत्तिसारो बढेको छैन । आगामी दिनमा आन्तरिक पाहुना मात्र दोहो¥याएर मात्र पुग्दैन । विदेशी पाहुना भित्र्याउन सरकार र पर्यटन बोर्डले सिधै विदेशी पाहुना आउने खालका कार्यक्रम गरिदिनुपर्छ । ठूला सांगीतिक कार्यक्रम आयोजना गर्नुपर्छ । सरकारले महोत्सवले वार्षिक क्यालेन्डरमा राखिदिने हो भने अझै सफलता हुन्छ । 

विदेशी आम्दानी भित्र्याउनका लागि विदेशी पाहुना नै जरुरी हुन्छ । नेपालीको दसैं, तिहार जस्तै विदेशीको क्रिसमस मुख्य चाड हो । तर, यो अवसरलाई हामीले पोखरामा क्रिसमस मनाउने वातावरण बनाइदिनुपर्छ । अहिले लेकसाइडलाई आर्थिक रुपमा पनि सक्षम भएका छौं । पाँच दिनबाहेक अरु दिन पनि पोखराको व्यापार एकैनासले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले महोत्सव अवधिमा पाँच दिनको आम्दानीले एक महिनाको ब्यापार थेग्ने गरेको छ । धेरै व्यावसायीले एक महिनाको खर्च यो महोत्सवबाट कमाउन सकेका छन् । 

                                                                                                     (सन्तोष पोखरेलसँग कुराकानीमा आधारित)

 

प्रकाशित: १३ पुस २०७४ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App